अमेरिका पत्ता लगाउने क्रिस्टोफर कोलम्बसलाई बाइबलले नै सामुन्द्रिक यात्रा गर्ने प्रेरणा मिलेको थियो

क्रिस्टोफर कोलम्बस इटालीका सामुद्रिक अन्वेषक थिए । तिनले चार पटक एटलान्टिक महासागर वारपार गरे । ख्रिस्टाब्द १४९२ मा तिनले पहिलो सामुद्रिक यात्रा थाल्दा जापान पुग्ने तिनको अपेक्षाको विपरीत तिनी नयाँ संसार पुगेका थिए । नयाँ संसार भन्नाले पश्चिमी गोलार्द्धलाई बुझ्नुपर्छ जहाँ उत्तर र दक्षिण अमेरिकाको दुवै भुगोल पर्दछन् । तसर्थ, अमेरिकाको दुवै महादेश पत्ता लगाउने श्रेय कोलम्बसलाई नै जान्छ ।

इतिहासमा परमेश्वरले गर्नुभएका अद्भूत हस्तक्षेपहरूमध्ये कोलम्बसको सामुद्रिक यात्रा एक हो । अन्यजातिहरू परमेश्वरमा आउने थिए भन्ने यशैयाका भविष्यवाणीहरू (जस्तै: ६०:३) बारे तिनी सचेत थिए । तिनले आफ्ना यात्राहरूलाई यी भविष्यवाणीहरूको समाप्तिको रूपमा हेरेका थिए ।

आफूले यात्रा सकेको एक दसकपछि तिनले लेखे, “इन्डिजमा सामुद्रिक यात्रा गर्ने विचार परमप्रभुले नै मेरो मनमा हालिदिनुभयो । मेरो परियोजनाको बारेमा सुन्ने सबैले नै मेरो उपहास गर्दै यसलाई हाँसोमा उडाइदिए । प्रेरणा पवित्र आत्माबाट नै आएको थियो भन्ने कुरोमा कुनै प्रश्न थिएन किनकि पवित्र धर्मशास्त्रका अद्भूत ज्योतिका किरणसहित उहाँले मलाई सान्त्वना दिनुभएको थियो । … इन्डिजमा यात्रा गर्दा हाम्रा प्रभु येशू ख्रीष्टले प्रस्ट आश्चर्यकर्म गर्न चाहनुभएको थियो ।”

क्रिस्चियानिटी टुडेअनुसार कोलम्बस ३० अक्टोबर १४५१ मा जन्मेका थिए ।

परमेश्वरले तिनलाई राज्यको मुहारमा परिवर्तन ल्याउन प्रयोग गर्नुभयो

२९ अक्टोबर १८३७ मा नेदरल्यान्डका एक जना पास्टरको घरमा एक बालकको जन्म भयो । तिनको नाउँ थियो, अब्राहाम कुपर । परिवारले तिनलाई “ब्राम” भनेर डाक्थ्यो ।

कुपर विश्वविद्यालयमा भर्ना भए र त्यस बेलाका डच विश्वविद्यालका प्राध्यापकहरू आधुनिकवादबाट प्रभावित थियो जसले ईश्वरीय प्रकाशलाई भन्दा मानवीय तर्कलाई उचाल्थ्यो । कुपर यसबाट प्रभावित नहुने कुरै थिएन । कट्टरवादी विश्वास लिएर विश्वविद्यालय प्रवेश गरेका तिनी साँढे एक वर्ष बित्न नपाउँदै लिबरल (उदारवादी) बने । तर केही रचनाहरूको अध्ययनपश्चात् तिनले जीवनमा पहिलो पटक उदारवादी ईश्वरशास्त्रप्रति आशङ्का व्यक्त गर्न थाले । अन्त्यमा थप अध्ययनपश्चात् तिनी कट्टरवादी काल्भिनवादको पक्षपोषक बन्न पुगे जसलाई तिनले राजनीतिक शक्तिको लागि प्रयोग गरे ।

