सुदिप खड्का महिमा मण्डलीको पास्टर हुनुहुन्छ । उहाँले विगत १७ वर्षदेखि पास्टरीय सेवकाइ गर्दै आइरहनुभएको छ । उहाँले पास्टरको रुपमा मण्डलीमा सेवकाइ मात्र नभई सामाजिक कार्य पनि गर्दै आइरहनुभएको छ । वचन मिडिया समूहले पास्टर सुदिप खड्कासँग लिएको अन्तर्वार्ताको सारसंक्ष्ोप यहाँ प्रस्तुत गरिएको छः

 

चर्च सेवकाइ कसरी सुरू भयो ?
म १५ वर्षको हुँदा परमेश्वरले बोलावट दिनुभयो । सिक्दै, बुझ्दै १७ वर्ष अघि महिमा चर्च सुरू भएको हो । हालसम्म काठमाडौं उपत्यकामा ८ वटा चर्चहरू छन् भने उपत्यका बाहिर लगायत भारतमा गरी ३५ वटा भन्दा बढी मण्डलीहरू रहेका छन् ।

यी चर्चहरू कसरी संचालन भइरहेका छन् ?
यो एक बोलावट हो । मण्डलीको संचालक र व्यवस्थापक येशू स्वयम् हुनुहुन्छ । मण्डली व्यवस्थापन बाइबल स्कूलबाट सिक्ने कुरा होइन, पवित्र आत्माको अगुवाइबाट व्यवस्थापन हुनुपर्दछ । मानिसको भूमिका भन्दा परमेश्वरको भूमिका महत्वपूर्ण छ । वास्तवमा हामी व्यवस्थापक हौ, उहाँ मालिक हुनुहुन्छ  । परमेश्वर कुमाले हुनुहुन्छ । उहाँले भाँडाहरू (मण्डली) लाई व्यवस्थापन गर्नुहुन्छ ।

मण्डली बृद्धि कस्तो भइरहेको छ ?
हामी बढाईचढाई गर्दैनौं । हामी बृद्धिमा सहभागी भएका छौं तर हामीले दिएको शिक्षाले होइन । मण्डलीमा आएका बिरामी निको हुन्छन्, अशान्तिमा भएका मानिसहरू शान्ति खोज्दै मण्डलीतर्फ आउँछन्, जातिय प्रथाको अन्धकारबाट छुटकाराको निम्ति आउँछन्, पापबाट छुटकाराको निम्ति मानिसहरु मण्डलीमा आउने गर्दछन् । मानिसहरू विभिन्न बहानामा आए तापनि परमेश्वरले ती सबैलाई उद्धार र मुक्ति दिनुभएको छ । तर पनि प्रेरितको पुस्तकमा भएको बृद्धि परमेश्वरले गर्न सक्नुहुन्छ ।

सन् २००८ सालमा रंगशालामा सम्पन्न चंगाई कार्यक्रमलाई कसरी लिनुभएको छ ?
त्यो नेपाली ख्रीष्टियन समुदायको ऐतिहासिक कार्यक्रम थियो । बिहान नयाँ बानेश्वरको प्रतिनिधि सभामा भएको हलमा १५ सयभन्दा बढी अगुवा पास्टरहरूको भेला भएको थियो । दिउँसो रंगशालामा बृहत कार्यक्रम भएको थियो । ३० हजार भन्दा बढी हामी ख्रीष्टियनहरू जम्मा भएर परमेश्वरको महिमा गरेका थियौं । त्यो वास्तवमा परमेश्वरको अभियान थियो किनभने पहिलो पटक ख्रीष्टियनहरुले रंगशाला प्रयोग गर्न पाएका थिए । त्यहाँ कैयौं विरामीहरू निको भएका थिए, अहिले पनि सो भिडियो गर्न सकिन्छ । यसको प्रभाव कस्तो भयो भनेर एकिन साथ भन्न गाह«ो छ तर राष्ट्रियरूपमा यति धेरै इसाईहरू जम्मा भएकोले प्रभाव त हुने नै भयो । त्यस कार्यक्रमको समितिमा ३७५ जना थिए ।

त्यस्ता राष्ट्रियस्तरको कार्यक्रम फेरि पनि हुनुपर्दछ कि पर्दैन 
होला ?
सबैको समय हुन्छ । पृष्ठभूमि र सान्दर्भिकता हुन्छ । के को लागि वा कुन
उद्देश्यको लागि कार्यक्रम गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामीले एकअर्कालाई उत्साह दिन भने छोड्नु हुँदैन किनभने हामी अल्पसंख्यक समुदायलाई अझ आवश्यक पर्दछ । यदि हाम्रो उद्देश्य ठीक छ भने फेरि पनि गर्दा फरक पर्दैन तर आजको अवस्थामा यो गर्नुपर्दछ वा पर्दैन भन्ने विषयमा म अनभिज्ञ नै छु । यस्ता ठूला कार्यक्रमहरूमा राजनीति गर्ने र व्यक्तिलाई
प्रसिद्ध गर्ने हो भने आवश्यक छैन । स–साना समूहमा यस्ता कार्यक्रम भइरहनु पर्दछ । उत्साहको निम्ति भएपनि यस्ता अभियानहरू भइरहनु पर्दछ ।

