पैसा नै सबै थोक रहेछ!

रिबीले मानिसलाई धेरै पटक धोका दिन्छ। यसको चपेटामा परेको व्यक्तिलाई लाग्न सक्छ कि आफूसँग सोचे जति सम्पत्ति भैदिएको भए जीवनका सारा समस्याहरू सजिलै समाधान हुनेथिए।  बाइबलले पनि कता कता यस्तै विचारलाई समर्थन गरेको जस्तो लाग्छ। राजा सोलोमन भन्छन्; “पैसाले नै हर कुरा सुल्झाउँछ” (उपदेशक १०.१९), अर्थात, सबै कुराको उत्तर पैसामा नै छ।  “धनले धेरै मित्र बनाउँछ, तर गरीब मानिसको मित्रले उसलाई त्याग्छ”, “गरीब मानिस आफ्ना सबै आफन्तहरूबाट त्यागिन्छ” (हितोपदेश १९.४, ७)।

सोलोमनका यी भनाइहरू मानव अनुभवका वस्तविकतामा आधारित छन्। यी कुराहरूलाई प्रमाणित गर्न हामीले अन्त कतै हेर्नु पर्दैन; हाम्रो आफ्नै जीवनमा, हाम्रै मित्रहरू र परिवारमा दैनिक घटिरहेका घटनाहरूलाई सोलोमनले व्यक्त गरेका हुन्। उपदेशकको पुस्तकभरि नै सोलोमन भन्छन् “आकाशमुनि सबै कुरा व्यर्थै छन्” र निष्कर्षमा स्वीकार गर्छन् कि “परमेश्वरको भय र आज्ञापालन” आकाशभन्दा माथिका कुराहरू हुन्।  त्यसकारण यिनै कुराहरूमा लाग्नु मानिसको निम्ति लाभदायक हुनेछ कारण एक दिन परमेश्वरको सामु आकाशमुनि गरेका सबै कामको लेखा मानिसले दिनुपर्नेछ। मित्र कमाएका वा गुमाएका, परिवारले स्वीकारेका वा इन्कारेका, सबै थोकको उत्तर पाए पनि नपाए पनि, ती सबै कुरा क्षणिक र आकाशमुनि नै रहने कुराहरू हुन्। तर ती कुराहरूसँग संसारमा रहुन्जेलसम्म हाम्रो सम्बन्ध जस्तो थियो, त्यसको लेखा आकाशमाथि परमेश्वरको सामु हामीले एकदिन दिनै पर्नेछ। सोलोमनले उपदेशकको पुस्तकको अन्तमा दिएको निष्कर्ष गरीब र धनी दुवैका लागि महत्त्वपूर्ण छ।

मानिसलाई आकाशमुनिका कुराहरू नै बढी मन पर्छ। पैसा नै सबै कुराको उत्तर हो भनी विश्वास गर्छन र त्यसकै पछि लाग्छन्।  १९औं शताब्दीका जर्मन नास्तिक दर्शनशास्त्री अर्थर शपनहाउर (Arthur Schopenhauer) ले मानिसको भौतिकवादप्रतिको आकर्षणलाई “स्वयम् धोका” भनेर व्याख्या गर्न खोजेका थिए।  उनको व्याख्याअनुसार, मानिसले जीवनमा खुसी पाउन तीन चरणमा प्रयास गर्छ; १) आफूसँग जे छ, २) आफूलाई जे दिइएको छ, र ३) आफू जे हो।