प्रतिक्रान्तिकारी पार्टीको प्रमुख हुँदै कुपरले संसदमा आफ्नो उपस्थिति जनाए । तिनले आफ्नो पार्टीको दैनिक अखबारको सम्पादन गर्थे र त्यसको लागि १६,८०० ओटा सम्पादकीय पनि लेखे । ख्रिस्टाब्द १८८० मा अरूहरूसित मिलेर तिनले एउटा विश्वविद्यालयको स्थापना गरे जुन सुधारवादी ईश्वरशास्त्रको लागि समर्पित थियो । तिनी आफै सुव्यवस्थित ईश्वरशास्त्रका प्राध्यापक बने ।

१९०१ मा कुपर नेदरल्यान्डको प्रधनामन्त्री बने जुन पदमा तिनी चार वर्षसम्म रहे । परमेश्वरले तिनलाई राज्यको मुहारमा परिवर्तन ल्याउन प्रयोग गर्नुभयो ।

सारांशमा भन्नुरपर्दा, कुपर पत्रकार, राजनीतिज्ञ र ईश्वरशास्त्री थिए । तिनले नेदरल्यान्डमा सुधारवादी मण्डलीहरूको स्थापना गरे जुन मुलुककै दोस्रो ठुलो सुधारवादी सम्प्रदाय थियो । तिनले पत्रिकामा सम्पादकको काम गरे; विश्वविद्यालय स्थापना गरे; प्रतिक्रान्तिकारी पार्टी खोले र अन्त्यमा प्रधानमन्त्रीको रूपमा चार वर्षसम्म मुलुकको सेवा गरे ।

  • Kamal Adhikari

कानुनको लक्ष्य स्वतन्त्रतालाई निर्मूलन गर्नु वा नियन्त्रण गर्नु होइन, तर यसको संरक्षण गर्नु र बिस्तार गर्नु हो

सत्रौँ र अठारौँ शताब्दीमा युरोपेली इतिहासमा देखा परेको दर्शनशास्त्रसम्बन्धी अभियानलाई प्रबोधन काल भनेर चिनिन्छ जुन कालका एक सर्वाधिक प्रभावशाली विचारक थिए, जोन लक । तिनी “उदारवादका पिता” को रूपमा पनि व्यापक परिचित छन् । उदारवाद स्वतन्त्रता र समानताको अवधारणामा स्थापित एउटा राजनीतिक दर्शनशास्त्र हो जसले वाक्स्वतन्त्रता, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, खुला बजार, नागरिक हक, लोकतान्त्रिक समाज, धर्म निरपेक्ष सरकार, लैङ्‌गिक समानता र अन्तर्राष्ट्रिय सहकार्यको अवधारणाको समर्थन गर्छ ।

१६३२ मा इङ्गल्यान्डमा जन्मेका जोनका रचनाहरूले ज्ञानशास्त्र र राजनीतिक दर्शनशास्त्रको विकासमा उल्लेखनीय प्रभाव पारे । तिनको धार्मिक विश्वासबाट तिनको राजनीतिक अवधारणाको उद्‌भव भएको थियो भनी विचार गर्ने विद्वान्‌हरू पनि प्रशस्त छन् । तिनले बाइबलको परमेश्वरीय प्रेरणामाथि विश्वास गर्थे । आश्चर्यकर्महरू बाइबलीय सन्देशका ईश्वरीय स्वभावका प्रमाणहरू थिए । बाइबलको सम्पूर्ण विषयवस्तुसित मानवीय तर्क मेल खान्छ भनी तिनी विश्वस्त थिए । तिनी धार्मिक सहिष्णुताको पक्षपोषक भए तापनि नास्तिकवादप्रति असहिष्णु थिए किनकि परमेश्वरको अस्तित्वको इन्कारले सामाजिक अमन चैनलाई खलबल्याउँछ भन्ने तिनको तर्क रहेको थियो ।

