Month: March 2019

पास्टर ध्रुब परियारलाई कुटपिट

मिति २०७५ चैत्र १० गते सेवामा ब्यस्त हातहरु गैरसरकारी संस्थाको सहयोगमा रामगोपलपुर-४, महोत्तरीका असहाय, गरीब ,दलित तथा पछाडि परेका समुदायका बाललालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री बितरण गरेर हामी दुई मदन बिक र ध्रुबकुमार परियार फर्कदै गर्दा सर्लाहीको बाके र फुल्जोर को बीच जङ्गलमा २ वटा मोटरसाइकलमा आएका ४ जना आफूहरुलाइ भूमिगत समूह बताउने अज्ञात समूहले निर्मम कुटपिट गरे। बेलुकीको लगभग ७:०० बजेको थियो, तीब्र गतिमा हामीलाई दुइवटा मोटरसाइकलले बाटो छेक्यो। मैले मोटरसाइकल रोके। “ध्रुब भन्ने को हो?” भनेर सोधेपछी मैले “म हो” भने। एउटाले बाइकको अगाडिको भागमा जोडसङ्ग हिर्कायो। म बाइक सङ्गै भुइँमा पछारिए। त्यसपछी एउटाले कठालोमा समाएर तान्यो र “यता आइज” भनेर रोडमुनी जङ्गल तिर लग्यो। “त साले डलर खाएर धर्म परिवर्तन गर्ने? कति छ डलर निकाल” भनेर पैसा मागेपछी मैले “तपाई को हो पैसा माग्ने? म सङ्ग पैसा छैन” भनेपछी पछाडीबाट जोडले टाउकोमा हिर्कायो र हामी भुमिगत माओबादी हौ भन्यो। त्यतिनै खेर पछडिबाट अर्कोले एक लात्ती हान्यो, म घोप्टो परेर लडे। “यसलाई त्यसै छाड्नुहुन्न” भनेर एउटाले छुरी निकाल्यो, म जुरुक्क उठेर भाग्न खोजे, उसले हानेको छुरीले मेरो दायाँ पाखुरामा लाग्यो। अब आइन्दा येशु धर्मको कुरा गरिस भने हाम्रो मान्छे देशभरीनै छन्, त जहाँ गएपनी मारिदिन्छौ भन्दै मोटरसाइकलमा चढेर पुर्बतिर भागे। अर्कोतिर मदन बिश्वकर्मालाइ भने रोडमै रोकेर मोबाईल स्विच अफ गर्न लगाई हतियार देखाएर दायाँ बायाँ चल्न नदिई राखेको कुरा बताउनु भयो।

हामीले घटना पश्चात् फुल्जोर प्रहरीलाई तुरुन्त खबर गर्यौ। प्रहरीलाई खबर गरेपछी म सङ्गै रहनुभएका नेपाल दलित सङ्ग सर्लाहीका सभापती मदन बिश्वकर्माले मलाई लालबन्दीको गढिमाई अस्पतालमा लगि उपचार गराउनुभयो र अहिलेको अवस्था सामान्य रहेको छ।

प्रहरीले खोजतलासको कार्य तीब्र गरेको छ। हालसम्म दोषी पत्ता लाग्न सकेको छैन। ईलाका प्रहरी कार्यालय केशरगन्ज, सर्लाहीलाई ज्यान धनको शान्ति सुरक्षाको लागी निवेदन गरेका छौ। कार्यालय प्रमुख प्रहरी निरीक्षक गौरव महतले दोषि खोजी कार्यलाई जिल्लामा तीब्र गरिसकेको र फेला परेको खण्डमा छानबिन प्रक्रिया अगाडी बढाई कडा भन्दा कडा सजाय दिलाउने आश्वासन दिनुभएको छ।

पास्टर ध्रुब परियारले आफ्नो facebook मा जानकारी गर्नु भएको छ ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय सदस्यहरुमा मनोनयन

मिति ६ चैत्र २०७५ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय समितिको बैठक अध्यक्ष सि.बि.गहतराजज्यूको अध्यक्षतामा महासंघकै कार्यालय सातदोबाटोमा बस्यो । बैठकलाई सञ्चालन उप–महासचिव एंबम् प्रवक्ता पा. उद्धव चिमोरियाज्यूले गर्नुभएको थियो भने बैठकको सुरुको प्रार्थना वरिष्ठ सहअध्यक्ष रेभ.डा.फिलेमोन क्षेत्रीज्यूले गर्नु भएको थियो । स्तुति प्रशंसालाई ललितपुर युवा विभाग अध्यक्ष पा.करण सिलवालज्यूले अगुवाई गर्नु भएको थियो । वचन यु.एस.ए.का सद्भावदुत डा. मनोज श्रेष्ठज्यूले बाड्नु भएको थियो । बैठकमा हङ्गकङ्गका सद्भावदुत पा.जेम्स् गुरुङ, हङ्गकङ्गका कोषाध्यक्ष हिम ब.थापा, बरिष्ठ सहअध्यक्ष रेभ डा. फिलेमोन खड्का क्षेत्री, सहअध्यक्ष रीता थापा मगर, सहअध्यक्ष रेभ.रेन्जी लामा, उपाध्यक्ष सुश्री अन्ना पेडन, उपाध्यक्ष रेभ पा. त्रिरत्न आदम तुलाधार र सल्लाहकार एलिया प्रधान र कोषाध्यक्ष शुसिला खड्का लगायतका पदाधिकारीहरुले मन्तब्य राख्नुभएको थियो ।
बैठकले ए. दिनेश कन्दङवा, पा.कर्णलाल पाण्डे, पा.इश्वर श्रेष्ठ, पा.लालु थापा मगर, पा.जिवन वस्नेतज्यूलाई महासंघको विधान २०६८ को धारा ४३ को ३ बमोजिम केन्द्रिय सदस्यमा सर्वसम्मतिका साथ मनोनयन गरिएको छ । साथै युवा विभागको प्रमुखमा केन्द्रिय सदस्य मुकेश मोक्तान र सह–प्रमुखमा केन्द्रिय सदस्य ए.दिनेश कन्दङवालाइ मनोनयन गरिएको छ ।
आगामी इस्टर कार्यक्रम आयोजना गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो । बैठकले येशु ख्रीष्टको बौरी उठ्नु भएको दिन (पुनरुत्थान) इष्टरको देशभर हुने ¥यालीमा सबै मण्डलीहरुलाई आफुलाई पाएक पर्ने ठाउमा ¥यालीमा सहभागी हुने र महासंघको आयोजनामा कमलादी प्रज्ञा प्रतिष्ठान भवनमा दिनको १ः०० बजे देखि नेपाल सरकारको प्रतिनिधि, मानवअधिकार कर्मी लगायतका विशिष्ट ब्यक्तिहरुकोउपस्थितीमा विशेष शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय गर्ने गरिएको छ ।
अध्यक्ष सि.बि.गहतराजज्यूले सामुहिक छलफलको निर्णायर्थ प्रस्तुत गर्दै उपस्थित सबै पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन समापन गरिएको थियो ।