असल ख्रीष्टियान बनी जिउन चेष्टा गर्ने एक मान्छेको कथालाई बनयानले यसमा सशक्त ढङ्गमा उतारेका छन् ।

जोन बनयान लेखक, वक्तासाथै विचारक थिए । पिलग्रिम्स प्रोग्रेस नामक आफ्नो कृतिको लागि तिनी निकै प्रसिद्ध छन् । सत्रौँ शताब्दीका प्रभावशाली स्रस्टा बनेका बनयानले झण्डै साठीवटा पुस्तक छाडेर गएका छन् ।

ख्रिस्टाब्द १६२८ मा जोन बनयानको जन्म इङ्गल्यान्डमा भएको थियो । बुबा थोमस र आमा मार्गरेटबाट जन्मेका बनयानको जन्म दिन थाहा छैन तर तिनलाई ३० नोभेम्बर १६२८ मा बप्तिस्मा दिइएको तथ्य भने पक्का छ ।

स्कुलमा प्रारम्भिक शिक्षा हासिल गरी बनयान १६ वर्षको उमेरमा सेनामा भर्ना भए जुन बेला इङ्गल्यान्ड गृहयुद्धमा फसेको थियो । तिन वर्षपश्चात् तिनी आफ्नै गाउँ फर्के र आफ्ना पिताबाट सिकेको पेसामा लागे । तिनका पिताले टिनका भाँडाकुँडा मर्मत गर्थे ।

एक दिनको कुरो हो । बनयान कुनै खेल खेलिरहँदा तिनले स्वर्गबाट यस्तो आवाज आएको सुने, “तिम्रा पापहरू त्यागी तिमी स्वर्ग जान्छौ कि तिम्रा पापहरू लिएर तिमी नरक जान्छौ ?” पछिल्ला केही वर्ष तिनले आत्मिक सङ्घर्षमा आफ्नो जीवन गुजारे ।

येशूलाई स्वीकार गरेपछि तिनी एक प्रखर ख्रीष्टियान वक्ताको रूपमा चिनिन थाले । १६५८ मा तिनलाई अनुमति नलिईकन प्रचार गरेको अभियोग लगाइयो । केही समयको लागि अधिकारीहरूले सहेको भए तापनि मण्डलीको अनुमोदनविना प्रचार गरेको आरोपमा १६६० मा तिनलाई गिरफ्तार गरी झ्यालखानामा हालियो । तिनलाई “मानिसहरूलाई कानुन विपरीत परमेश्वरको आराधना गर्न सिकाएको” भन्ने अभियोग लागेकोले ३ महिनाको जेल सजाय तोकियो । प्रचार गर्न छाडेमा तिनी जेलमुक्त हुन सक्थे भन्ने अधिकारीहरूको विकल्पलाई तिनले इन्कार गरे । परिणाम स्वरूप तिनको जेल जीवन १२ वर्षसम्म लम्ब्याइयो । बनयानको परिवारको लागि तिनको जेल जीवन निकै कष्टदायक भए तापनि अर्को परिप्रेक्ष्यबाट हेर्दा तिनको लागि यो अवधि फलदायक साबित भयो । तिनले झ्यालखानामा नै बसेर आफ्नो आत्मिक आत्मकथा ग्रेस अबाउन्डिङ टु द चिफ अफ सिनर्स नामक चर्चित कृति लेख्नुकासाथै तिनको अति नै प्रसिद्ध कृति पिलग्रिम्स प्रोग्रेस लेख्न सुरु गरेका थिए । तिनले अन्य कैयौँ पर्चा पनि लेख्न भ्याए ।

१६७२ मा जेलमुक्त भएपछि तिनले आफ्नो समय लेखन र प्रचारमा समर्पित गरे । तर १६७६ मा तिनी फेरि गिरफ्तार गरिए र दोस्रो पटक थुनामा राखिए । यस पटक तिनले ६ महिना मात्र बिताउनुपर्यो् ।

जोन बनयानद्वारा लिखित पुस्तक पिलग्रिम्स प्रोग्रेसलाई अङ्ग्रेजी साहित्यमा अति नै महत्त्वपूर्ण कृतिको रूपमा आदर गरिन्छ । २०० ओटाभन्दा बेसी भाषामा अनूदित यस कृति पहिलो पटक १६७८ मा प्रकाशित भएको थियो भने १९३८ सम्म आइपुग्दा यसका १,३०० ओटा संस्करण छापिएका थिए । असल ख्रीष्टियान बनी जिउन चेष्टा गर्ने एक मान्छेको कथालाई बनयानले यसमा सशक्त ढङ्गमा उतारेका छन् ।