जोनको राजनीतिक विचारधारा प्रोटेस्टेन्ट ख्रीष्टियान पूर्वानुमानमा आधारित थियो । मानिसबारे तिनको धारणा सष्टिमाथिको विश्वासद्वारा आरम्भ भएको थियो । हामी उहाँका हातका सिप हौँ । तिनको राजनीतिक सिद्धान्तबारे आधारभूत अवधारणा सृष्टि (उत्पत्ति १-२), दसाज्ञा (प्रस्थान २०), स्वर्णीम नियम (मत्ती ७:१२), येशूका शिक्षाहरूसाथै पावलीय पत्रहरूजस्ता बाइबलीय पाठ्यांशहरूबाट नै प्रादुर्भाव भएको थियो । तिनकै अवधारणालाई पछ्याउँदै अमेरिकाको स्वतन्त्रताको घोषणापत्रले मानव अधिकारवादलाई स्थापित गरेको थियो । हामी सबै समान रूपमा सृजित छौँ, सृष्टिकर्ताले सबै मानिसलाई जीवन, स्वतन्त्रता र खुसीको खोजीजस्ता अधिकारहरू दिनुभएको छ ।

७२ वर्षको उमेरमा २८ अक्टोबर १७०४ मा निधन भएका यी ब्रिटिस दार्शनिक लकले कानुनले स्वतन्त्रताप्रति कस्तो दृष्टिकोण बनाउनुपर्छ भनी सठिक ढङ्गमा व्यक्त गरेका छन्, “कानुनको लक्ष्य स्वतन्त्रतालाई निर्मूलन गर्नु वा नियन्त्रण गर्नु होइन, तर यसको संरक्षण गर्नु र बिस्तार गर्नु हो ।”

Kamal Adhikari

सम्राट् कन्स्टेन्टाइन आफै नै ख्रीष्टियान बने ।

कन्स्टेन्टाइन महान् रोमी साम्राज्यका सन्ताउन्नौँ सम्राट् थिए जसले ख्रिस्टाब्द ३०६-३३७ सम्म शासन गरे । मण्डली र साम्राज्य दुवैको इतिहासमा तिनको शासन परिवर्तनको निर्णायक बिन्दु साबित हुन पुग्यो । इतिहासकारहरू तिनलाई पहिलो ख्रीष्टियान सम्राट्को रूपमा हेर्छन् ।

ख्रिस्टाब्द २७२ तिर रोमी प्रान्त मोइसिया (आधुनिक युरोपेली मुलुक सर्बिया) मा कन्स्टेन्टाइनको जन्म भएको थियो । आफू बिरामी परेर मर्न लाग्दा पिता फ्लाभिअसले छोरो कन्स्टेन्टाइनलाई पश्चिमी रोमको सम्राट् बनाए । त्यसपछि तिनले ब्रिटेन, गउल र स्पेनमाथि शासन गर्न थाले । तिनले आफ्नो राज्यको सिमानालाई बढाए र जनताले तिनलाई असल शासकको रूपमा हेर्न लागे ।

तर गृहयुद्ध चर्किएपछि धेरै शक्तिशाली मानिसहरूले रोमी साम्राज्यलाई आफ्नो कब्जामा पार्न चाहे जसमध्ये एक थिए, म्याक्सिन्टस । तिनले आफैलाई सम्राट् घोषणा गरे । रोममा बस्ने यी स्व-घोषित शासकले रोम र इटालीमाथि कब्जा जमाए ।

कन्स्टेन्टाइन र तिनको सेना म्याक्सिन्टसको विरुद्धमा युद्ध गर्न अगाडि बढे । म्याक्सिन्टसको सेनाको आकारको तुलनामा कन्स्टेन्टाइनको सेनाको आकार झण्डै आधा भए तापनि २७ अक्टोबर ३१२ मा कन्स्टेन्टाइन महान्‌ले ख्रीष्टको दर्शन देखेका थिए जसमा तिनले ख्रीष्टको नाउँमा युद्ध गरे जित हासिल गर्ने थिए भनी तिनलाई बताइएको थियो । नभन्दै, तिनले युद्ध जिते र तिनी पश्चिमी रोमको एक मात्र सम्राट् बने भने लिसिनस पूर्वका सम्राट् बने । कन्स्टेन्टाइनले युद्धको सफलताको श्रेय ख्रीष्टियान परमेश्वरलाई दिए यद्यपि यसभन्दा अगि तिनले सूर्य देवतालाई पुज्ने गर्थे ।

