नेपाली बाइबल अनुवादका पिता पादरी गंगाप्रसाद प्रधानको चिनारी जीवनी, कृति र योगदान

 

बहुआयमिक साधक स्व.पादरी गंगाप्रसाद प्रधानको जन्म काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाइ १८५१ अर्थात वि.स.१९०८ अषाढ २२ गते भएको थियो । बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोरा थिए । उनका जेठा दाजु प्रभुनारायण र दुई दिदिहरू सँगै थिए । त्यसवेलाको देशका राणाकालिन राज्यले जनताहरूलाई देश निकाला गर्ने अनेकौ वहानामा डर र धम्की दिन्थ्य । वाध्यता वश विदेशीनु पर्ने परिवन्धमा उनका दाजु नेपालको पूर्वहुदै दार्जिलिङ पुगे । जेठो छोरो विदेशीएको केहि बर्षपछि नै राजमति प्रधानको देहान्त भयो । परिवारमा ठूलो चोट परेकाले जीवन साह्रै अध्यारो भयो । प्रभुनारायणले आफ्नो परिवारलाई पनि दार्जिलिङ मै आउनु भनी समाचार पठाएकाले । गंगाप्रसाद नौ वर्ष उमेरमा आफ्नो परिवारसँगै पहाडको रानी दार्जिलिङ २९ मे, १८६१का दिन पुगे । नेपाल देशको राजनैतिक वातावरण सारा जनताको लागि स्वतन्त्र र सरल थिएन । एकतन्त्रे राज्य शासन चलाईरहेका राणा शासनको निरङकुश र अत्याचार पचाउन नसकी रूपनारायण हनुमानढोकामा द्वारेको जागिरबाट अवकाश दिएर सपरिवार मुग्लान हानिएका थिए । आमाको छिटै निधनले गंगाप्रसाद टुहुरो भए । फलस्वरुप धेरै वर्ष धोको पुग्नेगरी आमाको माया संगाल्न पाएनन् । ४ जुलाई, १८७० अर्थात उनको १९ औं जन्मदिनमा मेकफर्लेनको स्कूलमा भर्ना भए । तर सानी आमाले स्कूल पठाइनन् । दिनरातका कचकच र टोकसोलाई सहन नसकी एक महिनामै उनले स्कूल छोडे । पुस्तकलाई एकातिर पन्छाएर उनी फेरी चिया बगानमा चियाको पत्ती टिप्न विवश भए । तीन महिनापछि घरैमा मेकफर्लेन आएर निशुल्क पढाइदिने भएपछि उनी पुनः उत्साहीत हुदै स्कूल जान थाले । नौ महिना स्कूल पढेपछि एक दिन कक्षा एकका शिक्षक अनुपस्थित भएकाले म्याकफार्लेनले सो कक्षा पढाउने जिम्मा गंगाप्रसादलाई दिए । कक्षाका शिक्षक भोलिपल्ट, पर्सिपल्ट गरी एकमहिना सम्म अनुपस्थित भएकाले नयाँ महिना देखि उनी नै शिक्षक भए । उनको शैक्षिक योग्यता नभएता पनि उमेर र अनुभवीका कारण शिक्षकको गरिमामय पदमा आसिन भए । चारबर्ष सम्म शिक्षकको जागिर खाएका थिए । यसैबीचमा गंगाप्रसादले इसाई शिक्षकबाट परमेश्वरको जिउदो वचन सुने र येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गरे । तर त्यस समयमा ख्रीष्टयन हुनु ‘फलामको चिउरा चपाउनु ’ सरह थियो । वप्तिस्मा लिन र दिन मुस्किल थियो । त्यसपछि भागेर अलाहाबाद पुगी २४ जनवरी १८७५ मा पादरी बिनकूपबाट बप्तिस्मा लिए । त्यसबेला सम्म कुनै पनि नेपालीले इसाई धर्म ग्रहण गरेका थिएनन् । कारण ग्रहण गर्नेहरूलाई किरिया गरिन्थ्यो, मरेकै बराबर गरिन्थ्यो, पानी वाहेक, घर निकाला र समाजबाट बहिस्कार गरिन्थ्यो । तर उनले येशूख्रीष्टको दुःखलाई नै रोजे । ग्रहण, बप्तिस्मा र सेवकाइमा लागि परे । त्यसको करिब एक वर्षपछि उनको विवाह एलिजाबेथ राईसग भयो र उनीहरूको २ छोरा र ६ छोरीहरू जन्मिए ।) आफूले पाएको सत्य ख्रीष्टबारे अरुलाई पनि बताउन, सुसमाचारको दर्शन झन झन वृद्धिहुदै गयो ।
उनको सेवकाइमा शिक्षक, अनुवादक, लेखक, सम्पादक र पादरीको रुपमा जीवनको अन्त्य सम्म नै सेवागर्दै रहे । उनको परिवार संयुक्तरुपमा वस्थ्य । त्यसको पारिवारीक आर्थिक भार बढी उनकै काँधमा थियो । उनको आफ्नो निजी घर र जमिन केहि थिएन । उनको सन्ध्याकालीन जीवनमा धेरै उतारचढाव रहेको थियो । साहेद उनको अन्तिम सम्पादकीय कति हारगोहार मिश्रित सुस्केराहरू थिए होलान । उनका शुभचिन्तक पाठकहरूका चिठीहरू कसले पल्टाए होलान ? पत्रिकाले जन्माएका नयाँ लेखकहरू विचल्लीमा परे होलान् । आफ्नो मृत्यु पछि आफ्नी धर्मपत्नीलाई के हुने हो सोबारे प्रधानलाई निकै ठूलो पीर थियो । उनले भन्ने गर्थे “ म त प्रभुकहाँ जाँदैछु, तर धमालाई के हुने हो थाहा छैन । तिमीहरू सबैले उनको याद गर्नु …” भन्नुहुन्थ्यो रे । पारिवारिक आर्थिक स्थिति सन्तोषजनक थिएन । आफ्नै घर समेत थिएन । कर्मथलो दार्जिलिङ भएपनि उनको जन्मथलो काठमाडौं थियो । त्यो समयका प्रशासनले इसाई भएकै कारण काठमाडौं आएको केही समयमै पुनः दार्जिलिङ पठाइयो । आफ्नो जन्मथलो अनि मानिस प्रतिको माया र ख्रीष्टको सन्देश अधुरै राखि सपरिवार लखेटीनुपर्दा प्रधानलाई पिडा भएको थियो ।
उनको स्वार्थ भनेको गोर्खालीहरूको निःस्वार्थ सेवा थियो । अन्ततः पादरी गंगाप्रसाद प्रधानको स्वर्गे २८ मार्च, १९३२ का दिन दार्जीलिङमा ८१ बर्षको उमेरमा भयो । त्यो समयमा गाडिएका उनी गाडिएको गाडिकैं भए । आदिकवि भानुभक्त आचार्यको झै पादरी गंगाप्रसादको मोतीराम भट्टको ठीक समयमा उदय भएन । यसैकारण उनको मृत्युभएको ४३ बर्ष सम्म केही खोजखबर भएन । किन भएन ? यो एक तितोसत्य इतिहास केलाउनै पर्नेहुन्छ । जे भएतापनि हामीले तिर्न नसकिने ऋण अनि बाडुली लागिरहने सम्झना छाडी उनी स्वर्गे भए । उनको मृत्यु भएको चार दशक पछि ४ जुलाई १९७५ मा पादरी गंगाप्रसाद प्रधानको १२४ औं जन्मजयन्ती पहिलो पटक मनाइयो । त्यसपछि यदाकदा मनाइदै आएको देखिन्छ ।