सामाजिक कार्यहरूमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
परमेश्वरमा आएपछि घरबाट विभिन्न प्रकारको सतावटहरू खेप्नु प¥यो । सर्लाहीमा रहेको प्रेम प्रधानको अनाथलयमा हुर्केको हुँ म । मलाई कसैले हुर्काउनु भयो, योगदान दिनुभयो । त्यसलाई नै निरन्तरता दिएको हुँ । बाइबलले अझ प्रेरणा दिएको छ । याकूब १ः२१ पदमा अनाथ र विधुवाको हेरचाह गर, यही नै धर्म हो भनेर सिकाएकोले यस पवित्र कार्यमा लाग्ने र गर्ने प्रेरणा मिलेको हो । बाइबलले विश्वासअनुसार कार्य गर भनेकोले पनि हो । हामी ज्योति र नून हौं । ज्योतिले उज्यालो दिन्छ भने नूनले स्वाद दिन्छ । यही सिद्धान्तलाई अभ्यास गरिरहेको छु । हामी इसाई एक हातमा सुसमाचार र अर्को हातमा सामाजिक कार्य लिएर जानु पर्दछ । हामीसँग पैसा छैन भने पनि यस कार्यलाई निरन्तरता दिनुपर्ने दायित्व हो । समाजमा सरसफाई गर्ने, थाकेको, प्यासीहरूलाई पानी दिँदा पनि त्यो महत्वपूर्ण हुन जान्छ । यसरी मेरो जीवनबाट सामाजिक कार्य भइरहेको छ ।

सामाजिक कार्यबाट देश विकासमा सहायता दिन सकिन्छ कि ?
कति सरकारले गर्नुपर्ने कार्यहरू मण्डलीहरूले गरिरहेका छन् । भत्किएका परिवार जोडिएका छन्, विभिन्न कुलतमा परेकाहरूले छुटकारा प्राप्त गरेका छन्, सामाजिक कार्यमा मण्डलीका मानिसहरूको भूमिका महत्वपूर्ण रहिआएको छ । यसरी विभिन्न माध्यमबाट देश विकासमा सहयोग गरिआएको छ ।

परिवार महत्वपूर्ण छ कि सेवकाइ ?
हाम्रो सबैभन्दा ठूलो शत्रु शैतान हो । शत्रुले परिवारलाई छुटाउन सक्यो भने त्यो सफल हुनेछ । यो परिवारभित्रको युद्ध हो, बाहिरी त सामान्य नै हो ।विवाह एक बीऊ हो भने परिवार एउटा सानो बोट हो । यसलाई पानी हाल्नु पर्दछ, गोडमेल गर्नुपर्दछ साथै चाहिने आवश्यक तत्वहरू पनि दिनुपर्दछ । पहिलो चेला भनेको श्रीमती हो भने त्यसपछिका चेलाहरू भनेको
छोराछोरीहरू हुन् । विवाह एउटा जटिल छ तर पनि समूहमा कार्य ग¥यौं भने अन्तिम लक्ष्यसम्म पुग्न सक्दछौं । परिवार एकजनाको दर्शन होइन, यो सामूहिक दर्शन हो । छोराछोरीको पनि दर्शन हो । यसरी परिवार पहिलो भयो भने चर्च र
सेवकाइ स्वतः बलियो हुँदै जान्छ । पहिलो परिवार र त्यसपछि सेवकाइका पाटाहरू महत्वपूर्ण हुन् ।

अन्तमा केही भन्नुहुन्छ कि ?
हामीले परमेश्वरको आवाज सुन्नु पर्दछ । परमेश्वरको आवाजबिना बेकार हुन्छ । मानिसको पहिलो प्राथमिकता आत्माले खाना पाउनु पर्दछ । भित्री आत्मामा दिनदिनको जीवनमा बढ्दै जानुपर्दछ । तपाईं निराश नहुनुहोस् किनभने गधाबाट बालमलाई बोल्नुभयो, कागद्वारा एलियालाई खाना ल्याउनुभयो यस्तै माछालाई बोल्नु भई योनालाई माछाले निल्यो र योनाले परमेश्वरको आवाज सुन्ने बनाउनुभयो । अवश्य पनि तपाईंहरूसँग पनि परमेश्वर बोल्नुहुन्छ । भँगेराको फिक्री गर्नुहुन्छ भने हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ ! हामीले परमेश्वरको राज्य र धार्मिकता मात्र खोज्नु पर्दछ, उहाँले सबैथोक थपिदिनु हुन्छ । यसको लागि ज्योतिमा बस्नु पर्दछ र ज्योतिमा हिँड्नु पर्दछ । हिड्नुहोस् नथाक्नुहोस… कार्यलाई निरन्तरता दिइरहनुहोस् ।
मण्डलीको चिन्ता, फिक्री परमेश्वर स्वयम्ले लिनुहुन्छ किनभने परमेश्वर मण्डलीको शिर हुनुहुन्छ । उहाँले कसरी सम्हाल्नु पर्ने उहाँलाई प्रष्ट थाहा छ । जति गरूंगो भारी पनि परमेश्वरमा बिसाउनुहोस्, उहाँले आनो समय असल गर्नुहुन्छ । वचन मिडिया समूहलाई धेरै धन्यवाद यो मौकाको लागि ।