मण्डली इतिहासमा ख्रिस्टाब्द ३१३ लाई एउटा महत्त्वपूर्ण साल मानिन्छ । यही सालमा पूर्व र पश्चिमका दुवै सम्राट्ले हस्ताक्षर गरेको मिलानको घोषणा जारी गरियो । अब ख्रीष्टियान धर्मले वैधानिकता पायो । रोमी साम्राज्यमा ख्रीष्टियानहरूलाई सताउन नपाउने भयो यद्यपि यसभन्दा अगि मनग्गे ख्रीष्टियानहरू ख्रीष्टमाथिको विश्वासकै कारणले सहिद बन्नुपरेका थिए । राज्यले देवी-देवताहरूलाई चढाउने पशु बलिले निरन्तरता पाएन; सम्राट्ले मण्डलीलाई उचित स्थान प्रदान गरे; तिनले मानवतावादी सुधारहरूको अनुसरण गरे; हरेक नागरिकलाई धार्मिक स्वतन्त्रता प्रदान गरियो; अगिल्ला सतावटहरूमा खोसिएका विश्वासीहरूका सम्पत्ति फिर्ता गरिए । सम्राट् कन्स्टेन्टाइन आफै नै ख्रीष्टियान बने ।

अनुगामी वर्षहरूमा थप कानुनहरू ल्याइए जुन ख्रीष्टियान मूल्य मान्यताहरूमा आधारित थिए । सबै मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको छ भन्ने बुझाइको कारणले दास र अपराधीहरूलाई निधारमा छाप लगाउने कार्यलाई निषेध गरियो; दासलाई क्रुसमा झुन्ड्याउने चलनको निर्मूलन गरियो; मान्छेले मान्छेको विरुद्धमा लडेर रगत बगाई मनोरञ्जन लिने खेललाई मनाही गरियो; अनपेक्षित शिशुहरूलाई मार्ने अभ्यासमा रोक लगाइयो ।

तर पूर्वका सम्राट् लिसिअसलाई राज्यका केही गतिविधिहरू मन परिरहेको थिएन । त्यसैले तिनले ख्रीष्टियानहरूलाई पुन: सताउन थाले । तर पश्चिमका सम्राट् कन्स्टेन्टाइन त्यसको विपक्षमा उत्रिए । कैयौँ युद्धहरूपश्चात् कन्स्टेन्टाइनले लिसिअसलाई पराजित गरे र ३२४ मा कन्स्टेन्टाइन एकीकृत रोमको शासक बने ।

सम्राट्ले कन्स्टेन्टिनोपललाई नयाँ राजधानी बनाए । झण्डै ६ वर्ष लगाएर निर्माण गरिएको यो सहरले ३३० मा पूर्णता पाएको थियो । यो यति वैभवशाली थियो कि यसले रोमसँग प्रतिस्पर्धा गर्थ्यो । ख्रिस्टाब्द १४५३ मा यो मुसलमानहरूको हातमा नपरुञ्जेलसम्म यो मध्यकालभरि नै सर्वाधिक ठुलो सहर बन्यो ।

आफ्नो मृत्युको केही समयअगि मात्र बप्तिस्मा लिएका कन्स्टेन्टाइन ख्रिस्टाब्द ३३७ मा प्रभुमा सुते र तिनको शवलाई नयाँ राजधानीमा गाडियो । तिनको मृत्युमा विश्वले शोक मनाएको थियो ।