नेपाली बाइबल अनुवादका पिता पादरी गंगाप्रसाद प्रधानको कृति र योगदान

बाइबल अनुवाद ः विश्वमा सबैभन्दा बढी बिक्रि भएको र सबैभन्दा बेसी भाषामा अनुवाद गरिएको पुस्तक बाइबल नै हो । सन् १८२१ मा विलियम केरीले नेपाली भाषामा नयाँकरार अनुवाद गरी श्रीरामपुर मिसनले प्रकाशन गरेको थियो । यो कृति नै नेपाली भाषाको पहिलो प्रकाशित कृति मानिएको छ । विलियम टिण्डेललाई अंग्रजी बाइबल अनुवादका पिता भने झै नेपाली बाइबल अनुवादका पिता भनेर पादरी गंगाप्रसाद प्रधानलाई मानिन्छ ।

१) नेपाली बाइबल अनुवादको योगदान
उनी बाइबलका शिक्षक, मण्डलीका पहिलो पङ्क्तिका अगुवा र प्रवक्ता भएर रहे । अनुवादको काममा मिसनेरी पादरी टर्नबुल र किल्गोर जस्ता ग्रीक र हिब्रु भाषाविदहरूबाट पनि सहयोग लिएर सन् १९१४मा अनुवाद गरी किङ्ग जेम्स भर्सनको विलकुल हुबहु अनुवाद १९१४मा कलकत्ताबाट प्रकाशित भएर आइपुग्यो । यी नै नेपाली बाइबलबाट लाखौ नेपालीले जीवनको पानी पिए । नेपाली भाषामा गंगाप्रसादको शीर्ष योगदान बाइबल जस्तो महान् ग्रन्थलाई नेपाली भाषामा तर्जुमा गर्नु जस्तो अर्को योगदान अरु हुन सक्दैन । नेपाली बाइबल अनुवाद भएको पनि आज १०२ बर्ष पूरा भएको छ । यसैको खुशीयालीमा महान् प्रभुलाई धन्यवाद भन्दछौं । अनि पादरी गंगाप्रसाद प्रधानलाई सम्झिरहेछौ । नेपाली भाषामा पवित्र धर्मशास्त्र बाइबल अनुवाद गरी प्रकाशन हुनुले आज पनि पादरी गंगाप्रसाद हामी विचमा बोलीरहे झै लाग्छ । २० बर्षको साधना र अथक परिश्रमले उनलाई नेपाली बाइबल अनुवादका साधक, महारथि र पिता बनाएको छ । अनुवाद , लेखन र प्रकाशनमा उनको योगदान विशिष्ट र प्रथम पंक्ति मै पर्दछ ।

२) ‘गोर्खे खबर कागत्’ मासिक पत्रिका ( सन् १९०१ –१९३२)

पादरी गंगाप्रसाद प्रधानको दोस्रो ठूलो योगदान ‘गोर्खे खबर् कागत्’ मासिकको प्रकाशनलाई लिन सकिन्छ । प्रधानले स्कटीस मिशन ओर्फनेज प्रेसलाई सन् १९०१ मा खरिद गरेर यो प्रेसलाई ‘द गोर्खा प्रेस’ भनेर नामाकरण गरे । उनले यो पविर्तन आफ्नो जातीय पहिचानको दायरालाई फराकिलो र नेपाली अस्तित्वलाई चम्काउने हेतुले गरेको भन्न सकिन्छ । उनको यो कदम प्रशंसनीय थियो । प्रेस खरीद गर्नु नै प्रधानको दुरदर्शिताको पहल थियो । एउटा महत्वपूर्ण बुद्धिमानी साथै साहसिक कदम उनले उठाएँ । यसले व्यवसायिक रुप पनि लियो । आयस्रोतको साधन र केही व्यक्तिहरूको रोजगारीको थलो पनि भयो । जे होस् नेपाली भाषा साहित्य र पत्रकारिता प्रकाशनमा यो प्रेस र गंगाप्रसाद महत्वपूर्ण कोशेढुङ्गा