१७४८ को कुरो हो । पानी जहाज आफ्नै गतिले समुद्रमा अगाडि बढ्दै गर्दा प्रचण्ड आँधी आयो । “जहाज डुब्न लाग्यो !” भन्ने हताशपूर्ण चिच्च्याहट आयो । बिहानसम्ममा तुफान केही हदसम्म मत्थर भए तापनि नाविकहरूले बाँच्ने आशा गुमाइसकेका थिए । अझै केही दिनसम्म खराब मौसम जारी रह्यो यद्यपि जहाज भने समुद्रमा तैरिरहेको थियो । तिनीहरू कहाँ थिए भन्ने तिनीहरूलाई अत्तोपत्तो थिएन र खाना आगामी सात दिनको लागि मात्र पर्याप्त थियो ।

उक्त जहाजमा आफ्नो जीवन पापको सागरमा डुबाएका भयानक ईश्वर-निन्दक पनि थिए जसको नाउँ हो— जोन न्युटन । तिनले जीवनमा यति धेरै पाप गरेका थिए कि तिनको बुझाइमा त्यसको क्षमा हुनै सक्दैनथ्यो । जहाजको पतवारमा घण्टौँ बिताउँदै तिनले आफ्नो विगतलाई सम्झे । आफ्नो बाल्यकालमा तिनले ख्रीष्टियान शिक्षाको बारेमा केही सिकेको भए तापनि तिनले जीवन दिने ती शिक्षाहरूलाई लत्याएका थिए ।

बाँच्ने कुनै उपाय नदेखेपछि तिनले उही येशूलाई सम्झन पुगे जसको तिनले खिल्ली उडाएका थिए, “हे प्रभु, ममाथि दया गर्नुहोस् ।” परमेश्वरले न्युटनको क्रन्दनलाई सुन्नुभयो अनि मृत्युको मुखबाट तिनलाई बचाउनुभयो । तिनी शारीरिक रूपमा मात्र बाँचेनन्, तर आत्मिक रूपमा पनि । परमेश्वर अनुग्रहको अपार खानी हुनुहुन्छ भन्ने तथ्य जोन न्युटनको परिवर्तनबाट छर्लङ्ग हुन्छ ।

पछिल्ला दिनहरूमा न्युटनको जीवनमा नाटकीय परिवर्तन देखियो । ख्रिस्टाब्द १७२५ मा ग्रेट ब्रिटेनमा जन्मेका तिनी प्रखर ख्रीष्टियान वक्ता, कवि र विश्वविख्यात भजन लेखक बने ।

न्युटनद्वारा रचित अम्याजिङ्ग ग्रेस (उदेकको अनुग्रह) नामक बहुचर्चित भजनलाई नेपाली (ख्रीष्टीय भजन, ५९९) मा पनि अनुवाद गरिएको छ । यो भजन न्युटनको पद्यात्मक आत्मिक जीवनी हो । पापको सागरमा डुबेका न्युटनजस्तो “ईश्वर-निन्दक” लाई पनि परमेश्वरको अनुग्रह यति अपार छ कि जसलाई तिनले “उदेकको” भनेका छन् ।

१८०७ मा ब्रिटिस सरकारले दास प्रथालाई कानुनबाट निर्मूलन गर्दा दास प्रथाको विरुद्धमा तिनले निकालेको पर्चाले उल्लेखनीय भूमिका खेलेको थियो । ८२ वर्षको दीर्घायुमा २१ डिसेम्बर १८०७ मा तिनी प्रभुमा सुते ।

यसरी एक पटकको विधर्मी, ईश्वर-निन्दक, दासदासीहरू ओसार्ने जहाजका कप्तान ख्रीष्टियान भइसकेपछि महान् प्रचारक, भजन लेखकसाथै दासप्रथा उन्मूलनको पक्षपोषक बने ।