३२५ जनालाई निःशुल्क डकर्मी तालिम

लामाचौर, पोखरा ।
सहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा पोखरेली ख्रीष्टिय समुदायको सामाजिक अंग असल छिमेकी नेपालले विभिन्न चरणमा गरी गोरखाका ३२५ जनालाई डकर्मी तालिम प्रदान गरेको छ । यही कात्तिक २७ गते पोखरा पोलिटेक्निक इन्स्टिच्युट, लामाचौरमा आयोजित डकर्मी तालिम समापन कार्यक्रममा बोल्दै असल छिमेकी नेपालका निर्देशक राजु अधिकारीले दक्ष जनशक्तिको अभावमा भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी हुन नसकेको अवस्थामा असल छिमेकीले डकर्मी तालिम सञ्चालन गरेको बताए । उनले सम्पूर्ण तालिमको खर्च १ करोड ८५ लाख पुगेको जानकारी दिए । उनले तालिम निशुल्क जस्तो देखिए पनि यसमा कसै न कसैले गाँस काटेर खर्चको जोहो गरिदिएकोले यसलाई कृतज्ञताका साथ जीवनव्यवहारमा ग्रहण गरी लाभ लिन आग्रह गरे ।
समापन कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाका इन्जिनियर रोशन श्रेष्ठ प्रमुख अतिथि थिए । उनले भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा करिब ६०,००० घर निर्माण गर्नुपर्ने भए पनि हालसम्म जम्मा १४,००० मात्र निर्माण भएको र बाँकी घरहरू पनि छिटो बनाउन चाहे पनि जनशक्तिको अभावमा कामले गति लिन नसकेको बताए । युवाहरू प्रायः वैदेशिक रोजगारीमा भएकाले तालिम लिने मानिसको समेत अभाव भएकोमा चिन्ता प्रकट गरे । निर्माणका काममा भारतीय श्रमिकहरू ल्याउनुपर्ने अवस्थामा यो तालिम निकै अर्थपूर्ण रहेको उनको धारणा थियो ।
तालिमका प्रशिक्षकहरू इन्जिनियर किसनसिं गुरुङ र इन्जिनियर धु्रव गुरुङ थिए । तालिम समापनमा बोल्दै प्रशिक्षक इन्जिनियर किसन सिं गुरुङले असल छिमेकी नेपालले नाम जस्तै असल काम गरेको बताए । भवन विभागमा ३६ वर्ष काम गर्दाभन्दा यो क्षण आफूलाई बढी सन्तुष्टि मिलेको पनि उनले बताए । तालिम लिएकामध्ये ७० प्रतिशतले यही सीपलाई पेशा बनाएका जानकारी इन्जिनियर गुरुङले दिए । कार्यक्रममा विशेष अतिथि नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्य । उनले तालिम लिएका व्यक्तिहरूलाई सबैका निम्ति चाहिने जनशक्तिका रुपमा आफूलाई लिन आग्रह गरे । कार्यक्रममा तालिममा सहभागीहरूलाई प्रमाणपत्रका साथै निर्माण औजारहरू तथा सुरक्षाका सामग्रीहरू प्रदान गरिएको थियो । रुप्सा, लेबल, काँटी घन, घण्टी, जाबेल, बटाम, हेल्मेट, झोला र ज्याकेट छन् ।
पोखरा पोलिटेक्निक इन्स्टिच्युट, लामाचौर र पिस पोलिटेक्निक इन्स्टिच्युट, काठमाडौंमा विभिन्न चरणमा तालिम सञ्चालन गरिएको थियो । असल छिमेकी नेपालका प्राविधिक संयोजक सुमन बयलकोटीका अनुसार असल छिमेकीले छिटै प्लम्बर र इलेक्ट्रिकल तालिम पनि दिने योजना पनि बनाएको छ । कार्यक्रममा असल छिमेकी नेपालका अध्यक्ष भरत गुरुङ, पोखरेली ख्रीष्टिय समुदाय विपद् व्यवस्थापन समितिका संयोजक पा. हरि राम घिमिरे, पोखरा पोलिटेक्निकका सञ्चालकहरू छबेन्द्र थापा, दिलबहादुर थापा, सञ्जयकुमार अधिकारीलगायतको उपस्थिति थियो ।

Related Articles

Back to top button