१ डिसेम्बर १९५५ का दिन रोजा पार्कले विनाउद्देश्य यस्तो केही गरिन् जसले समर्पित नागरिकहरूको एउटा समूहलाई प्रेरित गर्‍यो र संसारमा परिवर्तनको थालनी भयो । अमेरिकाको अलाबामा राज्यमा पर्ने मोन्टगोमरीमा काम सकेर घर जानलाई उनले एउटा सार्वजनिक बस समातिन् र उनी पछाडिपट्टिको सिटमा बसिन् । बस चाँडै नै भरियो । श्वेत (सेतो छाला भएको ) मानिस बसमा चढ्दा तिनले कुनै सिट पाएनन् । बस ड्राइभरले अफ्रिकी-अमेरिकीहरूलाई सिट छाड्न अनुरोध गर्दा रोजाले इन्कार गरिन् । फलतः उनलाई गिरफ्तार गरियो ।

अमेरिकामा यस प्रकरणलाई नागरिक हक अभियानको आरम्भको रूपमा हेरिन्छ । केही दिनभित्रमा नै अफ्रिकी-अमेरिकीहरूले विरोधस्वरूप बस छाड्न छाडे र तिनीहरूले झण्डै एक वर्षसम्म नै यसलाई निरन्तरता दिए । यात्राको लागि तिनीहरू पैदलै हिँड्थे वा तिनीहरूले अन्य साधनहरूको प्रयोग गर्थे । श्वेत र अश्वेतबिच बसमा गरिने यो किसिमको विभेदलाई लिएर अफ्रिकी-अमेरिकीहरू अदालतसम्म पुगे । रोजाले श्वेत मानिसलाई सिट दिन इन्कार गरेको एक वर्ष पनि बित्न नपाउँदै अमेरिकाको सर्वोच्च अदालतले त्यो विभेदकारी नियमलाई अवैधानिक ठहर्‍यायो । रोजाको सानो कदमले ठुलै हलचल ल्याइदियो ।

ख्रिस्टाब्द १९१३ मा अमेरिकामा जन्मेकी रोजालाई “नागरिक हककी प्रथम केटी” र “स्वतन्त्रता अभियानकी आमा” को रूपमा आदर गरिन्छ । उनी नागरिक हक अभियानकी एक अभियन्ता थिइन् । उनको त्यो सानो कदमले अमेरिकामा मात्र नभएर संसारमा नै रङ्गभेद विरुद्धको आन्दोलनमा आगो सल्काएको थियो ।

रोजा एक भक्त ख्रीष्टियान थिइन् जो ख्रीष्टियान परिवारमा हुर्केकी थिइन् । “प्रार्थना र बाइबल मेरो दैनिक जीवनको सोचाइ र विश्वासका भाग थिए”, पछि उनले लेखिन्, “परमेश्वरमाथि मेरो भरोसा राख्न र उहाँलाई मेरो शक्तिको रूपमा खोजी गर्न मैले सिकेकी छु ।” यस्तो कदमको लागि उनलाई निश्चय नै परमेश्वरको शक्तिको खाँचो थियो ।

त्यस दिन कुनै अभियानको सुरुवात गर्ने रोजाको मनसाय थिएन । उनी केवल अन्याय देखेर थकित भएकी थिइन् । अगमवक्ता यशैया भन्छन्, “भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ” (१:१७) ।