पहिलो तहमा मानिसले आफूसँग भएका कुराहरूमा खुसी हुन खोज्दा, ऊसँग भएका कुराहरू कहिल्यै पर्याप्त हुँदैनन्। भौतिक कुराप्रति मानिसको आकर्षणले (लोभले) कहिल्यै पनि “पुग्यो” भन्दैन। बरु “अलिकति अझै, अलिकति अझै” भन्दाभन्दै उसको जीवन बितिसकेको हुन्छ र पनि उसलाई पुग्दैन। उदाहरणको लागि, आकाशमाथिको आशा राख्‍ने नेपाली जगत्का ख्रीष्टियान नेताहरूको जीवन–शैलीलाई नै हेरौं।  विषेश गरी मण्डली वा मिसनको अगुवाइ गर्ने जुनसुकै व्यक्तिलाई उनीहरूका सुरुआतका दिनको बारेमा सोधपुछ गर्दा, सबैले आफू गरीब, दुःखी र खेदोमा परेको एउटा पीडित तर परमेश्वरमा विश्वासयोग्य व्यक्तिको रूपमा प्रस्तुत गर्दछन्। तर उनीहरूको वर्तमानलाई हेर्ने हो भने त्यो कथित गरीबीको नाम निशान देखिँदैन। “यो कसरी भयो?” भनी प्रश्न गर्दा “परमेश्‍वरको आशिष्” भनी जवाफ आउँछ। दुःखको कुरो त्यो “आशिष्” केवल पास्टर र उसको हाउभाउमा चल्ने अगुवाबाहेक अरू सामान्य विश्वासीहरूमा चाहिँ कहिल्यै नआउने रहेछ।  पास्टरको सम्पत्तिले आकाश छुँदा पनि विश्वसीहरू भुइँको भुइँमै।  अचम्मको कुरो, यी पहिला “गरीब” अहिले “धनी ख्रीष्टियान नेताहरूलाई पैसाले खासै खुसी पारेको जस्तो लाग्दैन कारण आज कति जनासँग “नयाँ ”श्रीमती, कति जना नयाँ राजनीतिक “शक्तिसँगको साढगाढ”, नयाँ “नाम” र किनेरै भएपनि नयाँ उपाधि खोज्नतिर लागिरहेका छन्। शपनहाउरको भनाइलाई समर्थन गर्दै, यिनीहरू आफूसँग जति छ त्यसमा खुसी हुन नसकेको कारण त्योभन्दा अझ बढी खोज्दा खोज्दै संसारबाट बिदा हुनेछन्। संसारमै रहँदा पनि हामीसँग भएको शरीर, सम्पत्ति, सम्मान, र सम्बन्धहरूले सजिलै धोका दिन सक्छन्। यसको अर्थ माथिका उल्लेख गरिएका भौतिक उपलब्धिहरूको विरोधी हुनुपर्छ भन्न खोजेको होइन तर ती सबै थोक दिनुहुने परमेश्वर र विश्वासीहरूलाई पाखा लगाउने प्रवृत्तिसँग मात्र विमति हो।

शपनहाउरका भनाइअनुसार, मानिसले खुसी खोज्ने दोस्रो तह हो आफूलाई दिइएका कुराहरूमा हो। मान, सम्मान, इज्जत, उपाधि, ख्याति, प्रसिद्धी वा अरू कुनै। जब उसले यी कुराहरू प्राप्त गर्छ, त्यसको केही समयसम्म उसमा सायद खुसीको भान परिरहेको हुनसक्छ तर जब त्यो भानको अन्त्य हुन्छ तब फेरि ऊ अरू नै कुराबाट थप खुसी खोज्नतिर लाग्छ जसको कुनै सीमा हुँदैन। क्रमैसँग उसको जीवनमा परमेश्वरबाट आउने वास्तविक खुसीको परिभाषा फेरिँदै जान्छ र बिर्सन थाल्छ।

मानिसलाई वास्तवमा सधैं खुसी राख्‍ने तहचाहिँ, शपनहाउरको व्याख्याअनुसार, तेस्रो तह हो जसमा मानिसले आफ्नो वास्तविक अस्तित्वलाई चिनेको हुन्छ। यो तहमा मानिससँग भएका वा उसलाई दिइएका भौतिक उपलब्धिहरूले खास माने राख्‍दैन।  शपनहाउर जस्ता नास्तिकले मानिसको खुसी भौतिक कुराहरूमा भन्दा अभौतिक कुराहरूमा नै पाइन्छ भन्न सक्छन् भने मानिसलाई औधी नै प्रेम गर्ने परमेश्वरलाई चिन्ने मानिसको लागि यो कुरा अझ कति गहकिलो छ।

