यसरी मण्डली कमजोर हुँदैन र ?

-भुवन देवकोटा

मण्डलीको सर्वाङ्गीण विकासको लागि मण्डलीमा सबै वरदान भएका मानिसहरूको खाँचो पर्नेमा कसैको दुईमत हुँदैन । विज्ञान र प्रविधिको वर्तमान युग र बौद्धिक कसरत धेरै हुने अहिलेको प्रतिस्पर्धी समयमा मण्डली पनि सोही गतिमा अघि बढ्ने हो भने, अर्को शब्दमा भन्दा सुसमाचार प्रचार र चेलापनका प्रयासहरूमा पनि मानिसहरूले बौद्धिक स्तर खोज्ने भएकोले हाम्रा यत्नहरूलाई पनि त्यही स्तरमा लानु अहिलेको अर्को चुनौती हो ।
नेपालको मण्डलीमा बौद्धिक कसरत कम हुने गुनासो एकातिर छ भने शिक्षितहरू बिस्तारै मण्डलीबाट पाखा लाग्दै छन् भन्ने अर्को तर्क पनि सत्यताको नजिक छ । देशले अहिले सक्षम जनशक्ति गुमाउँदैछ, धेरै विदेशिँदैछन् भने कोही मद्यपान, लागूऔषधी, जुवातास, डिस्को, बार आदिको नसामा डुबेर समाजको वर्तमान र आगामी पुस्तालाई बिगार्न तल्लीन छन् ।
यसरी बौद्धिकताको पलायनले अन्ततः समाजको भविष्यलाई बर्बाद पार्दछ । महान् प्रेरित पावलले धेरै पटक आफू गमलिएलको चरणमा हुर्केको कुरा गर्नु उनको घमण्ड होइन, त्यसले परमप्रभुको काममा अझ बल थपेको थियो । मण्डलीले बौद्धिक जनशक्तिलाई गुमाउँदै गयो भने बिस्तारै ख्रीष्टियान सम्प्रदायको धरातलले वचनको बौद्धिक अभ्यासलाई गुमाउँदै जानेछ र सुसमाचारको सान्दर्भिकता पनि मानिसहरूको लागि हराउँदै जानेछ । यस्ता कुराले अन्ततः नेपाली ख्रीष्टियान समुदाय नै कमजोर हुनेछ ।
बौद्धिक जनशक्ति पलायन हुनुको अर्को कारण नेतृत्वले त्यसलाई प्रयोग गर्न र अवसर दिन डराउनु पनि हो । तर परमप्रभुको काममा सबै कुराको आवश्यकता छ भनेर बुझ्ने नेतृत्वले मण्डली र सम्पूर्ण ख्रीष्टियान सम्प्रदायकै भलाइको लागि बौद्धिक जनशक्तिलाई निराश भएर बाहिर जान दिनेछैन र उपयोग गरेर परमप्रभुलाई महिमा दिनेछ ।
आज नेपाली मण्डलीलाई पनि आफ्नो बौद्धिकता त्यसरी पूर्णरूपमा प्रभुको सेवाको लागि खर्चिने मानिसहरू र तिनीहरूलाई प्रयोग गर्न नडराउने नेतृत्वको खाँचो छ ।

Related Articles

Back to top button