आँखाबाट आँसु झार्दै तिनले आफ्नो जीवन येशूको पाउमा सुम्पे

१५ वर्षको उमेरमा तिनी याले विश्वविद्यालयमा प्रवेश गरे । तिनको आत्मिक जीवन कमजोर भएकोले तिनी सजिलैसित पापका खाडलहरूमा फसे । तिनी उत्ताउला थिए; मण्डलीमा उपस्थित हुन्थे; प्रार्थना सभामा उपस्थित हुन्थे; बाइबल पढ्थे; आफै प्रार्थना गर्थे र पनि तिनले परिवर्तित जीवनको महसुस गरेका थिएनन् । तिनले साँचो खुसी पाएका थिएनन् । तिनी पापको गहिराइतिर जाँदै थिए ।

एक रातको कुरो हो । तिनी होटलको कोठामा थिए । तिनी सुत्न सकेनन्; जीवनदेखि थाकेका थिए । तिनले गोली हानी आत्महत्या गर्नेसम्मको सोच पनि बनाए ।

तर तिनकी आमाले भनेका वचनहरू तिनको मनभित्र नाच्न थाले जसले तिनको साँचो परिवर्तनको लागि प्रार्थना गरिरहेकी थिइन् । पवित्र आत्माले तिनलाई दोषी ठहराउनुभयो र तिनले घुँटा टेके । तिनको अन्धकारपूर्ण ह्रदय परमेश्वरको प्रेमको ज्योतिले भरियो । आँखाबाट आँसु झार्दै तिनले आफ्नो जीवन येशूको पाउमा सुम्पे र तिनले नयाँ जन्म पाए ।

को थिए तिनी ? तिनलाई दुनियाँले आर. ए. टोरीको नाउँले चिन्छ । तिनी अमेरिकाकै प्रभावशाली सुसमाचार प्रचारक, पास्टर, शिक्षाविद् र लेखक बने ।

४० भन्दा बेसी पुस्तकका लेखक टोरीले १९०७ मा ह्विटन कलेजबाट मानार्थी विद्यावारिधि पाएका थिए । हजारौँ मानिसलाई ख्रीष्टमा जित्न सफल टोरीले स्थापना गरेको बाइबल स्कुललाई हाल बायोला विश्वविद्यालय भनेर चिनिन्छ जुन संसारभरि परिचित छ ।

७३ वर्षको दीर्घायुमा २६ अक्टोबर १९२८ मा यस धरतीबाट बिदा भएका टोरीले पवित्र धर्मशास्त्र बाइबलको बारेमा यसो भनेका छन्, “यो पुस्तकलाई संसारबाट निर्मूलन पार्नको लागि मानवीय विज्ञान, दर्शनशास्त्र, चतुरता, तर्क वा क्रुरताको हरेक उपकरण जुन यसको विरुद्धमा ल्याउन सकिन्थ्यो अठार शताब्दीसम्म त्यो ल्याइएको भए तापनि यसले पहिलेभन्दा अहिले संसारमा अझै शक्तिशाली ढङ्गमा पकड जमाएको छ । यदि यो मानिसको पुस्तक थियो भने यसको निर्मूलन भइसक्नेथियो र सैयौँ वर्ष पहिले नै यो गायब भइसक्थ्यो ।”

हजारौँको जीवन परिवर्तन गर्न परमेश्वरले ज्याकको जीवन परिवर्तन गर्नुभयो

तिनको नाउँ थियो, क्यास्पर वार्टजन । १९१३ मा अमेरिकामा जन्मेका वार्टजनको यस नाउँलाई माध्यमिक स्कुलमा जिस्काइएपछि तिनले आफ्नो नाउँ परिवर्तन गरी “ज्याक” राखे । तिनको परिवार यदाकदा मण्डलीमा उपस्थित हुने भए तापनि ज्याक भने धर्मको उपेक्षा गर्दै हुर्के ।