मानिसहरू परमेश्वरका सन्तान हुन सकून् भनेर परमेश्वरका पुत्र मानिस बन्नुभयो

सी. एस. लेविसको पुरा नाउँ हो— क्लाइभ स्ट्याप्लेस लेविस । सम्भवत: तिनी बिसौँ शताब्दीका सर्वश्रेष्ठ रक्षाशास्त्री (ख्रीष्टियान विश्वासको पक्षमा वकालत गर्ने) थिए । परिवार र मित्रहरूका बिचमा “ज्याक” भनेर चिनिएका लेविस उपन्यासकार, कवि, साहित्यिक समालोचक, निबन्धकारसाथै ख्रीष्टियान रक्षाशास्त्री थिए । आख्यान र गैरआख्यान दुवै क्षेत्रमा कलम चलाएका लेविस ख्रीष्टियानसाथै गैरख्रीष्टियान जगत्‌का अनमोल स्रष्टा हुन् ।

लेविसको जन्म २९ नोभेम्बर १८९८ मा बुबा अल्बर्ट जेम्स लेविस र आमा फ्लोरेन्स अगस्टा लेविसबाट आएरल्यान्डको बेलफास्टमा भएको थियो । वारेन हामिल्टन नाउँका तिनका एक दाजु थिए ।

ख्रीष्टियान परिवारमा जन्मेका भए तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू र संसारमा विद्यमान दुष्ट्याइँको कारणले पन्ध्र वर्षको उमेरमा लेविस नास्तिक बने । आफ्नो पढाइलाई थाती राखी तिनी १९१७ मा पहिलो विश्व युद्धमा ब्रिटिस सेनामा सहभागी भए । युद्धको क्रममा फ्रान्समा घाइते भए र परिणामस्वरूप तिनी इङ्गल्यान्ड नै फर्के ।

आफ्ना सहकर्मीसाथै मित्र जे. आर. आर. टोल्किनका गहकिला तर्कहरूबाट प्रभावित भई लेविस बिस्तारै ख्रीष्टियान विश्वासतर्फ फर्के र ३३ वर्षको उमेरमा तिनले येशूलाई प्रभुको रूपमा स्वीकारे अर्थात् तिनी ख्रीष्टियान बने ।

अक्सफोर्ड र क्याम्ब्रिजजस्ता विश्वप्रसिद्ध कलेजहरूमा पढाएका लेविसका प्रसिद्ध कृतिहरूमा मेएर क्रिस्चियानिटी, क्रोनिकल्स अफ नार्निया, मिराकल्स आदि पर्दछन् । ७० भन्दा बेसी पुस्तकका लेखक लेविसले साहित्यका विभिन्न विधाहरूमा कलम चलाएका छन् । वार्षिक रूपमा तिनका कृतिहरू बिस लाखको सङ्ख्यामा बिक्री हुन्छन् । तिनका पुस्तकहरू तिसभन्दा बेसी भाषामा अनुवाद भइसकेका छन् । तिनका कृतिहरूका कथावस्तुहरू रङ्गमञ्चमा उतारिएका छन्; टेलिभिजनमा देखाइएका छन्; रेडियोबाट प्रसारण गरिएका छन् र चलचित्रको पर्दामा प्रदर्शन गरिएका छन् । ख्रीष्टियान विश्वासको पक्षमा लेखिएको तिनको कृति मेएर क्रिस्चियानिटीलाई पढेर कैयौँ मानिसले आफ्नो जीवन प्रभु येशूमा सुम्पेका छन् ।

तर्क र विश्वासलाई वैरीको रूपमा नभई साखको रूपमा देख्ने लेविसको बुझाइमा तर्क विश्वासतर्फ डोर्याोउने एउटा उपयुक्त मार्ग हो । आफू एङ्गलिकन भए तापनि तिनले प्राय: सबै ख्रीष्टियान सम्प्रदायका आधारभूत ख्रीष्टियान शिक्षाहरूको पक्षमा तार्किक रूपमा वकालत गरे । अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ. केनेडीको हत्या गरिएको दिन र विकासवादका पक्षपोषक अल्डुस हक्स्लेको निधन भएको दिनमा नै लेविस यस धरतीबाट बिदा भएका थिए । तिनको मृत्युले संसारको थोरै मात्र ध्यान खिँचेको भए तापनि अनुगामी वर्षहरूमा तिनको प्रशंसा बढ्दै गयो । तिनले भनेका छन्, “मानिसहरू परमेश्वरका सन्तान हुन सकून् भनेर परमेश्वरका पुत्र मानिस बन्नुभयो ।”

