येशू— प्रभु कि चङ्गाइकर्ता मात्रै ?

भुवन देवकोटा
“तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो । हाम्रा अधर्मका निम्ति ऊ पेलियो । हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौं” (यशैया ५३ः५) ।
येशूको नाममा प्रार्थना गर्दा भूतहरू भाग्नु ख्रीष्टियानको लागि सामान्य कुरा हो । येशू नाउँ नै सर्वोच्च नाम हो र त्यो नामको अघि कोही पनि टिक्न सक्दैन । परमेश्वर पिताको महिमाको लागि हरेकले त्यो नामको अघि घुँडा टेक्नैपर्छ । येशूको नाममा बिमारीहरू पनि निको हुनु सामान्य कुरा नै हो ।
तर येशूको मृत्यु र मिसन त्यति मात्रै होइन । मानिसको शारीरिक आवश्यकता पूरा गर्नुभए पनि त्यो मात्रै उहाँको मुख्य चासो होइन । अहिले धेरैतिर, धेरै प्रचारक र धेरै कार्यक्रम आयोजकहरूले जोड दिएजस्तै उहाँले मानिसको शरीरलाई मात्रै चङ्गाइ गर्नुहुन्न । उहाँको मुख्य कार्य त पापको बन्धनबाट मानिसलाई स्वतन्त्र गरेर परमेश्वरसँग सम्बन्ध जोडिदिन आउनुभयो । शरीरलाई निको पार्ने कार्य त अनन्त आत्मालाई येशूले पापको बिमारबाट स्वतन्त्र पार्नुहुन्छ भन्ने कुराको छायाँ मात्रै हो । हामी छायाँमै खुसी छौं भने सक्कली कुरा पाउन सक्दैनौं ।
मानिसहरूलाई शारीरिक चङ्गाइमा मात्रै आउन जोड दिंदा तिनीहरूले परमेश्वरलाई चिन्ने सम्भावना कम छ । शारीर सम्पूर्ण किसिमले तन्दुरुस्त भएर कोही मानिस नरक जान्छ भने त्यसलाई के फाइदा भयो र ? धनी त सम्पन्न र शारीरिक रूपमा तगडा थियो नि, होइन र ? तर बाइबलले बताउँछ कि घावैघाउले भरिएको लाजरस पो स्वर्ग गयो, धनी र स्वस्थ मानिस होइन । यूहन्ना ५ अध्यायमा येशूले एकजना मानिसलाई चालीस वर्षदेखिको रोगबाट निको पार्नुभयो तर त्यसले येशूलाई पक्का नचिनेको र विश्वास नगरेको कुरा उहाँले त्यसलाई फेरि भेटेर ‘फेरि पाप नगर’ भन्नुभएको कुराले प्रमाणित गर्दछ । नेपाली गाउँहरू कति पटक पास्टरलाई ‘नयाँ झाँक्री’ को रूपमा अरू मानिसहरूले विचार्ने कारण पनि यही हो ।
येशूले निको पार्नुहुन्छ भन्ने कुरामै मानिसलाई नअल्मल्याएर उहाँ प्रभु र मुक्तिदाता हुनुहुन्छ भन्ने कुरालाई हामी मण्डलीले जीवन र शिक्षाबाट देखाउन सकौं र मानिसहरू नयाँजन्म पाएर स्वर्ग साँच्चै जान तयार बनून् ।

Related Articles

Back to top button