मण्डलीमा आराधना

परमप्रभु त्रिएक परमेश्वरले हामीलाई दिनुभएको पापक्षमा–मुक्तिप्रति धन्यवादी भई उहाँको महिमाको बखान गर्ने उद्देश्यले मानिसले भक्तिपूर्वक उहाँलाई आराधना चढाउँछ । आराधनाका अरू पनि कारणहरू होलान् तर यसको मुल आशय सबै कुराबाट परमेश्वरलाई महिमा दिनु हो । वास्तवमा ख्रीष्टियान जीवनका सम्पूर्ण कुरा नै परमेश्वरको आराधना बन्नुपर्छ ।
मण्डली एकसाथ भेला भएर आराधना गर्दा परमेश्वरको स्तुति साथै आराधकहरूलाई पनि उत्साह हुन्छ । आराधना परमेश्वरलाई चढाइने कुरा हो, मानिसको लागि मनोरञ्जन होइन । आराधनामा अगुवाइ गर्नेको योग्यता पनि त्यतिकै महत्वपूर्ण कुरा हो । असभ्य पोशाक पहिरिएर अथवा आफैंलाई बढाइ गर्ने तरिकाले कसैले अगुवाइ गर्छ भने त्यसले महापवित्र स्थानमा वर्षको एक पटक जाने पुरानो करारका पुजारीले जस्तो तत्काल मृत्यु नपाए पनि परमप्रभुलाई खुसी बनाउन सक्दैन । छाडा जीवन जिउने वा आराधनाको बेलामा मात्रै ख्रीष्टियानजस्तो देखिने व्यक्ति हल्ला गर्ने झ्याली–झ्याम्टाजस्तो मात्रै हो । आराधनामा मग्न देखिने तर वचन सुन्ने बेलामा बाहिर गफिने वा निदाउने व्यक्ति वा अगुवा पनि कलाकार मात्रै हो, प्रभुको जन होइन ।
आराधना सभ्य र सबैको लागि सजिलोको हुनुपर्छ, अगुवालाई मन पर्ने वा उसले मात्रै मज्जा मान्ने किसिमको होइन । त्यसैगरी आराधनाका गीत–सङ्गीत पनि मानिसहरूलाई उत्साही बनाउने हुनुपर्छ, अगुवालाई मन परेको मात्रै होइन । कसैले मलाई मन परेको सबैलाई मन पर्नुपर्छ भन्छ भने त्यो स्वार्थी विचार हो । मण्डलीको आराधनामा बस्दा सहभागीलाई प्रभुको नजिक जान सजिलो बनोस्, न कि उसलाई अनेक बाजाको सहनै नसक्ने ठूलो स्वरले बाधा देवोस् वा शब्दै नबुझेर बाजाको झ्याङझ्याङले टाउको भारी बनाओस् ।
मण्डलीको आराधनाले मण्डलीका दुलहालाई प्रशन्न तुल्याओस् । हाम्रा राजाको अघि त्यो मीठो बास्ना भएको धूप बनोस्—
“त्यसैले हामी भक्ति र भयसाथ परमेश्वरलाई ग्रहणयोग्य हुने आराधना चढाऔं किनभने हाम्रा परमेश्वर भष्म गर्ने आगो हुनुहुन्छ” (हिब्रू १२ः२८–२९) ।

  • Bhuwan Devkota

Related Articles

Back to top button