तिमीहरुका गुरु र पिता छैन नि

डा. बाल कृष्ण शर्मा, पिएचडी

परिचयः
केही समय पहिले एकजना वृद्ध उमेरका व्यक्तिले मलाई सोध्नुभयो, ‘‘बाबु, मैले कसरी मेरो छोरो वा नातिसरह उमेरको व्यक्तिलाई पास्टर बुवा भन्नु, के उनलाई पास्टर भाइ भन्न मिल्दैन ?’’” मलाई जवाफ दिन अलि अप्ठ्यारो लाग्यो । अप्ठ्यारो मान्दै मैले भने, मिल्छ नि, किन नमिल्नु र, हामी सबै ख्रीष्टमा दाजुभाइ र दिदीबहिनीहरू हौँ । हामीमा सानो र ठूलो, उच्च र निचको भावना हुनुहुँदैन । धेरै व्यक्तिहरूले पास्टर गुरूबा, वा पास्टर बा वा पास्टरनी गुरूआमा, वा पास्टरनी आमाका सम्बन्धमा बाइबलले के भन्छ भन्ने बारेमा केही विश्लेषणात्मक लेख लेखिदिनका लागि अनुरोध पनि गर्नुभएको थियो र आज यसै विषयको सेरोफेरोमा रहेर यस विषयलाई सम्बोधन गर्ने कोशिश गरिरहेको छु । कसैले पनि यस विश्लेणलाई अन्यथा नलिइ दिनुहुनका लागि अनुरोध गर्दछु । यसभन्दा पहिलेको एक छोटो लेखमा मैले डाक्टरको उपाधिको महत्वका बारेमा चर्चा गरेको थिएँ र पछि समय भएमा रेभरेण्डको बारेमा पनि चर्चा गर्ने कोशिश गर्नेछु । अहिले गुरूबा र पास्टरबाका सम्बन्धमा छलफल गरौँ ।
नेपालको मण्डलीमा प्रचलित भएर गइरहेको एक लोकप्रिय उपाधि गुरूबा वा पास्टरबा हो । यदि मण्डलीमा कसैले सम्बन्धित व्यक्तिलाई त्यो उपाधिबाट सम्बोधन गरेन भने अपमानको अनुभूति गर्नेहरू पनि धेरै छन् । साठी वर्ष उमेरको व्यक्तिले आफूभन्दा कान्छो व्यक्तिलाई पास्टरबा भनी सम्बोधन गर्न सुहाँउछ होला र ? नाताले भाइपर्ने व्यक्तिलाई पास्टर बा भनी सम्बोधन गर्न कति सुहाउँला ? आफूले शिक्षा दीक्षा दिएर हुर्काएको व्यक्तिलाई गुरुबा भनी सम्बोधन गर्दा कति सुहाउँला ? यी उनुत्तरित प्रश्नहरूका बीचमा यसरी सम्बोधन गरिनुपर्ने चाहना कति हदसम्म बाइबललीय हो वा होइन । यो विषयलाई हामीले ध्यानपूर्वक अध्ययन, विश्लेषण र अभ्यास गरिनुपर्छ । नेपालका मण्डलीहरूमा यसरी सम्बोधन गर्ने चलन कहाँबाट र कहिले आयो सो मलाई जानकारी छैन । यसको कुनै सैद्धान्तिक वा बाइबललीय आधारभन्दा पनि यो हाम्रो संस्कृतिबाट आयातित अवधारणा हुनुपर्छ ।
एक हास्यप्रशंगलाई स्मरण गरौँ । मदनकृष्ण र हरिवंश लण्डनको यात्रामा जाँदा उनीहरूले ‘फादर र ‘ग्रान्डफादरको प्रशंगमा ठट्टा गरेका छन् । उनीहरूले अंग्रेजहरूलाई भने, ‘तिमीहरूका देशका पुजाहारीलाई फादर भनिन्छ र हाम्रो देशका पुजाहारीलाई ग्रान्डफादर भनिन्छ अर्थात् तिमीहरूका देशका पुजाहारीलाई बुबा वा पिता भनिन्छ र हाम्रो देशका पुजाहारीलाई बाजे भनिन्छ । उनीहरूले यो प्रशंग हाँसोको लागि ल्याएका भए पनि यसमा केही तथ्य छ । नेपालमा बाबुको बाबुलाई बाजे भनिन्छ । एउटा बाजे पारिवारिक नातासँग सम्बन्धित छ भने अर्को बाजे भनेको पुजाहारी हो जसले धार्मिक कार्य सञ्चालन गर्छ । आÇनो छोरा वा नाति वा पनातिको उमेरको व्यक्तिलाई