तपाईंको बोलावटमा धमिरा नलागोस् !

येशूलाई विश्वासगर्नु आफैमा कति महान् आशिष् हो। संसारका अरबौं मानिसहरूले यो आशिष् पाउन सकेकाछैनन्। येशूको बारेमा धेरै कुराहरू जानेर, सुनेरपनि येशूलाई आफ्नो मुक्तिदाता भनी स्वीकारगर्न सकेकाछैनन्। ख्रीष्टीयन परिवारमा जन्मेरपनि धेरैले यो आशिष् गुमाएकाछन्। तर जसले येशूलाई साँचो रूपले चिनेकाछन्, उनीहरूका लागि यो कति उदेकको आशिष् हो! जीवनमा गरिएका सबै पापको क्षमा। नरकको अन्नत मृत्युबाट छुटकारा पाएर जीवनको यात्रामा हामी लागेकाछौं। स्वर्गको निश्चयता छ। यस संसारमा रहुन्जेल जीवन बिताउन चाहिने सबै शक्ति र सामर्थ्यको प्रतिज्ञा हामीलाई दिइएको छ। वाकै ख्रीष्टीयन जीवन कस्तो उदेको र रहरलाग्दो जीवन!

हुनत परमेश्वरले मानिसलाई सृष्टि गर्दा नै रहरलाग्दो जीवनको लागि सृजनुभएको हो। तर पापले मानिसलाई त्यो रहरलाग्दो जीवनबाट अलग गर्दै आजको यो कहाली लाग्दो जीवनमा ल्याइपुर्‍यायो। तापनि परमेश्वरले मानिसलाई यति धेरै प्रेम गर्नुभयो कि मानिसका पापको ज्याला तिर्न उहाँ आफै येशूमा मानिस बनेर आउनुभयो। पापको ज्याला मृत्यु भएको कारण त्यो ज्याला तिर्न क्रूसमा मारिनुभयो; मानिस मर्नुपर्ने स्थानमा येशू मर्नुभयो। मरेर चिहानमै सदाकोलागि रहेकोभए खासै त्यसको कुनै अर्थ हुनेथिएन तर येशू तेस्रो दिनमा मुर्दाबाट बौरिनुभयो। चालीस दिनसम्म सयौं चेलाहरूसँग शारीरिक अवस्थामा नै उहाँले भेट गर्नुभयो। मुक्तिको कार्य पुरा गरेपछि उहाँ फेरी आफ्नो महिमामा जानुभयो र जाँदाखेरि हामीलाई त्यो क्रूसको सन्देस सारा संसारलाई सुनाउने जिम्मा दिएर जानुभयो र भन्नुभयो कि उहाँ फेरी यसै संसारलाई रहरलाग्दो स्वर्गीय संसार बनाउनकोलागि फर्केर आउनुहुनेछ।

त्यसकारण मित्र, यदि तपाईंले येशूलाई हृदयबाटै मुक्तिदाता भनि स्वीकार गर्नुभएकोछ भने तपाईंले उहाँको यो आज्ञालाई स्वीकार गर्नैपर्छ। जसरी सकिन्छ र जुन तरिकाले हुन्छ मानिसलाई सुसमाचार सुनाउनु हामी सबैको कर्तब्य हो। येशूलाई प्रेम गरेको यो प्रमाण हो। मानिसले अह्राएर होइन। कुनै पेशाको रूपमा पनि होइन। येशूलाई प्रेम गरेको कारण हामी उहाँको प्रेमकोबारेमा सबैलाई बताउन चाहान्छौं। येशूविना मानिसहरू पापको कारण नास भैरहेकाछन्; नरकको डरलाग्दो यात्रामा छन् भन्ने कुरा थाहा पाएपछि हामी आफू मात्रै यो रहरलाग्दो जीवनमा रमाउनसक्दैनौं। हामीलाई मानिसले जतिसुकै दुर्व्यवहार गरेपनि यो रहरलाग्दो जीवनको सन्देस उहाँहरूलाई हामीले सुनाउनैपर्छ। सरकारले सुसमाचार सुनाएको कारण जेलमै हाल्छ भनेपनि सुसमाचार सुनाउनुभन्दा अर्को विकल्प हामीसँग छैन।