बनेँ । यो १ जनवरी, १९०१ मा ‘गोर्खे खबर् कागत्’ प्रकाशन शुरु भएको समाचारप्रधान मासिक पत्रिका जीवन पर्यन्त सम्म प्रकाशनमा आएको बुझिन्छ । यो पत्रिका नियमित रुपमा उनको आफ्नै स्वामित्वमा रहेको छापाखाना ‘द गोर्खा प्रेस’ बाट प्रकाशित हुन्थ्यो । आठ पृष्ठमा प्रकाशित ‘ गोर्खे खबर् कागत्’ को आधा भाग अथवा चार पृष्ठमा निम्न शीर्षक अन्तर्गत खबरहरू छापिन्थे – स्थाने, दिहाते देशान्तरे । यी समाचारहरू स्थानीय दार्जीलिङ जिल्ला, पूर्वी र पश्चिमी हिमाली क्षेत्र, भारत र भारतबाहिरबाट संकलन गरिएका हुन्थे । समाचार पत्रको मुखपृष्ठ र भित्री मुखपृष्ठमा सो महिनाको पात्रो, मण्डली सम्वन्धि सूचना र लेख छापिन्थे । बाँकी अन्तिम दुई पृष्ठहरूमा विभिन्न आकर्षक विज्ञापनका सामग्रीहरू हुन्थे । यस बाहेक पत्रिकामा कविता, जीवनी,संस्मरण, यात्रावर्णन र शिक्षामूलक लेखप्रविधि रचना पनि प्रकाशित हुनेगरेको थियो । गंगाप्रसाद आफैले पनि विभिन्न कथा, गीत, लेखहरू लेखी छाप्थे । हाल सत्र ओटा अंक मदन पुस्तकालय, ललितपुर नेपालमा कमलमणि दिक्षितले दर्ता गरी राख्नुभएको छ । यो पत्रिका नेपाली भाषामा प्रकाशित भएता पनि यसको उद्देश्य चाहीँ इसाई धर्म र आस्थालाई प्रचार गर्नु पनि थियो । यो पत्रिका इसाई सिद्धान्त, आस्था र केहि मौलिक भाषाकै कारण ओजेल पारिनुहुदैन भन्ने मेरो व्यक्तिगत चिन्तन छ । अनि खरो आक्रोश छ । अब कुरा गरौ गोरखापत्रको । नेपालको जेठो प्रकाशन नभएर एसियाकै जेठो प्रकाशन संस्था बनेको छ । अखवारी इतिहासको गौरव बनेको गोरखापत्र नेपालको पुरातात्विक सम्पदाको रुपमा राष्ट्रकै सम्पति बनिसकेको दावि गरीरहेको छ । तर पादरी गंगाप्रसाद प्रधानले सम्पादन तथा प्रकाशन गरेका ‘ गोर्खे खबर् कागत्’ पत्रिका नेपालको ‘ गोरखापत्र ’ भन्दा ४÷५ महिनाले जेठो छ । एकै बर्षमा शुरुभएका पत्रिका भए पनि वर्तमान समयमा अस्तित्व विहिन भएर वस्नुपरेको छ । यो विषयमा खण्डन गर्ने, विश्लेषण र शंश्लेषण गर्नु अपरिहार्य छ । हाल गोरखापत्र प्रकाशन, संस्थान र पब्लिसिङ हाउसका रुपमा अगाडि बढेको छ । समय सापेक्ष यसको विकास र प्रगति भैरहेको देख्दा उता गंगाप्रसाद प्रधान र उनको पत्रकारितालाई इतिहासको गर्भमै तुईयाउन खोजेको भान हुन्छ । पादरी गंगाप्रसादको पत्रकारिता –प्रकाशनको यात्रा वर्तमानको जस्तो सेवासुविधा युक्त उपकरणहरू थिएन । प्रशस्त विश्वासी र मण्डलीहरू थिएनन् । तर पनि निरन्तर प्रकाशन गरीरहे । यसरी पत्रकारीताको विजारोपणमा ठूलो योगदान दिएकाछन् ।