पनि बाजे भन्ने चलन हाम्रो देशमा छ । यी शब्दहरूका प्रयोगले पनि असमनाताको सम्बोधन गरिरहेको हुन्छ । हाम्रा भाषाले असमान व्यवहारलाई सम्बोधन गरिरहेको हुन्छ जुन विषयमा हामी अनभिज्ञ हुनसक्छौँ र हामीलाई त्यही नै महत्वपूर्ण र अनिवार्य हो जस्तो भान परिरहेको हुन्छ । यसैले हामी प्रभुका सेवक तथा सेविकाहरूले यी विभिन्न शब्दहरूका प्रयोगमा बडो होशियारी अपनाउनुपर्छ ।
अब म बाइबलमा प्रयोग भएका वरदानहरूका बारेमा चर्चा गर्दै हामीले हाम्रा लागि गुरू र पिता प्रयोग गर्नु बाइबलीय हो वा होइन भन्ने बारेमा छलफल गर्नेछु । यस विषयमा गम्भिरताकासाथ विचार गरिदिनुहुनका लागि पनि अनुरोध गर्न चाहन्छु ।
१. बाइबलमा उल्लेख गरिएका सेवाका वरदानहरू
बाइबलमा वरदानहरूलाई तीन मुख्य भागहरूमा विभाजन गरिएको छ । यी सबै वरदानहरूका उद्देश्य सम्पूर्ण मण्डलीलाई विभिन्न सेवाहरूका निम्ति तयार पार्नु हो । यी वरदानहरूका बारेमा पछि अर्को लेखमा विस्तारित अध्ययन गर्ने कोशिश गरिनेछ र अहिले हाम्रो अध्ययनलाई यी तीन किसिमका वरदानहरू के के हुन् भन्ने बारेमा सीमित गरौँ ।
क) सेवाका वरदानहरू : प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू, शिक्षकहरू (एफिसी ४ः११)
ख) अन्य सेवाका वरदानहरू : अगमवाणी, सेवा, शिक्षा, अर्ती, दिने, दान दिने, शासन गर्ने, कृपाको काम गर्ने (रोमी १२ ः६–८)
ग) पवित्र आत्माका वरदानहरू : बुद्धिको वचन, ज्ञानको वचन, विश्वास गर्ने, रोग निको पार्ने, आश्चर्य कामहरू गर्ने, अगमवाणी गर्ने, आत्माहरू छुट्याउन सक्ने, भिन्नभिन्न किसिमका भाषाहरू बोल्ने, भाषाहरूको अर्थ खोलिदिने (१ कोरिन्थी १२ ः७–१०) ।
क) सेवाका वरदानहरू
यस सेवाका वरदानहरू अन्तर्गत एफिसी ४ः११ मा उल्लेख गरिएका वरदानहरू हुन् । यी सेवाका वरदानहरूचाहिँ प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू, शिक्षकहरू हुन् । मण्डलीका सेवाका निम्ति सबै वरदानहरू आवश्यक र महत्वपूर्ण छन् र सम्पूर्ण वरदानहरूका उद्देश्य ख्रीष्टको शरीरलाई निर्माण गर्नु र सेवाका काम गर्न सन्तहरूलाई सुसज्जित बनाउनु हो । मण्डलीलाई बलियो बनाउनका लागि यी वरदानहरूलाई प्रयोग गर्नुपर्नेहुन्छ । बाइबलमा सेवाका वरदानहरूलाई बहुवचनमा प्रयोग गरिएको छ र यस प्रयोगले सामुहिक सेवाको अर्थ दिन्छ ।
मण्डलीसँगको सेवामा दिनप्रतिदिन परिचालन हुने वरदानहरूचाहिँ पास्टरहरू र शिक्षकहरूका वरदानहरू हुन् । यी दुइ वरदानहरू एकसाथ प्रयोग हुन्छन् । प्रेरित २०ः२८, फिलिप्पी १ ः१, १तिमोथी ३ः१, १तिमोथी ३ः५,७, १पत्रुस ५ः१,२ मा पावल र पत्रुसले आफू एल्डरहरूका रूपमा अरू एल्डरहरूलाई उनीहरूका रेखदेखमा रहेका परमेश्वरका बगालको हेरचाह गर्नका लागि आग्रह गरेका छन् । यसैले पास्टरहरूलाई एल्डरहरू र वा विशपहरू पनि भनी बाइबलमा प्रयोग भएको छ । अब पास्टर वा एल्डर वा विशपको कार्य