डरलाग्दो हत्यारालाई पनि ठाउँ छ भन्ने तथ्य जेफ्रीको परिवर्तनमा छर्लङ्ग देख्न सकिन्छ

तिनको नाउँ हो, जेफ्री दमार । तिनी कुख्यात हत्यारा मात्र थिएनन् तर तिनले मान्छेको मासु पनि खाने गर्थे । तिनले जीवनमा कम्तीमा पनि सत्र जनाको हत्या गरेका थिए । हत्याको अपराध लागेका जेफ्रीलाई जन्म कैदको सजाय सुनाइएको थियो ।

ख्रीष्टियान सेवकसाथै लेखक रोय राटक्लिफले जेफ्रीसित मित्रता गाँसे र तिनलाई प्रभु येशू ख्रीष्टको बारेमा बताए । जेफ्रीले झ्यालखानामा नै आफ्नो जीवन येशूमा सुम्पे र आफूलाई कहिल्यै जेलमुक्त गरिँदैनथ्यो भन्ने जानेर तिनले त्यहीँ नै बप्तिस्मा लिए ।

ख्रीष्टियान भइसकेपछि तिनको जीवनमा देखा परेको सकारात्मक परिवर्तनलाई मानिसहरूले अवलोकन गर्न थाले । जेफ्रीका पिता र तिनका मित्रहरूले तिनको जीवनमा विकास भएको छुट्टै आत्मालाई देखे । जेफ्रीका पिताले विगतमा मण्डली त्याग गरेर गएको भए तापनि छोरोको जीवनमा आएको परिवर्तनले तिनी मण्डलीको विश्वासयोग्य सदस्यमा पुनस्थापित भए । जेफ्रीका भाइले पनि प्रभु येशूमा विश्वास गरे । जेफ्रीले भनेका छन्, “मैले गरेका अपराधहरूको लागि म अत्यधिक दु:खित छु । मेरो विचारमा मैले गरेको कामको लागि राज्यले मलाई मृत्युदण्ड दिएको हुनुपर्थ्यो ।”

जेफ्रीले बप्तिस्मा लिएको केही महिनापछि २८ नोभेम्बर १९९४ मा एक जना सङ्गी बन्दीद्वारा तिनको हत्या गरियो । तर जेफ्रीले आफ्नो जीवन प्रभु येशूमा सुम्पने मौकालाई भने गुमाएनन् । ख्रिस्टाब्द १९६० मा अमेरिकामा जन्मेका जेफ्रीको जीवनमा आधारित फिल्मसाथै पुस्तकहरू प्रकाशन गरिएका छन् ।

परमेश्वरको अपार अनुग्रहको छतमुनि जस्तोसुकै डरलाग्दो हत्यारालाई पनि ठाउँ छ भन्ने तथ्य जेफ्रीको परिवर्तनमा छर्लङ्ग देख्न सकिन्छ ।

इतिहास आज ( २७ नोभेम्बर )

ख्रिस्टाब्द १९०८ मा क्यानडामा जन्मेका अर्नेस्ट प्रेसवुडले ११ वर्षकै कलिलो उमेरमा ख्रीष्टलाई अङ्गालेका थिए । पछि एक जना वक्ताको प्रवचनबाट प्रभावित भई तिनले आफ्नो जीवन ख्रीष्टियान सेवाको निम्ति अर्पण गरे । १९०३ मा तिनी मिसनरीको रूपमा प्रशान्त महासागरमा पर्ने बोर्निओ नाम गरेको टापुमा थिए ।

सेतो छाला भएको मानिसको सन्देशद्वारा खराब मानिसहरू असल बन्न सक्छन्; जँड्याहाहरू जाँड नखाने बन्न सक्छन् र हिंसा रुचाउनेहरू परमेश्वरका मानिसहरू बन्न सक्छन् भन्ने हल्ला त्यस टापुमा द्रुतगतिमा फैलियो । प्रेसवुडको सन्देशले त्यस टापुका बासिन्दाहरूको जीवन बद्लेकोले तिनीहरूले तिनलाई “तुवान चेन्ज” भन्ने गर्थे । एक जनाले यसरी गवाही दिए, “मैले त्यस सन्देशलाई सुनेपछि म सुत्नै सकिनँ । हामी सबै तिनलाई भेट्न गयौँ । तिनले पुनरुत्थानको प्रचार गरे । सुरुदेखि नै यसले मलाई प्रहार गर्‍यो । मैले यसलाई भित्र पिउँदै थिएँ । मैले पहिलो पटक सुन्दा मैले यसलाई विश्वास गरेँ ।”