३) पुस्तक लेखन र अनुवादमा योगदान

यसको साथसाथै त्यसताका दार्जिलिङमा हिन्दी भाषाको माध्यमबाट पढाई हुन्थ्यो । उनले नेपाली भाषामा स्कूलका निम्ति प्राथमिक र केही सहयोगी पुस्तकहरू तयार गरे उनको भाषा र अनुवाद कार्यमा उसबेलाको दार्जीलिङे चलनचल्तीको भाषा र शब्दहरूको प्रयोग गरी जम्मा २८ वटा पुस्तकहरू अनुवाद र नयाँ पुस्तक लेखे अनि आफ्नै प्रेसबाट छापे । त्यसैगरी विश्वप्रसिद्ध बाल कथाहरू अनुवाद गरेका छन् । दार्जीलिङ क्षेत्रमा नेपाली पाठ्यपुस्तक लेख्ने पहिलो नेपाली उनै हुन् । मौलिक कथाहरू, आत्मकथा समेत लेख्न सफल छन् ।

४) संगित क्षेत्रमा योगदान — लोकगीत रचनाकार
उनले रचेका गीतहरू मध्ये ” जस्ता गीतहरू उनका मनपर्ने गीत हुन् । दर्जनौ नेपाली भजन तथा गीतहरू रचेर मण्डलीमा सिकाए । विश्वासीलाई आफ्नै भाषा, लयमा आराधना गर्दा संगतिलाई प्रभावशाली बनाउथे । उनका गीतहरूमा नेपाली जाती र भाषा बोध गराउने शब्द पाइन्थ्यो । जस्तै भादगाउ, पाटन कान्तिपुर शब्द छन् । उनका गीत संगित धार्मिक मात्र नभएर जातीय प्रेमले ओतप्रोत छन् । उनले सरल र लोकलयका धार्मिक संगीत क्षेत्रमा योगदान दिए । वर्तमान नेपाली इसाई संगीतको समृद्ध रुप नै उनको देन हो ।

