पास्टरको सेवकाइ ?

-भुवन देवकोटा
“परमेश्वरको वचनको सेवा गर्न छोडेर खुवाउने–पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन” (प्रेरित ६ः२) ।
चेलाहरूको सङ्ख्या बढ्दैगएपछि मण्डलीमा आएको समस्याको उत्तर प्रेरितहरूले यसरी दिएका थिए । डिकनहरूको सेवाको जन्म त्यही बेला भएको थियो । यो निर्णयमा आउनुअघि प्रेरितहरूलाई आफ्नो बोलावट र कामको बारेमा प्रष्ट जानकारी थियो । साथसाथै अघि आएको समस्यालाई कसरी समाधान गर्ने भन्ने बारेमा यो परिपक्व र लामो समय टिकिरहने तरिका थियो । प्रभुको स्वर्गारोहण भएपछि मण्डली क्रमशः बढ्न लाग्यो । प्रभुले जानुअघि चेलाहरू दिनुभएको आज्ञामा तिनीहरूले सुसमाचार प्रचार, चेला बनाउने र बप्तिस्मा दिने काम बढाइरहेका बेला मण्डलीमा समस्या पनि बढ्न थालेको थियो । त्यसरी बलियो र पक्का निर्णय नभएको भए सायद त्यसको नकारात्मक प्रभाव मण्डलीमा धेरै पर्नेथियो साथै मानिसहरूले आफ्नो वरदानको प्रयोग पनि गर्न पाउनेथिएनन् ।
प्रभुको अनुग्रहमा नेपालमा मण्डली बढ्दै छ । त्यसको लागि आवश्यक पास्टरीय जनशक्तिको पनि निर्माण भइरहेको कुरा सुखद पक्ष हुँदाहुँदै केही कमजोरीको कारणले पास्टरजस्तो पवित्रशास्त्रले उच्च सम्मान दिएको सेवकाइमा प्रश्न उठ्नु प्रभुको महिमा र मण्डलीको भलाइको लागि होइन । पास्टरको पद कसैको व्यक्तिगत प्रोफाइल बढाउन मात्रै अवश्यै होवोइन । यो त प्रभुबाट आएको पक्का बोलावटको परिणाम हो । आफूलाई अगुवा बन्न मन लागेर वा दातृसंस्था वा व्यक्तिबाट व्यक्तिगत लाभको लागि पास्टर बन्नु र जीवित परमेश्वरको हातमा पर्नु ज्यादै डरलाग्दो कुरो हो ।
पास्टरलाई मण्डलीको सेवकाइमा भन्दा धेरै विभिन्न मिटिङहरूमा भेटिनुले पक्कै पनि प्राथमिकताको बारेमा प्रश्न उठाउँछ । गोठालो भेडासँग हुनुपर्ने कुरा अति सामान्य हो । तर भेडाले नै गोठालोसँग भेट्न सक्दैन भने कसरी भेडाको सुरक्षा र चौतर्फी विकास हुन्छ । सेवकाइ र आफ्नो आत्मिक बढोत्तरीको लागि कुनै सभामा गएर सिक्नु ठूलो कुरा होइन, तर पास्टरले रातदिन मिटिङमै समय बिताउँछ र आफ्ना भेडाहरूलाई स्याहार्न केही गर्दैन भने पास्टरको बोलावटमा अवश्यै प्रश्न आउनुपर्छ ।
अर्को कुरा, सहभागिताको— पास्टरलाई पास्टरको सेवकाइमा बोलावट भएको हो । सबै संस्थाहरूको बोर्डमा बस्न, मण्डलीभन्दा संस्थाहरूमा धेरै समय बिताउन, राजनैतिक कार्यक्रममा मात्रै धाउन बोलावट पक्कै भएको होइन । नेपालको मण्डलीमा ती कुराहरू गर्न सक्ने जनशक्तिको प्रशस्त विकास भइसकेको सन्दर्भमा पास्टरले चाहिँ जिम्मेवारी दिन हच्किनु र मण्डलीका सदस्यहरूलाई तिनीहरूको वरदान प्रयोग गर्न दिन डराउनु बाइबलीय देखिंदैन ।
“…तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्पूर्ण समय दिनेछौं” (प्रेरित ६ः४) ।

Photo: http://www.thatsfarming.com/news/machinery-silage-focus#&gid=1&pid=2

Related Articles

Back to top button