अर्नेस्ट त्यस टापुका विभिन्न गाउँहरूमा ख्रीष्टको सन्देश लिएर जान्थे । तिनका पाउ जुकाको टोकाइबाट रगताम्मे भए तापनि तिनको जोस अटुट थियो । तिनले कैयौँलाई सुसमाचार सुनाए र बप्तिस्मा दिए ।

बिदामा अर्नेस्ट अमेरिका फर्के; लाउरा हर्मोनसित विहे गरे र उनलाई पनि उही टापुमा लिएर गए । तर चाँडै नै उनको निधन भयो र तिनले आफ्नी प्यारी पत्नीलाई गाडे । प्रतिकूल परिस्थितिको बाबजुद पनि तिनी एकलै अगाडि बढिरहे ।

दक्षिण प्रशान्त महासागरमा १९४०-१९४५ मा चलेको युद्धको कारणले अर्नेस्टको सेवामा अवरोध आयो । पाँच वर्षसम्म तिनी आफ्नो बगालप्रति चिन्तित थिए । २७ नोभेम्बर १९४५ मा तिनी फर्कंदा तिनले कैयौँ ख्रीष्टियानहरूको चिहान पाए तापनि बोर्निओको मण्डली भने चट्टानझैँ स्थिर रहेको थियो । तिनले रोपेको बिउले आज पनि फल फलाइरहेको छ ।

बारम्बार असफल हात्महत्या गर्ने चेष्टा गरेका कुपरलाई बाइबलले परिवर्तन गर्यो

३२ वर्षको उमेरमा विलियम कुपरले आफ्नो जीवनमा ठुलो सङ्कष्टमय परिस्थितिको सामना गर्नुपर्यो । अफिमबाट निर्मित औषधि पिएर तिनले आत्महत्या गर्ने कोसिस गरे । तर मरेनन् । त्यसपछि तिनले घोडाले तान्ने वाहन भाडामा लिए र चालकलाई थेम्स नदीको पुलमाथि निर्मित साँघुमा लैजाने आज्ञा दिए । त्यहाँबाट हाम्फालेर आत्महत्या गर्ने मनसाय थियो कुपरको । त्यस बेला लन्डनमा बाक्लोह कुइरो लागेको थियो । तिनीहरूले आफ्नो यात्रालाई एक घण्टासम्म जारी राखे तापनि छनौट गरिएको स्थल आइपुगेन । दिक्क मानेर कुपर ओर्लन खोज्दा तिनी छक्क परे किनकि कुइरोको कारणले तिनीहरूले उही ठाउँमा पो चक्कर लगाइरहेका रहेछन्! र, अन्त्यमा तिनी आफ्नै घरको ढोकाको सङ्घारमा देखा परे ।

भोलीपल्ट बिहान चक्कुले आत्महत्या गर्ने प्रयत्न गरे । फेरि पनि बाँचे । आफैलाई झुण्ड्याएर यस धरतीबाट बिदा हुन खोजे तर बेहोस मात्र भए । पटक-पटक आत्महत्या गर्न खोज्दा पनि तिनी सफल भएनन् ।

एक बिहानको कुरो हो । तिनी प्रसन्न मुद्रामा हुँदा तिनले बाइबल हातमा लिई पावलले रोमीहरूलाई लेखेको पत्रको एउटा पद पढे, “परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चित्तको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित्त विश्वासद्वारा ग्रहण गर्नुपर्दछ । यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन” (रोमी ३:२५) । तत्कालै विश्वास गर्ने शक्ति प्राप्त गरे कुपरले । परमेश्वरको क्षमा दिन सक्ने शक्तिमा हर्षित भए तिनी । तिनले आफ्नो जीवन येशूको पाउमा सुम्पे ।

पछि कुपर अठारौँ शताब्दीका निकै प्रसिद्ध भजन लेखक कहलाइए । २६ नोभेम्बर १७३१ मा इङ्गल्यान्डमा जन्मेका तिनी आफ्नो समयका औधी लोकप्रिय भजन लेखक बने । तिनलाई स्वच्छन्दतावादी कविताको अग्रदूतको रूपमा पनि आदर गरिन्छ । एक जना लेखकका अनुसार त तिनी “सर्वश्रेष्ठ आधुनिक कवि” हुन् ।

कुपरले दासप्रथाको विरुद्धमा पनि मनग्गे कविताहरू रचे । तिनी दासप्रथाको खरो विरोधी थिए । दासप्रथाको विरुद्धमा लेखिएको तिनको एउटा कवितालाई नागरिक अधिकार अभियानका हिमायती डा. मार्टिन लुथरले बारम्बार उद्धृत गरे ।