५) भाषा शिक्षक तथा शिक्षासेवीको रुपमा योगदान

धेरै अंग्रेज मिसनेरीहरूलाई नेपाली (तत्कालीन गोर्खाली) भाषाको शिक्षा पनि दिए । जस्तै यिनैले पादरी टर्नबुललाई सिकाए । अंगे्रजी नेपाली शब्दकोश पनि संग्रह गरी प्रकाशन गरे । त्यसैगरी दार्जीलिङको कुनाकुनामा प्राइमरी स्कूल स्थापित भई विद्याको प्रचारप्रसार भएको हो । शिक्षक मात्रै भएनन् पाठ्यक्रम विद र शिक्षा सेवी पनि भएको देखिन्छ । उनले भाषा शिक्षण र शिक्षा सेवीको रुपमा योगदान दिएकाछन् ।

६) इसाई सेवकको क्षेत्रमा योगदान

गंगा प्रसादले ख्रीष्टको प्रेमलाई साँचोसँग आफ्नो व्यक्तिगत जीवनमा अनुभव गरेका थिए । प्रत्येक कार्यहरूमा सुसमाचार प्रचारको लागि अवसर बनाउथ्य । येशूप्रभुको हृदयलाई आत्मसाथ गर्दै ख्रीष्टको प्रेम बाढ्न कहिले पछि परेनन् । सुसमाचार प्रचारमा पनि त्यतिकै लागिपर्दथ्य । बप्तिस्मा दिने यूहन्ना जस्तै निडर र सत्यतासँग प्रचार गर्दथ्य । प्रत्येक आइतबार त्यसताका गुन्द्रीबजार भनिने आजको चौक बजारमा तिनको प्रचार सुन्न मानिसहरूको धुइरो लाग्थे र विश्वास गर्दथे । त्यसैले उनलाई कुशल प्रचारक भनिन्थ्यो । सरल र प्रभावकारी रुपमा प्रार्थना, संगति सेवा र बाइबलीय शिक्षा पनि सिकाउथे । त्यतिबेलाका दार्जीलिङ क्षेत्रका बाइबलिय शिक्षक र मिसनेरी जस्तै भएर ठाउँठाउँमा गएर सिकाथे । आत्मिक तथा बाइबलीय ज्ञानमा पोख्त भएकाले गर्दा उनलाई खरसाङमा भएको मण्डली रेखदेख गर्नलाई १८७७ मा र पछि दार्जीलिङको सन्त कोलम्बा मण्डलीमा १९०१ अगस्तको शुभदिनमा पूर्ण पादरीको रुपमा ५० बर्षमा अभिषेक गरियो । नेपालीहरूबाट पहिलो पादरी(पाष्टर) भए । पादरीको परिपक्व गुण थियो । पादरी सेवामा तिनी पुल्पीटमा उभिएर प्रवचन दिने र मण्डलीको धर्म विधिका कार्य सम्पन्न गर्ने व्यक्ति मात्र नभएर तिनी बडो सम्वेदनशिल प्रकृतिका थिए । विश्वासीको घरदैलोमा पुगी वास्ता र सरोकार राख्न पनि भ्याउथे । तिनले आफ्नो सन्तुलित र सफल परिवारलाई सबैको अघि नमूना बनाएका थिए । उनले मण्डलीको सेवाकार्यलाई असलभण्डारे भएर गरे । उनले असल चेला वा अगुवा निर्माण गरी मण्डलीको जिम्मेवारी र प्रतिष्ठित पदभारबाट बीस बर्ष सेवारत रहेर १९२१ मा अवकाश ग्रहण गरे । त्यसपछि मण्डलीका संरक्षक र सल्लाहकारमा रहेर सेवा पु¥याइरहे । त्यहाको सेवकहरूलाई नमुना प्रस्तुत भइरहे । पादरीको अवकास पछि पुन पत्रिकाको लागि जीवन अपर्ण गरे । महिनौ दिन लगाएर आफ्नो जाति र देशमा परमेश्वरको काम गर्ने भनेर रक्सौल, विरगञ्ज हेटौंडा भिमफेदी हुदै काठमाडौं आउदा यहाँको सरकारले श्री ५ पृथ्वीनारायण शाहको पालामा विदेशी मिसनेरी लगाएत काठमाडौंको इसाई नेवारहरूलाई ( उनीहरू भारत को वेतिया कुहडीमा ) देशनिकाला गरे झैं इसाई धर्मको प्रचारप्रसार गर्लान भनेर तुरुन्तै दार्जलिङमा नै खेदेर पठाए । रुदै रुदै फर्कदा गंगाप्रसादको मन साहै रोएको हुनुपर्छ । सायद त्यो बेला नेपालमा सेवा गर्ने मौका पाएका भए नेपाली मण्डली र उहाँको राज्य विस्तार हुनेथियो । देशमा उनको सपना पूरा भैसक्थ्यो होला ।

