मेरो पास्टर हराउनुभयो !

भर्खरै येशूलाई चिनेको मगजमा आपार उमङ्ग थियो। बाइबल यस्तो साथी बन्यो कि हिँड्दा झोलामै, बस्दा हातमै र सुत्दा सिरानीमा या छातीमै। नयाँ खाले बाइबल देख्‍ने वित्तिकै छाक बारेरै भएपनि किन्न मन लाग्ने। भजनका धून सुन्ने वित्तिकै कहिले आँखा रसिने त कहिले मुटुमा भक्कानो फुट्ने। ख्रीष्ट र ख्रीष्टीयन सब्द कतै लेखेको देखेपछि त्यो पत्रिका होस् या कुनै साइनबोर्ड, गएर त्यसलाई चुम्बन नै गर्न मन लाग्ने। चर्च को त “च” नै रमाईलो र शनिवारको “श” कहिले आउला भनि छ दिनको पर्खाई अतिनै लामो। चर्च भित्रको मादलको ताल कति सुरिलो, खैँजडीमा कति मिठास, गितार र हारमोनियमको त कुरै नगरौं। लाग्थ्यो कि यदि मेरा हातमा सङ्गीतको “स” मात्रै थियो भने पनि रात दिन चर्च भित्रै विताउँथे होला।

शनिवारको सेवामा स्वर्गीय अनुभव। गाउनेहरूले कति मिठो गाउन सकेको, बजाउनेको त हातैमा हिरा र प्रार्थना गर्नेहरूले स्वर्गको सिंहासन नै छोएको, र वचन बोल्नेको मुखै सुनौलो। सेवामा भागलिन आएकाहरू कति प्रेमीला, दयालु, मिलनसार, त्यागी। लाग्थ्यो कि म जस्तो पापका घाउहरूले भरिएको घाइते दागीको कारण त्यो पवित्र सभामा नै दाग लाग्ला जस्तो; त्यसैकारण पछाडि बस्न मन लाग्ने। सबै मिलेर ठुलाठुला सोरमा आराधनाको वलिदान चढाउँदा आफूलाई मनमा लागेका कुराहरू उच्चारण गर्ने आँट नै नआउने। छेउमै उभिएकाहरूले गरेको प्रशंसाका सब्दहरू सुन्दा कति मिठा, कति पवित्र, कति आत्मिक। भन्न त मनमा लागेका कुराहरू आफूलाई पनि भन्न मन लाग्थ्यो तर मसँग त्यो उच्च स्तरीय आत्मिक भाषा नै थिएन। एकान्तमा भने येशूसँग कुरागर्दा मुटुबाट भेल नै बगेर निस्कन्थ्यो। उहाँकै कोमल हातले मेरा आँसु पुछिदिएको अनुभव हुन्थ्यो; कतिपटक त सिरानी नै येशूको काख जस्तो लाग्थ्यो।

एक रात त येशूले विचित्रै गर्नु भयो। प्रेरितको किताबका केही अध्याय पढिसक्दा साडे दश बजेको थियो र सधैं झैं सुत्नुभन्दा पहिले प्रार्थनाको लागि घुँडा मात्रै के टेकेको थिए, मेरो संसारै परिवर्तन भयो। कोठा नै अनौठो उपस्थितिले भरियो। घुँडा टेकेर निहुरिएर बसेको मान्छे, उत्तानो भै लम्पसार परेछु। लम्पसार भएकै अवस्थामा हातहरू माथि उचाल्दै ठूलो सोरमा प्रार्थना गर्न थालेछु। ठूलै हल्ला भएको सुनेर छिमेकीहरूले कोठा घेर्दै कतिले झ्याल र कतिले ढोका ढक्ढकाउन थाले। पागलै भयो भन्ठाने। मेरो नाम बोलाएको पनि सुनेँ, ढोका खोल भनेको पनि सुनेँ, के भयो भनेको पनि सुनेँ र कता कता लाज पनि लाग्यो तर के गर्ने, उठ्नै सकेनँ, जवाफ दिनै सकेनँ नत प्रार्थना गर्न रोक्न सकेँ। मुख बन्दै नहुने, शरीर आफ्नो वस भन्दा बाहिर। म जे बोल्दै थिएँ आफैले पनि बुझिरहेको थिएनँ। अनौठो पनि लाग्यो तर मुटुको पनि मुटुमा अलौकिक् किसिमको आनन्द; स्वर्गीय अनुभव। कुनै अदृष्य उपस्थितिले मेरो शरीरलाई च्यापेको जस्तो लागे पनि मनमा बादलमाथि हिँडेको अनुभव। विचित्रै गर्नुभयो त्यो रात प्रभुले। विहानको तीन बजे मेरो शरीरको नियन्त्रण प्रभुले मलाई फिर्ता दिनुभयो र उहाँको सेवाको लागि मेरो जीवन दिनुपर्ने आज्ञा गर्नु भयो। उहाँको बोलावटलाई सहर्स स्वीकार गर्दै उज्यालो भएको थाहै भएन।

