मण्डली किन बोल्दैन ?

–भुवन देवकोटा
वर्तमान नेपाली समाज बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार, थुप्रै पाशविक कुराहरूको कारणले आक्रान्त छ । समाजका अवहेवहरू दिनानुदिन भत्किँदै छन् । समाजमा कमजोरहरू आजभन्दा भोलि झन् असुरक्षित देखिँदैछन् । उनीहरूको पक्षमा, उनीहरूको सुरक्षामा कोही छैनजस्तो देखिंदैछ । कसले उनीहरूलाई माया गर्ने भन्ने सन्त्रास चारैतिर फैलिएको छ । कसैले सानी छ वर्षकी नानीलाई बलात्कार गरेर मारिदिन्छ । कसैले बुढी हजुरआमाको शरीर लुछेर आफ्नो वासना पूरा गर्ने कोसिस गर्दछ तर कोही पनि बोल्दैन । कसैले भुत भगाउने नाममा दिनभरि अबोध किशोरीलार्इ कुट्छ, सारा दुनियाँ रमिते ।
समाज अन्धो छ । समाजको आँखामा पट्टी बाँधिएको छ । उनीहरूको लागि त्यो कुरा ठूलो भएन भने हामीले त्यसलाई केही गर्न सक्दैनौं । तर परमेश्वरको प्रतिनिधि मण्डलीलाई परमेश्वरले आँखा खोलिदिनुभएको छ, जसमाथि परमेश्वरले अनुग्रह गर्नुभएको छ, जसमाथि परमेश्वरले निगाहा गर्नुभएको छ, जसमाथि परमेश्वरले आफ्नो आत्माद्वारा आफ्नो प्रेम खन्याउनुभएको छ । अचम्म लाग्छ, परमेश्वर पवित्र आत्माद्वारा खन्याइएको त्यो प्रेम कहाँ छ ? मण्डली किन चुपचाप छ ? सायद मण्डलीलाई लागेको होला, पर्खालभित्र आफ्ना सदस्यहरू सुरक्षित छन् । आफ्ना छोरीचेली सुरक्षित छन् । कसैले केही पनि गर्न सक्दैन । त्यसकारण बाहिर जेसुकै होस्, त्यसको कुनै पनि परवाह छैन । सानी छोरी बलात्कार हुँदा मण्डली नबोल्नु भनेको निर्दोष, कमजोर, बोल्न नसक्ने र दीनहरूको पक्षमा आवाज नउठाउनु हो । अनि परमेश्वरलाई यो सबै कुरा सुन्दा खुसी लाग्दैन । मण्डलीलाई परमेश्वरले कमजोरको रक्षार्थ पनि यस पृथ्वीमा राख्नुभएको हो ।
आज परमेश्वरको मन रोएको छ । परमेश्वरको हृदयको ढुकढुकीको कुरा मण्डलीले बुझ्नुपर्ने, थाहा पाउनुपर्ने कुरा हो । आज मण्डली त्यसमा चुकेको आभाष हुँदैछ । आज मण्डली बोल्ने समय आएको छ । प्रभुमा निर्दोष छोरीहरूको पक्षमा उजूर गर्ने समय आएको छ । नत्रता समाज अपराधीहरूको किल्ला बन्दैछ, दुष्टहरूको गढ बन्दैछ ।
मण्डलीलाई थाहा छ, यी सबै दुष्ट कर्महरू, यी सबै पाप कर्महरूको समाधान ख्रीष्ट येशूमा छ । येशू ख्रीष्टको सुसमाचारमा छ । अनि परमेश्वरले मण्डलीलाई त्यो अधिकार पनि दिनुभएको छ । यस्ता अन्धकारका कार्यहरू येशूको रगतको क्षमादानले मात्रै मेटिन सम्भव छ । आज मण्डली अन्धकारमा चम्कनुपरेको छ । अनि चम्किने र ख्रीष्ट येशूको ज्योति ल्याउने कामचाहिँ आज मण्डली त्यो ठाउँमा पुगेर, त्यहाँ गएर, येशूको सन्देश लगेर येशूको बारेमा मानिसहरूलाई बताएर हो । अनि निरास मानिसहरूलाई आशा छ भन्ने कुरा देखाइदिएर हो । अनि आज मण्डलीले त्यो गर्नुपरेको छ । मण्डली जाग्नुपरेको छ । समय आइपुगेको छ ।
समाजका यस्ता अपराध कार्यलाई रोक्ने अर्को तरिका मण्डली स्थापना हो । मैले भवनको कुरा गरेको होइन किनभने मण्डली भनेको भवन होइन । तर जब हामीले मानिसहरूलाई ख्रीष्टको वचन प्रचार गर्छौं अनि जब मानिसहरूले येशूमाथि विश्वास गर्छन्, त्यस मानिसहरूका बीचमा परमेश्वर बास गर्नुहुन्छ । जब कुनै समुदायमा परमेश्वर हुनुहुन्छ, तब उहाँले पाप र दुष्टलाई त्यस स्थान र समुदायबाट हटाउनुहुन्छ ।
आज मण्डली कमजोर र असाहायको पक्षमा खडा हुनुपरेको छ र येशूको ज्योति सबै ठाउँमा लानुपरेको छ ।
त्यस्ताहरूको पक्षमा बोल्, जो आफ्नो पक्षमा बोल्न सक्दैनन्, यस्ताहरूका अधिकारको निम्ति, जो कङ्गाल छन् । आवाज उठा र न्यायसँग फैसला गर्, गरिब र दीनहीनको अधिकारको रक्षा गर् (हितोपदेश ३१ः८, ९) ।

Related Articles

Back to top button