हामीले येशूको बारेमा बताउने प्राचीन स्रोतहरूलाई केलाइरहेका छौँ । हिजो हामीले ख्रीष्टियान स्रोतहरू (नयाँ करार र नयाँ करारेतर) लाई हेर्यौँे भने आजबाट हामी गैरख्रीष्टियान स्रोतहरूलाई हेर्न सुरु गर्नेछौँ ।
२. गैरख्रीष्टियान स्रोतहरू
ख्रिस्टाब्द १९७९ मा चार्ल्स टेम्प्लेटोनद्वारा लिखित परमेश्वरको काम नामक उपन्यासमा काल्पनिक पुरातत्त्वविद्ले प्रस्तुत गरेको अभिव्यक्ति धेरै मानिसहरूको विश्वाससित मेल खान्छ होला, “आफूलाई मसीह ठान्ने एउटा दुर्बोध जवान यहूदीका शिक्षाहरूमा ख्रीष्टियान मण्डलीका धेरै दाबीहरू आश्रित छन् । आफ्नो जीवनकालमा तिनले खासै ठुलो प्रभाव पारेनन् । सेकुलर इतिहासमा तिनको बारेमा एउटै शब्द लेखिएको छैन । एउटै पनि शब्द छैन । रोमीहरूद्वारा तिनको बारेमा कुनै उल्लेख छैन । योसिफसले पनि खासै उल्लेख गरेका छैनन् ।”
तर टेम्प्लेटोनको काल्पनिक पात्र कति गलत छ भनेर इतिहासलाई वास्तवमा अध्ययन गर्ने व्यक्तिले तुरुन्त बुझिहाल्छ । किनकि योसिफस र टासिटसका कृतिहरूमा हामीसँग उहाँको बारेमा ज्यादै महत्त्वपूर्ण जानकारीहरू उपलब्ध छन् । योसिफस यहूदी इतिहासकार थिए भने टासिटस रोमी इतिहासकार । गैरख्रीष्टियानहरूले येशूको बारेमा केही लेखेका छैनन् भनी कतिपय मानिसहरू भ्रममा परेका छन् । तर यो साँचो होइन । गैरख्रीष्टियान स्रोतहरूमध्ये पहिले यहूदी स्रोतलाई जाँच गरिनेछ ।
ख. यहूदी स्रोतहरू
(१) योसिफस
ख्रिस्टाब्द ६६ मा प्यालेसटाइनका यहूदीहरूले रोमी शासनको विरुद्धमा विद्रोह गरे । त्यस बेला प्यालेसटाइन रोमको उपनिवेश थियो । विद्रोहीहरूलाई दबाउन रोमी सम्राट् नेरोले सेनापति भेस्पासियनको नेतृत्वमा सेनाको एउटा टोली त्यहाँ पठाए । ख्रिस्टाब्द ६७ मा भेस्पासियनले विद्रोह भइरहेको क्षेत्र गालीलको योतापातालाई घेरे । यस्तो अवस्थामा रोमी अधिकारीहरूसामु आत्मसमर्पण गर्नुभन्दा बरु प्यालेसटाइनका बासिन्दाहरूले साधारणत: आत्महत्या गर्थे । कैयौँ विद्रोहीहरूले त्यसै गरे । तर घेराबन्दीको सतचालिसौँ दिनमा एक जना यहूदी विद्रोहीले रोमी सेनाको सामु आत्मसर्पण गरे । तिनले भेस्पासियनको अनुग्रह पाए र भेस्पासियनका छोरा सेनापति तितसद्वारा पछि तिनलाई रोममा लगियो । आत्मसमर्पण गर्ने ती जवान व्यक्ति अरू कोही नभएर फ्लाभिअस योसिफस (करिब ३७-१००) थिए जो अन्त्यमा तत्कालीन समयको महान्तम यहूदी इतिहासकार बने ।
भोली हामी येशूको बारेमा यिनै योसिफद्वारा व्यक्त भनाइलाई उद्धृत गरी विश्लेषण गर्नेछौँ ।
क्रमशः
amit kumar mahara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)
Hari Saharan Adhikari( Ajirkot Rural Municipality-04, Gorkha) ,Now in Butwal/Chitwan/ Pokhara on Interview with Deputy Mayor Parbati Shah Thakuri (Bharatpur Metropolitan City)