३१ अक्टोबर १५१७ लाई सुधारवादको सुभारम्भको औपचारिक दिन मानिन्छ जुन दिन मार्टिन लुथरले विटेनबर्ग मण्डलीको भित्तामा ९५ ओटा बुँदा टाँसिदिएका थिए । आज सुधारवादले ५०० वर्षको टाकुरालाई चुमेको छ । क्याथोलिक मण्डलीबाट भएको विशाल फुट थियो, सुधारवाद । मार्टिन लुथर, जोन काल्भिन, अलरिच ज्विङ्ग्ली, जोन नक्ससाथै अन्य प्रारम्भिक सुधारवादीहरूले यसको थालनी गरेका थिए । सोर्हौँ शताब्दीमा युरोपमा थालनी भएको यो मण्डली सुधारको ज्वाला द्रुतगतिमा विश्वभरि फैलँदै नेपालसम्म आइपुग्यो जहाँ यो बेसरी दन्किरहेको छ ।

सुधारवादको मुटुमा चारवटा प्रश्न पर्छन्: (१) एउटा व्यक्तिले कसरी उद्धार पाउँछ? (२) धार्मिक अख्तियार कहाँ खडा छ? (३) मण्डली भनेको के हो? (४) ख्रीष्टियान जीवन-यापनको सार के हो? यिनै प्रश्नहरूको जवाफको लागि सुधारवादीहरूले केही अवधारणाहरूको विकास गरे जसलाई “पाँचवटा केवल” को रूपमा चिनिन्छ । यी पाँचवटा बाइबलीय सिद्धान्तले सुधारवादलाई क्याथोलिकवादबाट प्रस्ट रूपमा अलग गराउँछन् ।

(१) केवल धर्मशास्त्रः विश्वास र अभ्यासका सबै गतिविधिका लागि बाइबल एक मात्र अख्तियारधारी पुस्तक हो । मण्डलीका सबै शिक्षा र परम्परालाई यसले नै मापन गर्नुपर्छ ।
(२) केवल अनुग्रहबाट उद्धारः उद्धार परमेश्वरको अनार्जित दया हो । कुनै पनि कामबाट नभई उहाँको अनुग्रहबाट मात्र हामीले परमेश्वरको क्रोधबाट छुटकारा पाएका छौँ ।
(३) केवल विश्वासद्वारा उद्धारः व्यवस्थाका कामहरूबाट नभई ख्रीष्टमाथि गरिएको विश्वासद्वारा मात्र हामीले उद्धार पाउँछौँ ।
(४) केवल ख्रीष्टमाः उद्धार ख्रीष्टमा मात्र पाइन्छ । अरू कसैले वा कुनै कुराले मानिसलाई बचाउन सक्दैन । हाम्रो धर्मीकरण र परमेश्वरसित हाम्रो मिलापको लागि क्रुसमा येशूको स्थानापन्न मृत्यु पर्याप्त छ ।
(५) केवल परमेश्वरको महिमाको लागिः उद्धार परमेश्वरको हो; उहाँले नै यसलाई पुरा गर्नुहुन्छ; र यो केवल उहाँको महिमाको लागि हो । हामी उहाँको अख्तियारमुनि उहाँको महिमाको लागि जिउनुपर्छ ।