त्यतिमात्रै नभएर, ख्रीष्टीयन जीवनको अर्को रहरलाग्दो पाटो हो मण्डली (चर्च)। मण्डली परमेश्वरको राज्य हो। जहाँ मण्डली छ त्यहाँ परमेश्वरको राज्य हुन्छ। सुसमाचारमा विश्वास गर्नेहरूलाई स्वर्गीय जीवनकोबारेमा सिक्ने र सिकाउने ठाउँ पनि मण्डली नै हो। येशूलाई हामीले कतिको गहिराइबाट चिनेकाछौं भनि जाँच्ने र जाँचिने ठाउँ पनि मण्डली नै हो। एउटा ख्रीष्टीयनले अर्को ख्रीष्टीयनसँग गरेको व्यवाहारले स्वर्गमा पाइने इनामको निर्णय गरिरहेको हुन्छ भने संसारमा रहुन्जेल सुसमाचारलाई शक्तिशाली वा कम्जोर बनाउने काम पनि गरिरहेको हुन्छ। सम्बन्धहरूमा सुधार ल्याएर स्वर्गको निम्ति इनाम कमाउने ठाउँ पनि मण्डली नै हो। सुसमाचारको निम्ति अविश्वासीहरू भन्दा पनि प्रेमरहित र शरीरका अभिलाषामा जीवन बिताउने ख्रीष्टीयनहरू नै बढी बाधक हुन्छन्। संसारका ज्योति र नुन हुनुको सट्टा यस्ता ख्रीष्टीयनहरू अविश्वासीको आँखामा पट्टी र नाकमा दुर्गन्ध भैदिन्छन् जसको करण उहाँहरू येशूले दिने रहरलाग्दो जीवनबाट सदाको लागि बन्चित हुनजान्छन्। येशूका वचन अनुसार मानिसलाई सुसमाचार सुनाउन हामीले पाहाडै उचाल्नुपर्दैन; एकले अर्कालाई प्रेम मात्रै गरेको खण्डमा संसारका मानिसले येशूलाई चिन्नेछन्। त्यसकारण यदि तपाईलाई नयाँ मानिससँग सुसमाचार सुनाउन अप्ठ्यारो लाग्छ भने चिनेको विश्वासी मित्रहरूसँग अगापे प्रेममा रहेर त्यो संगतिबाट परमेश्वरले तपाईंलाई चलाउनुहुनेछ। परमेश्वरको राज्यमा हामी कोही पनि बेरोजगार छैनौं। हामी सबैलाई केही न केही बोलावट दिएरै परमेश्वरले यहाँ राख्नु भएको छ। त्यो बोलावटलाई निश्चित गर्ने ठाउँ, त्यो बोलावटलाई प्रयोगमा ल्याउने ठाउँ हो मण्डली।

१) मण्डलीमा प्रेमिला सम्बन्ध र संगतिबाट हामी परमेश्वरको बोलावटलाई पुरा गर्न सक्छौं। मण्डलीमा हुने सेवा, संगति र प्रार्थना सभाहरूमा सकेजति भाग लिएको खण्डमा हामीले आफ्नो त्यो बोलावटलाई पुरा गरिरहेका हुन्छौं। पवित्र आत्माको फलले भरिएको विश्वासीलाई मण्डलीमा पाउँदा जुनसुकै पास्टरले परमेश्वरलाई हृदयबाटै धन्यवाद दिन्छ कारण पास्टरीय सेवाको मुख्य उदेस्य नै त्यस्ता विश्वासीहरू उत्पादन गर्नु हो। अगापे प्रेमले भरिएको मण्डलीले धेरै मानिसलाई येशूमा ल्याउनेछ। त्यो मण्डलीमा आत्मिक र संख्यात्मक वृद्धि हुनेछ। प्रेमले भरिएका विश्वासीले सबैलाई आफ्नो जीवनबाट सुसमाचार प्रचार गरिरहेका हुन्छन्।