यसरी, बारम्बार असफल हात्महत्या गर्ने चेष्टा गरेका कुपर बाइबलीय खण्डको परिणामस्वरूप सामान्य विश्वासीको रूपमा मात्र बाँचेनन्, तर लोकप्रिय भजन लेखकसाथै सामाजिक सुधारक पनि बने ।

दुनियाँ रमाऊ र ग्रहण गर ख्रीष्ट प्रभु राजालाई

हाम्रो देशको उत्तरपट्टि रहेको छिमेकी मुलुक चीनको एउटा सानो नगरमा एक जना ख्रीष्टियान मिसनरी आइपुगिन् । लुटेराहरूको एउटा समूहले त्यस नगर र त्यसमा भएको हरेक कुरोलाई भर्खरै नष्ट पारेको रहेछ । त्यसपछि एक जना स्थानीय ख्रीष्टियानले भग्नावशेषमा परिणत भएको आफ्नो घरलाई देखाए ।

छत जलेर नष्ट भएको थियो; घरका काठपातहरू खरानी भएका थिए; सग्लो वस्तु मुश्किलैले फेला पार्न सकिन्थ्यो । आफ्ना बाइबल र भजन किताबलाई देखाउँदै ती ख्रीष्टियानले भने, “तिनीहरूले मेरा बाइबल र भजन किताबलाई पनि जलाइदिए!”

ती स्थानीय ख्रीष्टियानले भग्नावशेषबाट आफ्नो चिनियाँ भाषाको भजन किताबबाट एउटा पानालाई टिपे । आगोले नजलाएको पाना त्यही मात्र रहेछ । मिसनरीले आफ्नो हातमा लिएर त्यसलाई पढे, “दुनियाँ रमाऊ र ग्रहण गर ख्रीष्ट प्रभु राजालाई” (ख्रीष्टीय भजन ३८) । एक करोडभन्दा बेसी पटक हेरिएको यस भजनलाई युटुबमा हेर्न र सुन्नको लागि यस लिङ्कमा जानुहोस्: https://www.youtube.com/watch?v=MpgaWm2pnNs

के यो प्रभुको उपस्थिति हुँदा पूर्ण विनाशको बिचमा पनि रमाउन सकिन्छ भन्ने प्रस्ट सन्देश होइन र ? त्यो नजलेको पानाले ती लुटेराहरूलाई यही सन्देश दिँदै थियो कि प्रभु येशू ख्रीष्ट यस संसारमा आउनुभएकोले दुनियाँ रमाओस् ।

यो क्यारोलसम्बन्धी लोकप्रिय भजन हो । भजनसंग्रह ९८ को दोस्रो आधा भागका वचनहरूमा आधारित रहेर प्रसिद्ध भजन लेखकसाथै ईश्वरशास्त्री आइज्याक वाट्सद्वारा रचित यो भजन पहिलो पटक ख्रिस्टाब्द १७१९ मा प्रकाशनमा आएको थियो ।

आइज्याक केवल ५ फिट अग्ला थिए र तिनको बडेमाको शिरलाई तिनको शरीरले थाम्न सक्दैन जस्तो देखिन्थ्यो । तिनको नाक बाङ्‌गिएको थियो; तिनका आँखा साना थिए भने तिनको शरीर कमजोर थियो । शारीरिक रूपमा तिनीसित आकर्षित गर्ने कुरो केही पनि थिएन । तथापि इतिहासमा तिनको नाउँ अमर छ । तिनले करिब ७५० ओटा भजन लेखे जसमध्ये केहीलाई अझै पनि गाइन्छ । परमेश्वरका मानिसहरूलाई बाइबल धर्मशास्त्रका वचनहरूलाई अर्थपूर्ण तवरले पद्यमा गाउन सक्षम तुल्याउनु नै तिनको दर्शन थियो । २५ नोभेम्बर १७४८ मा तिनी प्रभुमा सुतेका थिए ।

