ख्रीष्टियन मिडिया समिट २०१८ सम्पन्न

२ चैत्र ०७४ । काठमाडौं लगायत देशका केही ख्रीष्टियन मिडिया र अमेरिकास्थित ख्रीष्टियन प्लेटफोर्मको संयुक्त आयोजनामा गत फागुन २९ गते मंगलबारका दिन राजधानी काठमाडौंमा सफलतापूर्वक ख्रीष्टियन मिडिया समिट २०१८ सम्पन्न भएको छ ।

देश तथा विदेशका रहेका नेपालीभाषी मिडियाहरूलाई समेटेर सुव्यवस्थित गर्नु र नेपाली मिडियाको सञ्जाल निर्माण गर्नु खाँचो रहेको निष्कर्ष सो भेलाले निकालेको हो । सो समिटमा तुरही पत्रिकाका प्रमुख संवाददाता सुनिलराज लामाले आमन्त्रितहरूलाई स्वागत गर्नुभएको थियो । अमेरिकास्थित ख्रीष्टियन प्लेटफोर्मका अध्यक्ष तथा संस्थापक अब्राहाम दियालीले मिडिया समिट आयोजना हुनुको उद्देश्यका वारेमा प्रकाश पार्नुभयो भने सामाजिक अभियन्ता तथा पत्रकार थिर के.सी.ले वचनबाट उत्साह दिनुभयो । वचन पत्रिकाका प्रकाशक विश्वास थापाले सामुहिक छलफललाई अगुवाइ गर्नुभएको थियो । पाँच समुहमा विभाजित भई पाँच विषयमाथि गहन छलफल गरिएको थियो भने त्यसैगरी विभिन्न पाँच वटा बुँदामा सामुहिक छलफलबाट आएको निष्कर्ष पत्रकार भुवन देवकोटाले वाचन गरेर सुनाउनुभएको थियो ।

सो मिडिया समिटमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वि.गहतराज, नेसनल चर्चेज फेलोसिप अफ नेपालका अध्यक्ष रेभरेण्ड हनोक तामाङ, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठ, आमुल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरी र सामाजिक अभियन्ता राजेन्द्र पौडेलले बधाई तथा शुभकामना मन्तब्य राख्दै आगामी दिनमा ख्रीष्टियन मिडियाले समाजमा असल सन्देश दिंदै सत्य तथ्य समाचारमा केन्द्रित रही समाचार संलेश्षण गर्न सकोस् भन्ने कामना दिनुभएको थियो ।

पास्टर चन्द्रमान नेपालीले शुरुको प्रार्थना गरी सुरु गरिएको समिट कार्यक्रमलाई गुड न्यूज एफएमका प्रोग्राम कोअडिनेटर कुमार सिंह विष्टले सञ्चालन गर्नुभएको थियो भने अन्तमा युवा दर्शन पत्रिकाका प्रमुख तथा संस्थापक दिनेश श्रेष्ठले कार्यक्रममा सहभागी सवैलाई धन्यवाद दिनुभएको थियो । त्यस लगत्तै रेभरेण्ड शामुएल सोदेम्बाले अन्तिम आशिषको प्रार्थना गर्नु भएपछि सो समिट समापन गरिएको थियो ।

 

Related Articles

Back to top button