आस्थाको स्वतन्त्रता

रेभ डा बाल कृष्ण शर्मा
मैले भर्खरै लेखेको एक सानो लेखमा मानवतामा आस्थाको महत्व छ र सबैले आस्थालाई सम्मान गर्नुपर्छ भन्ने मेरो विचारलाई प्रस्तुत गरेको थिएँ । म आफै पनि मानवअधिकारका सम्बन्धमा वकालत गर्ने व्यक्ति भएको हुनाले यो मेरो अडान हो । चाहे राजनीतिक आस्था होस् वा चाहे धार्मिक आस्था होस् वा कुनै पनि धर्म नमान्य आस्था होस्, यसलाई स्वतन्त्र रूपमा अभ्यास गर्न पाउनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ र त्यति मात्र होइन मानव एक स्वतन्त्र प्राणी हो । उसले आफ्ना कुराहरू राख्नसक्छ, आफ्ना विचारहरूको अभिव्यक्ति दिनसक्छ र आफ्नो आस्थालाई आफ्नो निर्णय अनुसार परिवर्तन गर्न सक्छ । यो एक व्यक्तिको व्यक्तिगत स्वतन्त्रताभित्र पर्छ । आजको नेपालमा कुनै पनि स्थापित धर्ममा आस्था नराख्ने र कुनै राजनीतिक नेताका सिद्धान्तलाई धर्मका रूपमा स्वीकार गरी त्यसमाथि आस्था राख्न पाउने अधिकारको अभ्यास भइरहेको हामीले देखेका छौँ । के त्यस किसिमको आस्था राख्नका लागि त्यस व्यक्तिलाई स्वतन्त्रता छैन र ? कुनै पनि स्थापित धर्म मान्ने वा नमान्ने अधिकार एक व्यक्तिको नैसर्गिक अधिकार हो । यसलाई हनन् गर्नुभनेको व्यक्तिगत स्वतन्त्रतालाई अभ्यास गर्नका लागि रोक लगाउनु हो । व्यक्तिगत स्वतन्त्रतामा आफूले त्यस आस्थालाई अभ्यास गर्ने मात्र होइन तर आफ्नो आस्था अरूलाई बताउने स्वतन्त्रता पनि समावेश भएको हुन्छ । त्यस आस्थालाई स्वीकार गर्ने वा नगर्ने स्वतन्त्रता अर्को व्यक्तिमा निहित हुन्छ । आफ्नो आस्था बताउनै नपाउने भन्ने हुँदैन । कसैलाई आस्था स्वीकार गर्न बाध्य पारिनुहुँदैन ।
राजनीति र धार्मिक आस्था कुनै स्वदेशी वा परदेशी भन्ने हुँदैन । यसको दायरा राजनीतिक र भौगोलिक क्षेत्रमा सीमित हुँदैन । नेपालका राजनीतिक दलहरूले पनि कित कार्ल माक्स कित माओ कित गान्धीको सिद्धान्तलाई अपनाएका पाइन्छ । यसले पनि सिद्धान्त स्वदेशी र विदेशी हुँदैन भन्ने देखाउँछ । भारतमा शुरू भएको हिन्दू धर्म आज एशिया लगायत विश्वका विभिन्न देशहरूमा फैलिएको छ र त्यो धर्म त्यस देशमा विदेशी धर्म भएको छैन । त्यहाँका नगरिकहरूले त्यस धर्मलाई स्वदेशी धर्मका रूपमा नै अपनाइरहेका छन् । नेपालमा शुरू भएको बौद्ध धर्म तिब्बत, चीन, जापान, थालइलैण्ड, श्रीलङ्का लगायत धेरै पश्चिमी मुलुकहरूका मानिसहरूले अपनाइरहेका छन् र कसैलाई पनि यो विदेशी धर्म हो भन्ने लागेको छैन र त्यस किसिमका भनाइहरू पनि कतै सुनिँदैन । कुनै पनि धार्मिक आस्था कुनै देशमा स्थापित भएपछि त्यो देशको आफ्नै धर्म बन्छ र सबै मानिसहरू मिलेर बस्छन् ।
इस्राएलमा जन्मनुभएका येशूलाई विश्वास गर्ने नेपालीहरू वा अन्य कुनै देशका नागरिकहरूले कहिल्यै यसलाई विदेशी धर्मका रूपमा विचार गर्दैनन् र अरूहरूले पनि यस्तो सोच राख्नुचाहिँ नेपालमा शुरू भएको धर्म मान्नेहरूका लागि अरू देशमा अन्याय हुन्छ । सबैलाई आफ्नो आस्था चुन्ने र यस बारेमा बताउने अधिकार हुनुपर्छ र यो एक मानवको जन्मसिद्ध अधिकार नै हो । त्यसकारण हामी एकले अर्कालाई अपशब्द बोलेर अपमान नगरौँ । हामीले जुनसुकै राजनीतिक वा धार्मिक आस्था बोके पनि हामी सबैले नेपालको मुहार फेरौँ र सबैको सेवा गरौँ ।
मैले येशूलाई बिस २०३२ भन्दा पहिल्यै विश्वास गरेको हुँ । पञ्चायत कालमा ख्रीष्टियानमाथि गरिएको अत्याचार पनि मलाई थाहा छ । अहिले देशले अभ्यास गरिरहेको शासनले सबै व्यक्तिहरूलाई आस्थाको स्वतन्त्रता दिन्छ भन्ने आशा पनि छ । यसको निम्ति जीवित परमेश्वरसँग निरन्तर प्रार्थना पनि गरिरहेको छु । हाम्रो सहायता परमेश्वरबाट आउँछ भन्ने कुराको मलाई हेक्का छ ।
मैले त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्यमा एम ए गर्दा बाइबल पढेँको थिएँ । अनिवार्य रूपमा हामीले बाइबल पढ्नुपर्थ्यो । बाइबलमा भएका शिक्षा सबैका लागि हो भन्ने कुरा मैले त्यस बेला जाने । मैले अंग्रेजी साहित्यलाई कलेजमा सिकाएको पनि छु । आज पनि बाइबलको त्यतिकै महत्व छ । यो ज्ञान र बुद्धिको खानी हो । मैले विश्वको प्रमुख धर्महरू भनिने पुस्तक पनि लेखेको छु र त्यो पुस्तक पढनका लागि पनि म अनुरोध गर्न चाहन्छु । सबै धर्ममा भएका असल पक्षहरूलाई मैले औँल्याएको छु र धर्ममा भएका भिन्नताहरू पनि त्यहाँ उल्लेख छ । हामी आवेशमा आएर कसैलाई दोष नलगाऔँ । ख्रीष्टका शिक्षाहरूले परिवर्तन ल्याउँछ भन्ने कुरा म आफैले अनुभव गरेको छु र उहाँ सबैलाई प्रेम गर्न आउनुभयो भन्ने कुरा पनि बाइबलले स्पष्ट पारेको छ । उहाँको जीवन बलिदान र प्रेमले भरिएको छ । मैले उहाँजस्तो अर्को बलिदानले भरिएको व्यक्ति भेटेको छैन । त्यसैकारण येशूको शिक्षा र प्रेमले तपाईंको जीवनलाई परिवर्तन गर्नेछ भन्ने कुरामा म विश्वस्त छु । जीवित परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस् ।

 

Related Articles

Back to top button