के हो त ? उनीहरूको कार्य मण्डलीमा गोठालाको कार्य हो । गोठालोको अर्थ बगालको हेरचाह गर्नु हो । विश्वासीहरूलाई वचन खुवाउनु, सुरक्षा गर्नु, नेतृत्व दिनु, उत्साह दिनु, सेवाको लागि प्रेरणा दिनु र ख्रीष्टको स्वरूपमा निर्माण हुनका लागि सहयोग गरी येशू ख्रीष्टको मिसनलाई पूरा गर्नु हो । परमेश्वरका सेवक तथा सेविकाहरूका बोलावट कहिल्यै ओहोदासँग जोडिएको छैन । महान् हुन चाहने चेलाहरूलाई येशूले भन्नुभयो, “जो कोही महान् हुन चाहन्छ भने ऊ सबैको कमारो बनोस् ।” हामीलाई त्यस सेवामा बोलाइएको छ र उहाँलाई यसरी नै सेवा गर्नेछु भनी हामी स्वेच्छाले प्रभुको सेवामा प्रवेश गरेका छौँ र हामी यस नम्रताका सेवामा विश्वासयोग्य हुनुपर्छ । हामीले हाम्रा जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर उनीहरूका निम्ति उदाहरण भएर सेवा गर्नुपर्छ । यो उदाहरण नै नम्रताको उदाहरण हो । आज हामीले के बोल्छौँ, के सिकाउँछौँ भन्ने भन्दा पनि हामी कसरी जिउँछौँ आज सबैले त्यही हेरिरहेका छन् । हाम्रो जीवनशैली हाम्रा शब्दहरूभन्दा चर्को स्वरमा बोल्छ । हामी हाम्रो उदाहरणका जिम्मेवारी हुन्छौँ ।
२. तिमीहरूका गुरू, पिता र मालिक छैन
अब हामी हाम्रो यस लेखको मुख्य विषयमा आऔँ । मत्तीको सुसमाचार २३ः८–१२ मा येशूले भीडहरू र आÇना चेलाहरूलाई यसो भन्नुभयो‘”तर तिमीहरूलाई कसैले ‘गुरूज्यू नभनोस् किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाज्युभाइ हाँै । तिमीहरू पृथ्वीमा कसैलाई आÇना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ । तिमीहरूलाई कसैले ‘मालिक नभनोस् किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ । तिमीहरूमध्ये जो सबैभन्दा उच्च छ, त्यो तिमीहरूको सेवक हुनेछ । जसले आफूलाई उच्च पार्छ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ ।”
यी माथि उल्लिखित येशूले भन्नुभएका वचनको आसय के हो त ? के यी पिता, गुरूज्यू, र मालिक शब्दहरूलाई प्रयोग नै गर्न नमिल्ने हो त ?
विभिन्न सन्दर्भका यी शब्दहरू प्रयोग भएका छन् । यी शब्दहरू पारिवारिक सम्बन्ध वा शैक्षिक सम्बन्ध वा व्यवसाय सम्बन्धमा प्रयोग भएका पाइन्छ । सेवा वा सेवकहरूका सम्बन्धमा चेलाहरूले यी शब्दहरूलाई परमेश्वरका गुणलाई अभिव्यक्त गर्नका लागि प्रयोग गरेका छन् । यी शब्दहरू ओहोदा वा पदभन्दा पनि सेवाका भावनामा जोडिएका छन् ।
आज रोमनक्याथोलिक लगायत धेरै चर्चहरूले पास्टर वा सेवकका लागि पिता, बुबा वा फादर शब्दलाई प्रयोग गरेका छन् । यसको शुरूवात रोमनक्याथोलिक चर्चको शुरूवातबाट भएको हो । क्याथोलिक चर्चका मुख्य पुजाहारीलाई पोप भनिन्छ र पोप पनि अब्बा वा पिता शब्दबाट आएको हो । यसलाई ओहोदासँग प्रयोग गर्न थालियो । यसरी शुरूमा येशूले सिकाउनुभएको दासको सेवाभन्दा पनि सम्मान र पदवी र ओहोदाले स्थान लिन थाल्यो । हामी प्रभुको सेवा गर्ने सेवकहरूले ध्यानसँग सेवक र सेवासबन्धी येशूको शिक्षालाई राम्रोसँग बुझ्नुपर्छ ।
