कर्णाली प्रदेशमा सुरु भयो ख्रीष्टियन महासंघ नेपालको राष्ट्रिय भेला

२०७५ वैशाख १७, सुर्खेत
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको दशौ राष्ट्रिय भेला कर्णाली प्रदेशमा शुरु भएको छ ।
केन्द्रिय अध्यक्ष सि.बि. गहतराजज्युको सभापतित्वमा शुरु भएको राष्ट्रिय भेलामा ७ वटै प्रदेशका प्रमुखज्युहरु, विभिन्न संघसंस्था र इसाई समाजकासाथै देशभरका विभिन्न मण्डली समुदायका प्रतिनिधिज्यूहरुको व्यापक सहभागिता रहेको छ ।
सभापति गहतराजज्यू, विशिष्ठ अतिथि तथा वचन वक्ता सहअध्यक्ष रेभ. डा. पा. फिलेमोन क्षेत्रीज्यू र कर्णाली प्रदेश प्रमुख पा. पदम गैरेज्यूले संयूक्त रुपमा दीपप्रज्वलन गर्दैै सभाको समुद्घाटन गर्नुभएको हो ।
विशिष्ठ अतिथि तथा वचन वक्ता सहअध्यक्ष रेभ. डा. पा. फिलेमोन क्षेत्रीज्यूले परमेश्वरको आशिषमय वचन बाँडनुभएको थियो भने आराधनाको अगुवाई तिमोथि नेपाली नेतृत्वको क्वाएर झुण्डले गर्नुभयो । उद्घाटन सत्रमा महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले महासंघको वार्षिक प्रतिवेदन पेश गर्दै नेपाली ख्रीष्टियन समुदायको वर्तमान अवस्था, ख्रीष्टियन समुदायका विद्यमान समस्याहरू र महासंघको भावी योजनाको विषयमा भेलालाई जानकारी गराउनुभयो । सो प्रतिवेदन माथि चर्चा गर्दै अध्यक्ष गहतराजज्यूले सबै मण्डली, ख्रीष्टियन संघसंस्थालाई सँगै लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै सरकारले ल्याउन लागेको राष्ट्रिय सदाचार नीतिले ख्रीष्टियन समुदायमाथि विभेद गरेको र प्रधानमन्त्री, गृहमन्त्री लगायतले दिएका पछिल्ला अभिव्यक्तिले ख्रीष्टियन समुदायको गम्भिर ध्यानाकर्षण भएको भन्दै सदाचार नीतिको विरोध गर्दै संसोधनको माग गर्नुभयो ।
भेलालाई सम्वोधन गर्दै उहाँले ७ वटै प्रदेशमा महासंघको कार्यालय स्थापना गरेर सक्रियतापूर्वक काम कारवाही अघि बढाउने तयारी भईरहेको समेत जानकारी गराउनुभयो ।
यस्तै उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजुज्यूले नेपालको संवैधानिक व्यवस्था र अन्तरराष्ट्रिय मानवअधिकार सम्बन्धी कानुनले प्रत्याभूत गरेका नागरिकका आधारभुत मौलिक हक अधिकार र ख्रीष्टियन समुदायले अपनाउनु पर्ने सर्तकताको विषयमा सभालाई जानकारी गराउनुभयो । कार्यक्रममा प्रतिवेदनमाथि चर्चा गर्दै ७ वटै प्रदेशका प्रमुखज्यूहरुले आ–आफना प्रदेशगत प्रतिवेदन पेश गर्नुका साथै आ–आफनो धारणा राख्नुभयो ।
भेलाका संयोजक तथा कर्णाली प्रदेश प्रमुख पा. पदम गैरेज्यूले महासंघले सरकार र विभिन्न राजनीतिक पार्टीहरुसँग ख्रीष्टियन समुदायको हक हित र अधिकार पहिचान स्थापित गराउने सवालमा पटक–पटक आवाज उठाउँदै आएकोले देशभरका मण्डलीहरुले यति बेला महासंघलाई साथ र सहयोग गर्दै हातेमालो गरेर अघि बढनुपर्ने जिकिर गर्नुभयो । सो उद्घाटन सभालाई केन्द्रिय समितिका सचिव पा. किरण दासज्यूले कुशलताका संचालन गर्नुभएको भेलामा महासंघका विभिन्न विभागका प्रमुखज्यूहरुले मन्तव्य राख्नुभएको थियो ।

Related Articles

Back to top button