‘अपराध संहिता’ संशोधन गर्न कानून मन्त्री ढकाललाई ख्रीष्टियान समुदायको ध्यानाकर्षण

भदौ ०७५ । काठमाडौं । यही भदौदेखि लागू भएको मुलुकी अपराध संहिता २०७४ ले अल्प संख्यक ख्रीष्टियान समुदायलाई असर पार्न सक्ने भन्दै ख्रीष्टियान समुदायका अगुवाहरुले कानुन मन्त्री भानुभक्त ढकाललाई भेटी सरकारको ध्यानाकर्षण गरेका छन् ।
वुधबार अपराह्न नेपाल ख्रीष्ट्रियान समाज (एनसीएस) र नेपाल राष्ट्रिय मण्डली संगति(एनसीएफ)का पदाधीकारीहरुले सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाललाई भेटी ख्रीष्टियान समुदायको तर्फबाट संयुक्तरुपमा ध्यानाकर्षण गराएका छन् ।  उक्त अवसरमा ख्रीष्टियान अगुवाहरुले मन्त्री ढकालको सफल कार्यकालको कामना गर्दै भदौदेखि लागू भएका अपराध संहिता २०७४, परिच्छेद ९ को धर्म सम्बन्धी कसूरमा उल्लेख भएका दफाहरुको संशोधन गर्न माग गरेका छन्  ।
 सिंहदरबारस्थित मन्त्री ढकालको कार्यकक्षमा पुगी एनसीएस नेपाल र एनसीएफ नेपालको तर्फबाट मन्त्री ढकाललाई एनसीएफ नेपालका अध्यक्ष रेभ सूर्यबहादुर (हनोक) बल तामाङले संयुक्त ध्यानाकषर्ण पत्र हस्तान्तरण गर्नुभयो । त्यसैगरि एनसीएस नेपालका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठ, एनसीएफ नेपालका महासचिव शेरबहादुर एसी,रेभ हर्क खड्का, पास्टर विश्व देब खड्का, पास्टर पावल वस्नेतलगायतकाहरुले मन्त्री ढकाललाई खादा ओढाएर पुष्पगुच्छा प्रदान गरि सफल कार्यकालको कामना गर्नुभयो । सोही अवसरमा मन्त्री ढकालको कार्यकक्षमा प्रदेश नं.०३ का मुख्य मन्त्री डोमरणी पौडेलसँग पनि ख्रीष्टियान अगुवाहरुको भेट भएको छ ।
एनसीएस नेपाल र एनसीएफ नेपालको तर्फबाट अध्यक्षलगायतकाहरु, एनसीएफ नेपालका नव नियुक्त महासचिव शेरबहादुर एसी, एनसीएफ नेपालका कोषाध्यक्ष पास्टर विश्व देब खड्का लगायतकाहरुको उपस्थिति थियो भने एनसीएस नेपालको तर्फबाट सचिव रेभ पास्टर मुकुन्द शर्मा, रेभ पास्टर हर्क खड्का र पास्टर पावल वस्नेतको सहभागीता रहेको थियो ।
कानून मन्त्री ढकालले एनसीएस नेपाल र एनसीएफ नेपालको तर्फबाट ध्यानाकषर्ण पत्र ग्रहण गरेपछि त्यस बारे अध्ययन गरेर ख्रीष्टियन अगुवाहरुलाई जानकारी दिने प्रतिक्रिया दिनुभयो ।

Related Articles

Back to top button