७) बहुआयमिक साधकको व्यक्तित्व

तेतिबेला भारतमा अंग्रेजहरुले मात्र पादरी पदमा अभिषेक पाउथ्ये तर नेपाली पहिलो पादरीको रुपमा अभिषेक भए । त्यसैगरी सन् १९१६ मा लण्डन बाइबल सोसाइटीद्धारा उनलाई लाइफ गर्वनरको सदस्यता दिइयो । नेपालीमा पहिलो पाठ्यपुस्तक लेख्ने, बाइबल अनुवाद गर्ने,पहिलो नेपाली पादरी (पाष्टर) , पत्रिका सम्पादक तथा प्रकाशक भइ नेपाली समाचार पत्र चलाउने उनी नै भए । उनले भाषा साहित्य, अनुवाद, सम्पादन, शिक्षा र मण्डलीको पाष्टरीय सेवामा समेत उत्तिकै योगदान दिन सफल छन् । त्यसैले पादरी गंगाप्रसाद प्रधानलाई बहुआयामिक क्षेत्रका साधक तथा व्यक्तित्व भनी सम्वोधन गरिन्छ । उनको जीवनकालमा विभिन्न क्षेत्रमा रहेर सेवा पु¥याउनुको एकमात्र लक्ष्य भनौ या मिसनको केन्द्रविन्दु चाहिँ येशू नै हुनुहुन्छ । मानिसलाई परमेश्वर चिनाउनु उद्देश्य रहेको देखिन्छ । शिक्षक, प्रचारक,लेखक, अनुवादक, पाष्टर र सम्पादक जे भएपनि आफ्नो नेपाली भाषी र जातिको लागि लक्षित गरेको देखिन्छ । साहित्य, संगित र सेवकाइमा परमेश्वरको राज्य विस्तारको महान् योगदान पु¥याएकाछन् उनले । नेपाली ख्रीष्टियनहरुले पादरी गंगाप्रसाद प्रधानको योगदानलाई वास्तविक रुपमा कदर गरेका छैनौं । अरुले बनाइदिएको इतिहासमा बाच्ने मात्र नबनौ । हामी पनि नयाँ इतिहास लेख्न लागि परौ । पादरी ज्यूको सुनौलो इतिहासलाई चम्काउन हामी सबै नेपालीहरु लगि परौ भन्ने मेरो विनम्र अनुरोध छ ।

अब हाम्रो पालो, के योगदान दिने ?