२) प्रार्थनाद्वारा आफ्नो बोलावटलाई पुरा गर्न सक्छौं। आफ्नो मण्डलीका पास्टर र सम्पूर्ण सदस्यहरूकोलागि निरन्तर प्रार्थना। विश्वासमा नआएका आफ्ना, आफन्त र छिमेकीहरूकालागि निरन्तर प्रार्थना। आफ्नो गाउँ, शरह र देशको मुक्तिकोलागि निरन्तर प्रार्थना। सुसमाचारकोलागि दुःख भोगिरहेका र सेवामा लागिरहेका सबैकोलागि निरन्तर प्रार्थना।

३) आफ्नो औकातले भ्याएजति भेटि र दशांस दिएर पनि हामी आफ्नो बोलावटलाई पुरा गर्न सक्छौं। असल सदस्यले भेटी र दशांसबाट आफ्नो मण्डलीका सेवाहरूलाई सहयोग पुर्‍याउनु पहिलो प्राथमिकता हो। तर मण्डलीको नेतृत्व नै इमान्दार छैन र संकलन भएका भेटीहरू बैंकको खातामा मात्रै जम्मा गरिन्छन् भने विश्वासीहरूले आफ्नो भेटीबाट कसरी प्रभुको सेवा गर्ने भनेर सोच्नै पर्नेहुन्छ। तर मण्डलीले निरन्तर प्रभुको सेवा गरेको छ। पास्टर प्रचारकहरूले सम्पूर्ण जीवन नै सेवामा सुम्पेका छन् भने आफ्नो मण्डलीमा भएको खाँचोलाई पूर्ति गर्नु एउटा असल विश्वासीको आत्मिक बोलावट हो। मण्डलीमा वचनको सेवा गर्ने सेवकहरूको भौतिक खाँचो पुरा गर्ने जिम्मा विश्वासीहरूको हो।

४) सम्पूर्ण जीवन सुसमाचार प्रचार र वचनको सेवामा समर्पण गरेर पनि हामी आफ्नो बोलावटलाई पुरा गर्न सक्छौं। यो काम त्यति सजिलो छैन। जीवनमा धेरै वलिदान गर्नुपर्ने हुन्छ। आफ्नो इच्छाको मृत्यु हुनुपर्छ र परमेश्वरको इच्छालाई शिरोपर गर्नुपर्ने हुन्छ। जीवनमा धेरै कठिन मोडहरू आउनेछन्। निराशा, एकलोपना, अभाव, सतावट आदिले हामीलाई घेर्न सक्छन्। के खाउँला र के लाउँला भन्ने दिनहरू पनि आउँछन्। छोराछोरीको भविस्य अन्धकार भए जस्तो लाग्न सक्छ। मानिसबाट कहिल्यै जस नमिल्न सक्छ। तापनि हामीलाई बोलाउनुहुनेको छत्रछायाँमा रहेर मृत्युसम्मै विश्वासयोग्य रह्यौं भने उहाँले हामीलाई सम्हाल्नुहुन्छ। उहाँले नै हाम्रो बोलावट पुरा गर्न चाहिने मानिसहरू, साधन र श्रोतहरू जुटाउनुहुन्छ। हामीले मागेर खानु पर्नेछैन। हाम्रा छोराछोरीको भविस्य पनि उहाँले नै आफ्नो हातमा लिनुहुनेछ। हामीलाई बोलाउनुहुने विश्वासयोग्य हुनुहुन्छ भनि जानेर आफ्नो ज्यानको बाजि लगाएरै यस बोलावटमा हामी स्थिर रहन सक्यौं भने उहाँले हामीलाई धेरै मानिसको मुक्तिको लागि चलाउनुहुनेछ। हामीलाई हाम्रा भौतिक आवस्यकता पुरा गर्न परमेश्वरले आफ्ना मानिसहरूलाई पठाउनुहुनेछ। हामीले मानिसहरूलाई माग्नुभन्दा पहिल्यै परमेश्वर उहाँहरूसँग बोल्नुहुनेछ।

यस किसिमले हामी सबै आ-आफ्नो बोलावटलाई पुरा गर्न सक्नेछौं। जब हामी स्वर्गमा येशूको सामु उभिनेछौं त्यतिबेला हामी सबैलाई प्रभुले भन्नुहुनेछ “स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुशीमा सहभागि हो” (मत्ती २५.२१)।

 PASTOR BHOJRAJ BHATTA

source: https://vojraj.blogspot.in/

Related Articles

Back to top button