नेपाली भाषामा विभिन्न भाषाबाट ल्याइएका र अहिले प्रयोगमा रहेका धेरै शब्दहरू छन् । यी शब्दहरूलाई आगन्तुक शब्दहरू भनिन्छ । अरू भाषाबाट लिइएका शब्दहरूलाई मौलिक भाषाको भाग बनाइन्छ । हामीले बाइबलका कतिपय शब्दहरूलाई यसको मूल भाषा अनुसारको शब्द हाम्रो भाषामा प्राप्त गर्न सकेनौँ भने हामीले आगन्तुक शब्दहरूका रूपमा जस्ताको तस्तै प्रयोग गर्न सकिन्छ । उदाहरणको लागि संस्कृत भाषाबाट आएको गुरू शब्दको खास अर्थ ‘मार्ने व्यक्ति भन्ने हुन्छ । गुरूले एक शिष्यको अज्ञानतलाई मार्ने काम गर्छ । बाइबलमा प्रयोग गरिएको पास्टर शब्दको अर्थ गोठालो हो । यसको अर्थ हेरचाह गर्ने व्यक्ति, जुटाउने व्यक्ति, सरोकार राख्ने व्यक्ति भन्ने हुन्छ । यसैले पास्टरलाई गुरू भन्नु बाइबलीय दृष्टिकोणअनुसार त्यति उपयोगी हुँदैन । यसैले हामीले बाइबलमा प्रयोग गरे अनुसार पास्टर नै भन्नु उपयुक्त हुन्छ । पास्टरलाई पिता वा बुबा भन्न पनि उपयुक्त हुँदैन र यो क्याथोलिक पोपबाट आएको धारणा हो र प्रभु येशूले भन्नु भए अनुसार हामीले परमेश्वरबाहेक अरू कसैलाई पनि पिता वा बाबु भन्नु हुँदैन । यदि हामीले कुनै बयोवृद्ध व्यक्ति वा आÇनो बाबु सरहको उमेर भएको कुनै पनि व्यक्तिलाई मानविय सम्बन्धलाई उल्लेख गर्नका लागि बाबु वा आमा शब्दद्वारा सम्बोधन गर्न सकिन्छ तर कुनै व्यक्तिलाई उसको ओहोदालाई सम्बोधन गर्नका लागि यो शब्दको प्रयोगलाई बाइबलले मनाही गरेको छ ।
बाइबलमा भएका कतिपय ग्रीक शब्दहरूलाई हामीले आगन्तुक शब्दहरूका रूपमा प्रयोग गर्दा शुरूमा मानिसहरूले यसलाई सजिलैसँग नबुझे पनि हामीले बुझाउनु पर्छ । हामीले पास्टर, एल्डर, डिकन शब्दहरूलाई आगन्तुक शब्दहरूका रूपमा प्रयोग गर्यौँ भने यसलाई स्वीकार गर्न त्यति कठिन पर्दैन । यसैले हामी ओहोदाको भाषा भन्दा सम्बन्धको भाषालाई प्रयोग गरौँ । यदि कोही पास्टर, एल्डर विशप वा डिकन तपाईंले बुबा, आमा, दाइ, भाइ, दिदी वा बहिनी भन्नुपर्ने उमेरका छन् भने त्यसरी नै सम्बोधन गर्नुहोस् । यसले हामीलाई आहोदाको भन्दा सम्बन्धको महत्वमा जोड दिन्छ र यो स्वस्थकर हुन्छ । रोमन क्याथिलिक चर्चको तरीकालाई प्रयोग गरी आज धेरै चर्चहरूले फादरहरू भनी प्रयोग गरेका अभ्यासहरू ओहोदाबाट सञ्चालित छन् र यसको प्रयोग बाइबल सम्मत छैन ।
के हामी ख्रीष्टलाई सेवा गर्नका लागि बोलाइएका छौँ ? यदि यसो हो भने, येशूले भन्नुभएका कुरालाई फेरि एकपल्ट ध्यान दिऊ तर तिमीहरूलाई कसैले ‘गुरूज्यू नभनोस् किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाज्युभाइ हाँै । तिमीहरू पृथ्वीमा कसैलाई आÇना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ ।”

Related Articles

Check Also
Close
Back to top button