त्यो रातको जस्तो अनुभवमा मात्रै जीवन विताउन पाए कति आनन्द हुन्थ्यो होला तर उज्यालोले सेवाको लागि पाइला चाल्न वाध्य बनायो। ख्रीष्टीयन विश्वासी र पास्टरहरूसँग परिचय हुन थाल्यो। भरपर्दो र मनले खाने आत्मिक अगुवाको खोजीमा लागेँ। ख्रीष्टीयन समाजको अनुभव गर्दै जाँदा यो स्पस्ट हुन थाल्यो कि ति सुनौला सब्दहरू बोल्ने पास्टर होस् या स्वर्ग नै छुनेगरी आराधना गर्ने विश्वासी किन नहोस्; ख्रीष्टीयन जीवनमा द्वन्द रहेछ। एक मनमा उनीहरू साँच्चै येशूका चेला बन्न चाहान्थे भने अर्को मनमा संसारको भौतिक मोहमा पनि जीउन चाहान्थे। आफू येशूको निम्ति जोगी बनेर जीवन जिउँछु भनी निस्केको मानिसलाई ख्रीष्टीयन समाजभित्रको यो द्वैध चरित्रले निकै अप्ठ्यारोमा पार्‍यो। तापनि जोन बनियानको “तीर्थ यात्रा—पिल्ग्रिम्स प्रोग्रेस” ले मेरो कलिलो मगजमा गहिरो छाप लगाइसकेको कारण भौतिक लोभमा फस्नु मेरो यात्राको लागि हानिकारक हुनजान्छ भन्ने कुरामा सङ्का थिएन। त्यसैकारण बनियानका मुख्य पात्र “ख्रीष्टीयन” जस्तै सहयात्रीहरू खोज्नतिर म लागेँ।

यात्रा धेरै पार गरिसक्दा पनि यो खोजमा खासै सफलता मिलेन। जति नै नाम चलेको पास्टर किन नहोस्, भित्रि रहस्य बुझ्दै जाँदा भौतिक सम्पत्ति जोड्नकै लागि मरिमेटेको देखियो। भावि नेतृत्व निर्माणमा पनि आत्मिक गुरू र चेलाको सम्बन्ध नभएर आर्थिक लगानी र चतूर व्यवस्थापनको नै हावि देखियो। परमेश्वरको राज्य भन्दा आफ्नै राज्य निर्माणमा व्यस्त र विश्वासीको चिन्ता भन्दा नेतृत्वले आफ्नै चिन्ता गरिरहेको देखेँ। होलान् त्यस्ता असल आत्मिक गुरू भन्न लायकका सेवकहरू पनि तर मैले मेरो लागि चिन्ता गर्ने आत्मिक गुरू नेपाली ख्रीष्टीयन समाजमा भेट्टाउन सकेनँ। खोट मेरो पनि होला कारण जोगी बन्न सबैलाई सजिलो हुँदैन।

त्यसैकारण नेपाली ख्रीष्टीयन समाजको सेरोफेरोमै रहेर जीवन विताउने निर्णया गरेँ र नभन्दै प्रभुले यस्ता धेरै सहयात्रीहरू जुटाउनुभएको छ जसको जीवनमा मैले केही मात्रामा भए पनि प्रेरणा थप्‍ने मौका पाएँ। येशूका शिक्षालाई सिकाउने मात्रै होइन, व्यवहारमा उतार्न सकिन्छ भनि जीवनबाट उदाहरण देखाउने मौका प्रभुले मलाई दिनुभयो। त्यो उदाहरण देखाउनको लागि संसारको सुखविलाश र भौतिक समपन्नतामा भन्दा दुःख र चुनौतिहरूको सामनामा धेरै सजिलो हुँदो रहेछ। पास्टरको घर कति ठूलो, पास्टरको गाडी कति महँगो, पास्टर कति धनी भनि गरिएको प्रसंशामा भन्दा, पास्टरले दुःखमा, अभावमा, सतावट र खेदोमा पनि हेरस खानु भएन; सेवामा लागिनै रहनुभयो भनि देखिने गवाहीले असल गोठालोको उदाहरण बन्न सजिलो हुने रहेछ। त्यसैकारण होला, २कोरिन्थीको किताबमा पावलले आफ्नो दुःखमा निकै गर्व गर्नु भएकोछ।

काठमाण्डो आशा मण्डलीमा होस्, कोरियामा रहँदा सेवा पुर्‍याएको मण्डलीमा होस्, गुवाहाटीमा स्थापना हुँदै गरेको आशा मण्डलीमा होस्, या सामाजिक सन्जालबाट मसँग गाँसिएका विश्वासी मित्रहरूमाँझ किन नहोस्; उहाँहरूको सामु त्यो पास्टर बन्न सकुँ जसको जीवनलाई देखेर उहाँहरूमा पनि येशूको सेवा गर्ने रहर पलाएर आओस्। मेरो सेवा र जीवनसैली देखेर म पछिका सेवकहरूलाई निराशा होइन सेवा गर्ने प्रेरणा मिलोस्। त्यो नै मेरो जीवनको ठूलो सफलता हुनेछ र त्यसैमा म रमाउनेछुँ। मैले मेरो जीवनमा असल पास्टर भेट्टाउन सकेको थिएनँ भने पनि मेरो सेरोफेरोमा रहनुहुने परमेश्वरका छोराछोरीलाई त्यो अनिकाल नपरोस्। उहाँहरूको पास्टर नहराओस्!

  • PASTOR BHOJRAJ BHATTA

( https://vojraj.blogspot.in/2018/02/blog-post.html)

 

Related Articles

Back to top button