  • Kamal Adhikari

सङ्गतिको लागि मण्डलीमा जानु

अमेरिकाको एघारौँ राष्ट्रपतिको नाउँ हो— जेम्स नक्स पोल्क । तिनले ख्रिस्टाब्द १८४५-१८४९ सम्म राष्ट्रपतिको रूपमा रहेर सेवा गरे । तिनी आफ्नो जीवनको आखिरी घडीसम्म उक्त पदमा थिए । ३ मार्च १८४९ को रात थियो जुन बेला तिनी अफिसबाहिर थिए । भोलीपल्ट तिनका उत्तराधिकारी जकरी टेलरलाई राष्ट्रपतिमा नियुक्त गर्ने तालिका रहेको थियो तर त्यो दिन आइतबार अर्थात् मण्डली जाने दिन परेकोले जकरीले शपथ लिन मानेनन् । तिनले भने, “मण्डली जानु संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्नुभन्दा प्राथमिक कुरो हो ।” तिनको नियुक्तीलाई सोमबार अर्थात् मार्च ५ सम्म स्थगित गरियो । त्यसैले, एक दिनको लागि डेभिड राइसलाई कार्यकारी राष्ट्रपति बनाइयो ।

अमेरिकाका बार्‍हौँ राष्ट्रपति जकरी टेलर ख्रिस्टाब्द १८४९ देखि १९५० मा आफ्नो मृत्यु नहुञ्जेलसम्म राष्ट्रपति पदमा रहेका थिए ।

के अमेरिकाको राष्ट्रपति हुनुभन्दा अर्को कुनै प्राथमिक कुरो छ होला र ?

२४ नोभेम्बर १७८४ मा अमेरिकामा जन्मेका टेलरको लागि थियो— सङ्गतिको लागि मण्डलीमा जानु ।

प्रारम्भिक क्याल्कुलेटरको आविष्कार गरेका थिए

ब्लाइज पास्कलले तुलनात्मक रूपमा सङ्‌क्षिप्त जीवन जिए । तिनी चालिस वर्ष पुग्नु अगावै स्वर्गवास भए तापनि तिनी दिगो प्रभाव छाडेर जान सफल भए ।

पास्कलको लागि सबैभन्दा उपयुक्त शब्द हो, जिनिअस । तिनी असाधारण प्रतिभा भएका गणितज्ञ, भौतिकशास्त्री, दार्शनिक, अन्वेषक, लेखक, ईश्वरशास्त्री र ख्रीष्टियान रक्षाशास्त्री थिए । तिनले यी सबै क्षेत्रमा झण्डै बिस वर्षको अवधिमा ख्याति कमाएका थिए । थोरै समयमा धेरै उपलब्धि हासिल गर्ने स्रष्टाहरूको वर्गभित्र पर्छन्, पास्कल ।

ख्रीष्टियान रक्षाशास्त्रको क्षेत्रमा परमेश्वरको अस्तित्वसित सम्बन्धित ब्लाइज पास्कलको एउटा महत्त्वपूर्ण तर्कलाई पास्कलको बाजी भनेर चिनिन्छ । तिनको तर्कअनुसार यदि परमेश्वर अस्तित्वमा हुनुहुन्न भने एउटा नास्तिकले उहाँमाथि विश्वास गरेर केही पनि गुमाउँदैन । तर यदि उहाँ अस्तित्वमा हुनुहुन्छ भने एउटा नास्तिकले उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउँछ भने विश्वास नगर्नेले अनन्त दण्ड ।

पास्कलको जन्म १६२३ मा फ्रान्समा भएको थियो । पास्कल बाल्यकालदेखि नै विलिक्षण प्रतिभाका धनी थिए । तिन वर्षको उमेरमा आमा गुमाएका पास्कललाई तिनका पिताले शिक्षा दिएका थिए जसको पेसा कर उठाउने थियो ।

यूहन्नाको सुसमाचार १७ अध्यायलाई पढ्दा पास्कलले २३ नोभेम्बर १६५४ मा ख्रीष्टेसित व्यक्तिपगत रूपमा जम्काभेट गरी धार्मिक परिवर्तनको अनुभव गरे । नयाँ जन्म पाएपछि तिनको जीवन बद्‌लियो । तिनले आफ्ना रुपियाँ-पैसा दिएर गरिबहरूको सेवा गर्न थाले । तिनका वैज्ञानिक अध्ययनहरू तिनको समयमा संसार प्रसिद्ध थिए, तर ती आत्मिक खोजपछि आउँथे । तिनी एक भक्त ख्रीष्टियान थिए ।

तिनले दर्शनशास्त्र र ईश्वरशास्त्रबारे प्रभावशाली कृतिहरू लेख्न थाले । तिनका दुई ओटा सर्वाधिक प्रसिद्ध कृतिमा लेटर्स प्रोभिन्सिएल्स र पेन्सिज पर्दछन् । वैज्ञानिक क्षेत्रका चिन्तक पास्कलको परमेश्वरमाथि गहन विश्वास थियो ।