उहाँका योगदान हाम्रो निम्ति एउटा गाडधन झैं भएको छ । उहाँको सम्मानस्वरुप उहाँको जन्मजयन्ति मनाउन पाउनु हाम्रो निम्ति गर्वको कुरो हो । उहाँको त्यो विविध पक्षको निरन्तर साधना र उपासना प्रति कृतज्ञ छौं । उहाँको नाउँमा लेखिएका पुस्तक, विशेषाङ्क, सोधपत्र,स्मृतिग्रन्थ र मनोग्राफले वर्तमानमा उहाँलाई उज्यालोमा ल्याउँने र भविश्यको लागि इतिहास बनाइरहने छ । उहाँको नाउँमा स्थापना भएका पादरी गंगाप्रसाद प्रतिष्ठान, जन्मजयन्ति समारोह, जन्मजयन्ति पुरस्कार गुठी, लोचनगर पथलाई पादरी ‘गंगाप्रसाद पथ’ नामाकरण, कबरस्थानको पुननिर्माण, स्मारक र गींग मण्डली भवनलाई ‘गंगाप्रसाद प्रधान स्मारक मण्डली’ को नामाकरण गराई आदि कुराले हामी श्रधा गरिरहेकाछौ । त्यसैगरी अब उहाँको नाउँमा स्कूल, मिसन,पुस्तकालय, संग्राहलय, प्रकाशन,गीति एल्वम, वृत्तचित्र र चलचित्र निमार्ण गरी उनको परिचय नेपाली संसारमा प्रकाशमा ल्याउनु हाम्रो दायित्व हो । पादरी ज्यूको योगदानको विषयमा गोष्ठी, सेमिनार तथा सभा आयोजना थाल्नुपर्छ । पादरीज्यूको जयञ्ती विशिष्ट साहित्यकार पत्रकार तथा यहाँहरू जस्तो प्राज्ञहरूको जमघट सहित सार्वजनिक रुपमा धुमधाम मनाऔं । जुलाई ४ तारिखलाई प्रत्येक नेपाली मण्डलीहरूले विभिन्न कार्यक्रम गरौं । उहाँको नाउमा विभिन्न पुरस्कार, सम्मान तथा छात्रवृत्तिको व्यवस्था गर्ने । उनले हामीलाई लगाएको गुण त तिरी सक्दैनौ तर उहाँलाई दिनको उज्यालोमा ल्याउने विभिन्न कार्यक्रमहरू गर्न त अवश्य नै सक्छौ । नेपाली भाषामा रामायण उल्था गरेको कारण आज हामी भानुभक्त आचार्यलाई नेपाली भाषाको आदिकवि भनेर चिन्छौं र प्रत्येक बर्ष भानु जयन्ती मनाउछौ । तर गंगाप्रसाद जसले सिंगो बाइबल नै उल्था गरे । नेपाली वाङ्मय–साहित्य, पत्रकारिता–प्रकाशन, अनुवाद, शिक्षा र परमेश्वरको विश्वमिसन दर्शनमा पु¥याएको योगदान छ । जसको बारेमा सम्झना समेत गरीदैन र उनका रचनाहरूलाई किन छायामा पारियो र उनलाई इसाई समुदाय र राष्ट्रले अभैm पनि गहनाको रूपमा स्वीकार गर्न नसक्नुको पछाडि के कारण छ भनी खोज्नु जरुरी भएको छ । त्यसैले आजसम्म जति नेपाली इसाई पत्रपत्रिका र पुस्तकहरू लेखेर प्रकाशन भए प्रत्यक्ष वा अप्रत्यक्षरुपमा उनै पादरी गंगाप्रसादको देन र प्रेरणा हो । नेपाली इसाई जगतमा रहेका अग्रज स्र्रष्टाहरूको योगदान र कृतिहरूको जर्गेना गरौं । ताकी भोलीको सुनौलौ इतिहास बनाऔं । आजको संकलन गरिएका अभिलेखहरू नै एक दिन इतिहास बन्दछन् । पादरी गंगाप्रसाद प्रधानको ३२ बर्षे पत्रकारिता—प्रकाशनको महान् यात्रामा हिमश्रृंखलाका कञ्चन हिमनदीहरू अविरल बगाइरहे । जीवनको अन्तिम स्वास सम्मै पवित्र कलम घोटिरहे । २० बर्षे बाइबल अनुवादमा लागिपरे । २० बर्षे पादरीको सेवकाइलाई प्रभावशाली बनाए । पादरी गंगाप्रसाद प्रधानको बहुआयमिक व्यक्तित्व, प्रभावशाली जीवन र दर्जनौ कृतिहरू नेपाली इसाइ जगतको लागि योगदान दिएकाछन् । सो समयमा लेखनबाट अगुवाई गर्नुभयो । हाल नेपाली इसाई जगतमा पनि करिब १ दर्जन सशक्त कलमहरूले नेतृत्व गरी नेपाली मण्डलीलाई अगुवाइ र सेवा गर्नुपरेको छ । पादरी गंगाप्रसाद प्रधान बहुआयामिक व्यक्तित्व र प्रतिभाका साधक बनिरहे । चम्किलो तारा झै चम्किरहे । महान् योगदान दिइरहे । तर अब हाम्रो पालोः के योगदान दिने ? र कस्तो इतिहास बनाउने ? धन्यवाद

नोट ः स्व.पादरी गंगाप्रसाद प्रधानको १६७औं जन्मजयञ्ती समारोहको लागि समयकुमार रम्तेलद्धारा प्रस्तुत लेख ।

Related Articles

Back to top button