२९ डिसेम्बर १८०९ मा इङ्गल्यान्डमा जन्मेका विलियम ग्ल्याडस्टोन चार पटक इङ्गल्यान्डका प्रधानमन्त्री बने । १२ वर्षसम्म यस गरिमामय पदमा रही तिनले देश र जनताको सेवा गरे । १८६८ मा पहिलो पटक प्रधानमन्त्री बनेका तिनको चौथो कार्यकाल १८९२-१८९४ सम्म लम्बिएको थियो । तिनी उन्नाइसौँ शताब्दीका एक सफलसाथै प्रसिद्ध ब्रिटिस राजनीतिज्ञ थिए ।

संसारमा महान् मानिसहरू उत्पादन गर्नमा बाइबलले खेलेको भूमिकालाई तिनले यसरी व्यक्त गरेका छन्, “मेरो समयमा मैले संसारका पन्चानब्बे जना महान् मानिसलाई चिनेको छु, र तीमध्ये सतासी जना बाइबलका अनुयायीहरू थिए ।”

ख्रीष्टियानको हैसियतमा पनि तिनले निकै चर्चा बटुले । येशूको सन्देश सुनाउनलाई तिनले कति धेरै महत्त्व दिन्थे भन्ने कुरा तल उल्लिखित तिनको जीवनको यस हिस्साबाट छर्लङ्ग हुन्छ ।

हरेक दिन सिँढीहरू चढ्दै संसद भवनमा प्रवेश गर्दा तिनले अखबार बेच्ने एउटा ठिटोलाई येशूको प्रेमको विषयमा बताउने गर्थे ।

एक दिन आफ्नो सचिवसँगै ग्ल्याडस्टोन सिँढी चढ्दै गर्दा समाचारपत्रहरू बेच्ने अर्को सानो ठिटोले प्रधानमन्त्रीलाई रोक्दै यसो भन्यो, “मिस्टर ग्ल्याडस्टोन, प्राय: सधैँ तपाईंलाई अखबार बेच्ने केटोलाई सायद तपाईं चिन्नुहुन्छ । हिजो उसलाई रथले कुल्चेको छ र उसलाई बेसरी चोट लागेको छ । ऊ मरणासन्न अवस्थामा छ । उसले उहाँलाई पाउन चाहन्छ ।”

प्रधानमन्त्रीले सोधे, “‘उहाँलाई पाउन चाहन्छ’ भन्नुको मतलब के हो?”

“त्यसको अर्थ ऊ स्वर्ग जान चाहन्छ”, केटोले उत्तर दियो ।

तर तिनको सचिवले यसो भन्दै रोक्न खोज्यो, “त्यो मर्न लागिरहेको केटोलाई हेर्न जाने समय छैन तपाईंसँग । आज तपाईंले गर्ने भाषण कति महत्त्वपूर्ण छ भनेर तपाईंलाई थाहा छ । यसले अङ्ग्रेज इतिहासको धारलाई परिवर्तन गर्न सक्छ ।”

एकै छिन सोचेपछि ग्ल्याडस्टोनले भने, “संसदमा मेरो भाषणभन्दा एउटा अमरणशील आत्माको महत्त्व बढी छ ।” त्यसैले तिनी हतारसँग केटोलाई राखिएको ठाउँमा गए; उसको निम्ति प्रार्थना गरे अनि केटोले येशूलाई स्वीकार गर्योक अनि ऊ प्रभुको घरमा गयो ।

एक/दुई घण्टापछि ग्ल्याडस्टोन संसद भवनमा आइपुग्दा विवाद चरमोत्कर्षमा पुगेको थियो । तिनी ढिलो भएकाले तिनले आफ्नो भाषण भन्ने समयलाई झन्डै गुमाएका थिए । तर तिनले भाषण गरे । अनि विवादमाथि विजय हासिल गरे । त्यसपछि तिनको सचिवले सोध्यो, “सर, कसरी तपाईं त्यस केटोलाई भेट्न जान सक्नुभयो? तपाईंले झन्डै यस्तो महत्त्वपूर्ण भाषण गुमाउनु परेको थियो?”

प्रधानमन्त्रीले जवाफ दिए, “आजको यो भाषण निकै महत्त्वपूर्ण थियो र यो राम्रो कुरो पनि हो, तर त्यस केटोले मुक्ति पाई ऊ स्वर्ग जानुपर्ने कुरो झनै महत्त्वपूर्ण थियो ।”