सम्भाव्यताको सिद्धान्तको विकासमा पास्कलको उल्लेखनीय योगदान थियो । सुरुमा यसलाई जुवाको क्षेत्रमा मात्र लागु गरिएको भए तापनि हाल अर्थशास्त्रमा यसको अत्यधिक महत्त्व रहेको छ । एक जना लेखकले भनेका छन्, “अनिश्चयता, जोखिम, निर्णय लिने काम र भावी घटनाहरूको मार्गलाई प्रभावित तुल्याउने व्यक्तिसाथै समाजको क्षमतालाई हामीले जसरी विचार गर्छौं त्यसलाई सम्भाव्यताको सिद्धान्त र यसपछिका आविष्कारहरूले परिवर्तन गरिदिए ।”

साहित्यको क्षेत्रमा पास्कललाई फ्रान्समा सर्वाधिक महत्त्वपूर्ण लेखकहरूको सूचीमा राखिन्छ । पास्कल फ्रान्सको सेक्सपिएर, यसको डान्टे, यसको प्लेटो र यसको युक्लिछड बने ।

पास्कलले ख्रिस्टाब्द १६४२ मा पास्कलाइन अर्थात् प्रारम्भिक क्याल्कुलेटरको आविष्कार गरेका थिए जुन विश्वसकै पहिलो क्याल्कुलेटर थियो । तिनले नै ब्यारोमिटरको लागि मार्ग प्रशस्त गरेका थिए र सम्भाव्यताका सिद्धान्तहरूको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

इतिहासमा आज ( २२ नोभेम्बर)

जब शान्तिको नदी मभित्र बग्दछ
जब हुरी बतास चल्दछ
हरेक समयमा गाउन सिकाउनुभयो
मुक्त छ, मुक्त छ मेरो प्राण ।

होरासियो गेट्स स्पाफोर्डद्वारा रचित चर्चित भजनका शब्दहरू हुन् यी । ख्रिस्टाब्द १८७६ मा पहिलो पटक प्रकाशित यो एउटा प्रभावशाली भजन हो । यस भजनले ह्दय स्पर्शी पृष्ठभूमि बोकेको छ ।

स्पाफोर्डले जीवनमा कम से कम तिनवटा दर्दनाक घटनाको अनुभूति गरेपछि तिनले यो भजन लेखेका थिए ।

पहिलो घटना थियो: तिनले २ वर्षको आफ्नो छोरो गुमाए ।

दोस्रो थियो: १८७१ मा सिकागोमा भीषण आगलागी भएको थियो जसमा तिनले ठुलो आर्थिक क्षति बेहोर्नु परेको थियो । तिनी एक सफल वकिल थिए । तिनले लगानी गरेको क्षेत्रमा आगोले ठुलो क्षति पुर्याएएको थियो ।

तेस्रो थियो: पानी जहाज दुर्घटनामा स्पाफोर्डले आफ्ना चार छोरी गुमाए । तिनले आफ्नो परिवारलाई लिएर पानी जहाजबाट युरोप यात्रा गर्ने योजना बनाएका थिए । आफ्नो व्यस्तताको कारणले तिनले परिवारलाई अगाडि पठाए । तिनको परिवार चढेको भिल्ले डु हाभ्रे नामक पानी जहाजले एटलान्टिक महासागर पार गरिरहँदा २२ नोभेम्बर १८७३ मा त्यो अर्को पानी जहाजसित ठक्कर खान पुग्यो । परिणामत: जहाज तीव्र गतिमा डुब्न पुग्यो । स्पाफोर्डका चारै जना छोरीको निधन भयो । भाग्यवश: तिनकी पत्नी अन्ना बाँच्न सफल भइन् र उनले पतिलाई यसो भनेर सन्देश पठाइन्, “एकलै बाँचियो … ।”

पानी जहाज दुर्घटनाको केही समयपश्चात् स्पाफोर्ड शोकले आकुल व्याकुल भएकी आफ्नी पत्नीलाई भेट्न निस्के । तिनी चढेको पानी जहाज दुर्घटना भएको ठाउँ नजिकै पुग्दा तिनले माथि उल्लिखित शब्दहरू कोर्ने प्रेरणा पाएका थिए । लगभग १५ लाख पटक हेरिएको यस भजनलाई तपाईं पनि युटुबमा हेर्न र सुन्न सक्नुहुन्छ:

https://www.youtube.com/watch?v=zY5o9mP22V0

जापानको ओकिनवास्थित सिमाबुकु नाम गरेको गाउँमा बाइबलले उल्लेखनिय रुपान्तरण ल्यायो ।