सोलोमन जस्ता व्यक्ति जसले संसारमा भएका सबै सुखविलासलाई उपभोग गरेर पनि भन्छन् “आकाशमुनि सबै कुराहरू व्यर्थै छन्” चाहे त्यो जेसुकै किन नहोस्।

दुःखको कुरो, आज अधिकांश ख्रीष्टियान अगुवाहरूको जीवनलाई हेर्दा पैसा नै सबै थोक हो भन्ने सन्देश मण्डलीमा गैरहेको छ र “फलिफापको सुसमाचार” मात्रै धेरैले प्रचार गर्न रुचाउँछन्। हो, परमेश्वरले हामीलाई अवश्य पनि आशिष् दिनुहुन्छ तर आजका मण्डलीका अगुवाहरू “धनी” हुनुमा परमेश्वरको आशिष् नभएर सेवाकाइको नाममा चतुर्याइँ देखाएर विदेशी दाताहरूसँग मागेको भीखको कारण हो। आफ्ना मण्डलीका विश्वासीहरूमा आएको फलिफापबाट जिविकोपार्जन गर्दै उन्नति गर्ने पास्टरहरू नेपालमा भेटाउन गार्‍है पर्ला। बरु, मण्डली र मिसनको नाममा मागेर आफ्नो पेट भर्ने अगुवाको रवाफ देखेर कति पटक परमेश्वरका ईमान्दार दासहरूलाई “पैसा नै सबै थोक रहेछ” भनेर मनमा लाग्नु स्वभाविक हो।  तर परमेश्वरको वचनमा भिजेको दासले आफ्नो निरास मनलाई शान्त गराएर उहाँको वचनमा ध्यान दिएको खण्डमा पैसाले दिन नसक्ने खुसी र सन्तुष्टि उसले पाउनेछ र केही समयपछि ती रवाफिला अगुवाहरूको जीवनमा पनि बेखुसीका तरङ्गहरू फैलिँदै गरेको सबैले देख्नेछन्।  यस्तै अगुवाहरूलाई प्रभु येशूले प्रकाश ३.१७मा यसो भन्नुहुन्छ ‘“म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दुःखी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ।’

त्यसकारण पाठक मित्रहरू, पैसा नै सबै थोक हो भन्ने भ्रममा नपर्नुहोस् तर हामीलाई के कुराको खाँचो छ भनी जान्ने परमेश्वरमा भरोसा राख्‍नुहोस् र उहाँमाथि विश्वास गर्नेको लागि सबै कुराहरू सम्भव छन् भनी येशू प्रभु स्वयमले भन्नुभएको छ (मर्कूस ९.२३)। दातासँग भीख मागेर धनी हुनुमा खासै बहादुरी छैन तर परमेश्वरमा भरोसा राखेर उहाँबाट आएको आशिषमा नै हाम्रो आत्मिक बहादुरी देखिनेछ। यर्मिया यसो भन्छन्; “”श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्‍तछ…त्यो उजाड-भूमिको पोथ्रोझैँ हुनेछ”” (१७.५), ““तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्‍तछ…त्यो पानीको किनारमा रोपेको रूखजस्तो हुनेछ”” (१७.७-८)। धुर्त्याइँमा भन्दा परमेश्वरमा भरोसा राख्‍ने मानिस कहिल्यै शर्मिन्दा हुनेछैन (भजन २५.३)।

  • Pastor Bhijraj Bhatta

Related Articles

One Comment

  1. I,agree what you are saying, but we couldn’t blame anyone because god has not given to authority to judgment anyone,our liabilities is just pray for them and they repent in the lord..& turning back in him..Praise the Lord .. Amen

Back to top button