आगमी मंसिर २६, २७ र २८ गते धरानमा बृहत ख्रिष्टमस महोत्सवको आयोजना गरिने भएको छ । महोत्सवको तयारीका लागि पाष्टर महेन्द्रजंग साम्पाङको संयोजकत्वमा ख्रिष्टमस महोत्सव आयोजक समिति चयन भएको छ । समितिको सहसंयोजकमा विशप ज्योती थुलुङ, एल्डर गोविन्द राई र पाष्टर जगत थुलुङ रहेका छन् । समितिको सचिव एल्डर रमेश राई, सहसचिव पाष्टर शेरबहादुर गुरुङ, कोषाध्यक्ष पाष्टर केशर थुलुङ र सहकोषाध्यक्ष पाष्टर सुर्यबहादुर तामाङ रहेका छन् । त्यसैगरी समितिको सदस्यहरुमा पाष्टर दिलबहादुर साम्पाङ, पाष्टर मचिन्द्र लावती, पाष्टर गिदोन लामिछाने, एल्डर धिरेन्द्र चौधरी, एल्डर सुवास वर्देवा, एल्डर राजकुमार राई, एल्डर दिनेश दर्ना र सुवास राई रहेका छन् । त्यसैगरी मुल आयोजक समितिको संरक्षकमा डा.जीवनदीप सुब्बा, विशेष सल्लाहकारमा रेभ.शामुल राई, पाष्टर मनि कुमार राई र कमल ह्यूज राई रहेका छन् भने महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन भएका छन् । डिसेम्बेर २५ का दिन विश्वभर ख्रिष्टियनहरुले प्रभु येशु ख्रीष्टको जन्मोत्सव मनाउने गरेका छन् । यसपटक नेपालमा पुष ९ गते ख्रिष्टमस मनाइने छ । नेपाल लगायत विश्वमा एक महिना अघि देखि नै ख्रिष्टमसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै इसाईहरुले ख्रिष्टमस मनाउँदै आएका छन् । यसलाई अन्य समुदायले इसाई धर्मवालम्बीहरुको चाडका रुपमा लिन्छन् भने स्वयम् ख्रिष्टियनहरुले प्रभु येशु ख्रीष्टको विषयमा मानिसहरुलाई बताउने र उहाँ संसारका मुक्तिदाता र उद्दारकर्ता हुनुहुन्छ भनि घोषणा गर्ने अवसरका रुपमा लिँदै आएका छन् । धरानमा गत ३ वर्षअघि देखि इसाईहरुले सामूहिक रुपमा ख्रिष्टमस महोत्सवको आयोजना गर्दै आएका छन् । यसपटक धरानभरीका विभिन्न चर्चहरुबाट धरान बजारमा प्रभु येशु ख्रिष्टको जन्मको सुसमाचार सुनाउँदै शान्ति र समृद्धिको लागि मंसिर २६ गते ¥याली प्रदर्शन गर्ने भएका छन् भने २७ र २८ गते धरान १५ स्थित चुम्लुङ भवनमा महोत्सव आयोजना हुने संयोजक पा.महेन्द्रजंग साम्पाङले जानकारी दिएका छन् । उनले उक्त महोत्सवमा इसाई समुदाय तथा विभिन्न मण्डलीका विश्वासीहरुले आफ्ना व्यवसायिक प्रदर्शनसमेत गर्न सक्नेछन् जसका लागि स्टलको व्यवस्था गरिनेछ । त्यस्तै महोत्सवमा खाना तथा खाजाका परिकार पाउनुका साथै सांगितिक कार्यक्रमहरु समेत रहनेछन् । उक्त, महोत्सवमा सरकारी, गैरसकारी तथा नीजि क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको समेत सहभागिता रहने हुँदा मण्डलीबीचको सहकार्य, एकता एवम् सहयोग आदनप्रदान मजबुद बन्नेछ भने सामाजिक अन्तरघुलन हुनेछ । महोत्सवमा अवलोकनका लागि धरानका अन्य समुदायलाई समेत आमन्त्रण गरिने भएकोले इसाई समुदायलाई समाजले नजिकबाट चिन्न र बुझ्न सक्ने भएकोले सुसमाचारिय कार्यक्र हुने बताइएको छ ।