२१ नोभेम्बर १९६९ मा पूर्वअमेरिकी राष्ट्रपति रिचार्ड निक्सोन र जापानी प्रधानमन्त्री इसाकु साटो ओकिनवा क्षेत्र जापानलाई फर्काउनमा सहमत भए । जापानको यसै क्षेत्रको एउटा गाउँमा विगतमा एउटा घतलाग्दो रूपान्तरण भएको थियो जुन यस प्रकार छ ।

दोस्रो विश्वयुद्ध (ख्रिस्टाब्द १९३९-१९४५) मा अमेरिका र जापान एक अर्काका शत्रु थिए । दोस्रो विश्वयुद्धको अन्त्य नजिकिँदै थियो ।

जापानको ओकिनवा टापुस्थित एउटा गाउँ छ जसलाई सिमाबुकु भनेर चिनिन्छ । केही अमेरिकी सिपाहीहरू त्यहाँ पुगे । तिनीहरू गाउँमा प्रवेश गरिरहँदा तिनीहरूले पूर्णत: आक्रमणको अपेक्षा गरेका थिए जुन अस्वाभाविक थिएन । तर ती अमेरिकी सिपाहीहरू छक्क परे जब दुई जना भद्र भलादमी मानिसले तिनीहरूको स्वागत गरे । तिनीहरूले शिर झुकाउँदै ती सिपाहीहरूलाई ख्रीष्टियान दाजुभाइको रूपमा निमन्त्रणा दिए । छक्क पर्दै ती गाउँलेका असल व्यवहारलाई विश्वास गर्न नसकेपछि ती सिपाहीहरूले तिनीहरूका पादरीलाई डाके ।

तिनीहरू सँगसँगै गाउँभित्र प्रवेश गरे । तिनीहरूले पहिले त्यस्तो कहिल्यै देखेका थिएनन् । ओकिनवा टापुका अन्य गाउँहरू फोहोर र दुर्गन्धित थिए अनि मानिसहरू गरिबी र अज्ञानतामा बाँचेका थिए । तर सिमाबुकु सफा र मनोहर थियो । गाउँलेहरूले प्रगति गरेका थिए र तिनीहरू खुसी थिए ।

के भएको रहेछ भन्ने कुरा ती सिपाहीहरूले पछि थाहा पाए ।

तिस वर्षअगि एक जना अमेरिकी मिसनरी त्यो गाउँको बाटो भएर गएका रहेछन् । तिनी त्यहाँ छोटो समयको लागि बसेका रहेछन् जुन बेला तिनले दुई जना मानिसलाई प्रभुमा जितेका रहेछन्: सोसी किना र तिनका भाइ मोजोन । मिसनरीले तिनीहरूको हातमा जापानी भाषामा अनुवाद गरिएको एउटा बाइबल दिएर त्यहाँबाट प्रस्थान गरेका रहेछन् ।

यस अवधिमा ती दाजुभाइले अन्य कुनै ख्रीष्टियानलाई भेटेनन् । तर बाइबल पढेर तिनीहरू ख्रीष्टप्रति यति समर्पित भएका थिए कि तिनीहरूले त्यस गाउँमा उदाहरणीय जीवन जिए ।

सोसी किना गाउँले प्रमुख बने भने मोजोन मुख्य शिक्षक । तिनीहरूको प्रभावमा परेर प्रत्येक गाउँले ख्रीष्टियान भयो ।

बाइबलका आदेशहरू नै तिनीहरूका कानुन थिए । गाउँको जीवन पूर्णत: परिवर्तन भएको थियो । तिनीहरू एकले अर्कालाई श्रेष्ठ ठान्थे र दाजुभाइ भनी सम्बोधन गर्थे । त्यहाँ संसारकै सर्वोत्तम प्रजातन्त्र अभ्यास भइरहेको थियो । दस आज्ञा र डाँडाको उपदेशलाई तिनीहरूले कानुन र नीतिशास्त्र बनाएका थिए । किनाको स्कुलमा बाइबललाई मुख्य साहित्य बनाइएको थियो । त्यसलाई दैनिक पढिन्थ्यो ।

यस्तो अभ्यासले के नतिजा ल्याएको थियो त ? सिमाबुकुमा वर्षौंसम्म कुनै जेलको आवश्यक परेन; कुनै वेश्यालय थिएन; मद्यपान थिएन; सम्बन्धविच्छेद थिएन । त्यहाँ उच्च स्तरको स्वास्थ्य र खुसी थियो ।

के यो बाइबलको रूपान्तरण गर्न सक्ने शक्तिको प्रस्ट उदाहरण होइन र ?

  • Kamal Adhikari