थोमस डब्लु. विलसनका पिता डा. जोसेफ आर. विलसन पास्टरसाथै सेमिनारका प्राध्यापक थिए । बुबा आमा नै छोरा थोमसप्रति निकै समर्पित थिए । तिनीहरूले छोरोलाई दैनिक बाइबल अध्ययनमा तालिम दिन्थे । संसारलाई ख्रीष्टियान परिप्रेक्ष्यबाट हेर्नुपर्छ भनी तिनीहरूले थोमसलाई सिकाउने गर्थे ।

किशोर अवस्थामा येशू ख्रीष्टलाई ग्रहण गरेका थोमसले मानव-जातिसित परमेश्वरले बाँध्नुभएको करारको विषयमा राम्ररी सिकेका थिए । मानिसहरूलाई परमेश्वरले आज्ञाहरू दिनुभयो जसद्वारा तिनीहरू जिउनुपर्छ र उहाँमाथि भर पर्नेहरूलाई उहाँले आफ्ना प्रतिज्ञाहरू पनि दिनुभयो ।

राजनीति शास्त्रमा विद्यावारिधि पुरा गरेका थोमसको मुख्य विश्वास यही थियो कि परमेश्वरले संसारमा शासन गर्नुहुन्छ र मानिसहरू उहाँको इच्छामा रहेर यस संसारमा उहाँका सेवकहरू बन्नुपर्छ ।

अन्ततः यी थोमसलाई सारा दुनियाँले वुडरो विलसनको नाउँले चिन्यो जो इतिहासमा आजकै दिन अर्थात् ५ नोभेम्बर १९१२ मा अमेरिकाको अट्ठाइसौँ राष्ट्रपतिमा चुनिए । तिनी ख्रिस्टाब्द १९१३-१९२१ सम्म राष्ट्रपति पदमा रहेका थिए । तिनका आदर्शहरूले ख्रीष्टियान शिक्षा र ख्रीष्टियान विश्वासमा जरा गाडेका थिए । दुई कार्यकाल राष्ट्रपति बनेका विलसन लेखकसाथै विद्वान् पनि थिए । १९१९ को नोबेल शान्ति पुरस्कार हात पारेका तिनी एक भक्त ख्रीष्टियान थिए ।

यी तिनै राष्ट्रपति हुन् जसले बाइबलको विषयमा यसो भनेका थिए, “जीवनको अर्थ, परमेश्वरको स्वभाव र मानिसहरूका आत्मिक स्वभावसाथै खाँचोको बारेमा बाइबल प्रकाशको एक मात्र सर्वोच्च स्रोत हो । यो जीवनको एक मात्र मार्गदर्शक हो जसले आत्मालाई शान्ति र उद्धारको मार्गमा वास्तवमै अगुवाइ गर्छ ।”

  • Kamal Adhikari