शिक्षामूलक कथा

घर निर्माण गर्दै बेच्ने एउटा निर्माण कम्पनीमा वर्षौंदेखि काम गर्दै आएको एकजना कर्मचारी थियो । कम्पनीमा उसको जिम्मेवारी घर निर्माणको समयमा निरिक्षण/सुपरिवेक्षण गर्ने र काममा कुनै पनि कमीकमजोरी आउन नदिने थियो ।

बुढेसकाल लागिसकेका कारण अब जागिरबाट विदा लिने निष्कर्ष निकालेर एकदिन उ कम्पनीको मालिककहाँ गयो । उसको निर्णयले कम्पनी मालिकलाई स्तव्ध बनायो । मालिकले उसलाई बीचमै काम नछोड्न र कम्तीमा एउटा अर्को घरको काम सकेर मात्रै विदा लिन अनुरोध गर्यो । मालिकको यस्तो अनुरोधपछि उक्त कर्मचारी धर्मसंकटमा पर्यो । उसले आजसम्म कहिल्यै पनि मालिकको कुरामा नाइनास्ती गरेको थिएन । गह्रौँ मन गरेरै सही,त्यतिबेला पनि उसले हुन्छ भन्यो ।

भोलिपल्टदेखि उसले नयाँ घरको निरिक्षण र सुपरिवेक्षणको काम थाल्यो । छोड्ने निष्कर्षमा पुगेर पनि काम गर्नुपरेकोमा वाक्क भएको उक्त कर्मचारीले त्यो घरको काममा धेरै ध्यान दिएन । सुपरिवेक्षकले नै खासै ध्यान नदिएकाले उक्त घर न त राम्रो बन्न सक्यो न त बलियो नै ।

जे होस्, घरको काम सकियो । कर्मचारी फेरि मालिककहाँ पुग्यो र आफूले काम सकेकाले अबचाहिँ विदा दिन अनुरोध गर्यो । त्यसपछि आँखाभरी आँसु बनाउँदै मालिकले उसको मेहनतकाे लागि धन्यवाद दियो । धन्यवाद दिएपछि टेबलको ड्रयर खोल्यो र चाबीको झुप्पाे निकाल्यो । त्यस चावीको झुप्पो कर्मचारीको हातमा थमाउँदै उसले भन्यो, “तिमीले अन्तिममा काम गरेर बनाएको घर कम्पनीको तर्फबाट तिमीलाई उपहार !”
यति सुनेपछि उक्त कर्मचारी झसङ्ग भयो र आफूलाई यो कुरा पहिले नै थाहा भएको भए कति असल हुन्थ्यो भन्ने अफसोस गर्दै घर गयो ।

शिक्षा:
१) हामीले बोझ सम्झेका कतिपय कामहरू वास्तवमा हाम्रा निम्ति फाइदाका पनि हुन सक्छन् ।

२) जीवनका सबै कुराहरूको कारण वा जवाफ हामीलाई अहिल्यै नमिल्न पनि सक्छ । कारण वा जवाफ मिले पनि नमिले पनि हाम्रो जिम्मेवारीबोध गरी ती पूरा गर्नबाट हामी चुक्नुहुँदैन ।

पुनश्च: यो बिभिन्न व्यक्तिले बिभिन्न स्वरूपमा बिभिन्न शिक्षा प्रदान गर्ने उद्देश्यले प्रयोग गर्दै आएको कथा हो ।

Related Articles

Back to top button