ज्याकले स्कुल छाडे र तिनी जर्ज स्किलिङ्ग नाउँ गरेको जँड्याहाको मित्र बन्न पुगे । दिनहरू बित्दै जाँदा जर्जमा परिवर्तन आयो र तिनले बाइबल पढ्न थाले र हरेक रात प्रार्थनाको लागि घुँडा टेक्ना लागे जुन हरेकको लागि छक्क पार्ने कुरो थियो । ज्याक र तिनका मित्रहरूले जर्जलाई हाँसोमा उडाइदिन्थे । जर्जले ज्याकलाई बारम्बार यूहन्नाको सुसमाचारका प्रतिहरू दिए तापनि तिनले बारम्बारै च्यातिदिन्थे । अन्ततः एक दिन ज्याकले त्यसलाई पढे ।

एक साँझ नरकको आगो र गन्धकको बारेमा प्रचार गरेको सुनेर ज्याक औधी रिसाए । तथापि तिनी यसो भनेर सोच्न भनी रोकिएनन्, “स्वर्ग र नरक अस्तित्वमा छन् भने!”

आफ्नो घमण्ड र डरको कारणले गर्दा मात्र ज्याक रिसाएका थिए भनी त्यस साँझ तिनले महसुस गरे । येशूले तिनलाई प्रेम गर्न सक्नुहुन्थ्यो भन्ने सम्भावनामाथि तिनले मनन गरे । के ख्रीष्ट तिनको निम्ति पनि मर्नुभएको थियो? अन्त्यमा ज्याकले घुँडा टेके र आफ्नो जीवन प्रभु येशू ख्रीष्ट‍को चरणमा सुम्पे । भोलिपल्ट तिनी नयाँ मान्छे भएर ब्युँझे ।

ज्याकले तुरुन्तै दैनिक बाइबल अध्ययन र प्रार्थनामा समय बिताउने आफ्ना मित्र जर्जको उदाहरणलाई पछ्याए । तर आफूले नयाँ जन्म पाएको कुरा तिनले केही महिनासम्म जर्जलाई बाहेक अरू कसैलाई बताएनन् । तिनी सङ्गीत झुण्डमा परिचित मान्छे थिए । यसको अतिरिक्त, तिनी ख्रीष्टियान भएको यथार्थता सुनेर तिनकी गर्ल फ्रेन्ड मार्ज पनि सन्तुष्ट हुन्थिनन् भन्ने कुरामा तिनी निश्चित थिए ।

केही महिना बितेपछि ज्याकले एउटा पत्र प्राप्त‍ गरे जसलाई पढ्दा तिनी तिन छक खाए, “हे प्रिय, मैले उद्धार पाएकी छु, र तपाईंले पनि उद्धार पाउनुभएको होस् भन्ने मेरो इच्छा छ । तर म घर नफर्कुञ्जेलसम्म तपाईंले उद्धार नपाउनुहोस् किनकि म तपाईंलाई उद्धारको मार्गमा लैजान चाहन्छु । तपाईंकी प्यारी मार्ज ।” खुसीले गद्‌गद् हुँदै ज्याकले तुरुन्तै जवाफ लेखेर पठाए ।

जर्जसाथै अन्य दुई जना दौँतरीसित मिलेर ज्याकले ब्रुकलिन भन्ने ठाउँमा सुसमाचारीय रात्री सेवा सञ्चालन गर्न थाले । आफ्नो सेवाको पाललाई तन्काउँदै तिनले शक्तिशाली न्युयोर्क रेडियो स्टेसनबाट सन्देश प्रसारण गर्न थाले । २५ अक्टोबर १९४१ मा पहिलो प्रसारण गरिएको थियो ।

ज्याक युवा सुसमचार प्रचारकको रूपमा चिनिए र तिनले जीवनको वचन सेवा-कार्यको थालनी गरे जुन सेवालाई तिनले ५० वर्षसम्म अगुवाइ गरे । यसरी, हजारौँको जीवन परिवर्तन गर्न परमेश्वरले ज्याकको जीवन परिवर्तन गर्नुभयो ।

  • kamal Adhikari