म विश्वास गर्दछु कि प्रभु येशूको सेवा गर्दा मेरो मृत्यु भयो भने मेरो मृत्यु आदिवासीहरूले खाएर होस् या किराले खाएर होस् त्यसले मलाई केही पनि फरक पार्दैन ।

स्कटल्यान्डका दुई जना मिसनरी सुसमाचार लिएर दक्षिण प्रशान्त क्षेत्रमा पर्ने न्यु हेब्रिडेस (हाल भानुआटु) नाउँ गरेको टापुमा गए । तर दुर्भाग्यवश: तिनीहरू पुगेकै दिनमा मान्छेको मासु खाने त्यहाँका आदिवासीहरूले दुवै जनालाई खाइदिए । त्यस दु:खदायी घटनाको कारणले गर्दा मिसनरीहरूलाई त्यहाँ जान मुश्किल पर्योस ।

तर जोन जी. पाटोन नाउँ गरेका स्कटल्यान्डकै अर्का मिसनरीले ती आदिवासीहरूको बिचमा जाने साहस गरे । मण्डलीका जान्नेसुन्नेहरूले तिनलाई निरुत्साही पारी जानदेखि रोक्न खोजे तापनि तिनी आफ्नो दर्शनप्रति अडिग रहे । जोनलाई त्यहाँका आदिवासीहरूले खाइदिने थिए भनी एक जना वृद्धले चेताउनी दिए । तर तिनको जवाफ थियो, “म विश्वास गर्दछु कि प्रभु येशूको सेवा गर्दा मेरो मृत्यु भयो भने मेरो मृत्यु आदिवासीहरूले खाएर होस् या किराले खाएर होस् त्यसले मलाई केही पनि फरक पार्दैन । त्यस महान् दिनमा पुनरुत्थान हुनुभएका हाम्रा मुक्तिदाताको जस्तै शरीर मैले पनि पाउनेछु जस्तो तपाईंले पाउनुहुनेछ ।” त्यसपछि ख्रिस्टाब्द १८५८ मा तिनी त्यस ठाउँमा येशूको सुसमाचार लिएर गए ।

को थिए पाटोन? तिनी १८२४ मा स्कटल्यान्डमा जन्मेका थिए । आफ्नो बाल्यावस्थामा नै तिनको जीवनले आत्मिक आकार धारण गरिसकेको थियो । आफ्ना पिताको दैनिक बाइबल अध्ययन र प्रार्थनाबाट तिनी निकै प्रभावित थिए । वर्षौंपश्चात् स्कटल्यान्डको सुधारवादी मण्डलीले प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा सुसमाचार लिएर जानको लागि मिसनरी खोज्दा जोन आफ्ना बुबाआमासित सल्लाह लिन गए । तिनीहरूले पाटोनलाई यस्तो कुरो प्रकट गरे जुन तिनीहरूले तिनलाई पहिले कहिल्यै बताएका थिएनन् । त्यो कुरो थियो– तिनको जन्मअगि नै तिनी विदेशी मिसनको लागि अर्पण गरिएका थिए ।

भानुआटुमा पाटोनले निकै सङ्घर्ष गर्नुपर्योअ । ती नरभक्षीहरूका बिचमा तिनी बारम्बार खतरामा पर्थे । ती आदिवासीहरूलाई सुसमाचार सुनाउनु फलामको चिउरा चपाउनुसरह थियो ।

तथापि परिवर्तनको बिन्दु आयो । त्यस टापुका बासिन्दाहरूलाई ताजा पानी उपलब्ध गराउने उद्देश्यले पाटोनले इनार खन्ने निधो गरे । तर ती आदिवासीहरू यति भयभीत भए कि तिनले जमिनमुनिबाट वृष्टि ल्याउँदै थिए जुन अप्रिय घटनाको सूचक थियो भनी तिनीहरूले अर्थ लगाए । पाटोनले ३० फिट गहिरो इनार खनी ताजा पानी निकाले । त्यसपछि तिनको मिसनको विरुद्धमा भएको आदिवासीहरूको अवधारणा पानीको फोकाझैँ विलय भएर गयो । तिनीहरूले तिनलाई पूर्णतः आदर गर्न थाले । मामोकी नाम गरेका त्यहाँका मुखियाले ख्रीष्टलाई अङ्गाले अनि अन्य केहीले पनि साहसिलो कदम उठाए ।

पाटोन भानुआटुमा आएको लगभग ११ वर्षपछि २४ अक्टोबर १८६९ का दिन तिनले पहिले प्रभु-भोज सञ्चालन गरे जसमा १२ जना नयाँ जन्म पाएका नरभक्षीहरूले सहभागिता जनाएका थिए ।

पाटोनले आफ्नो मिसनलाई जारी राखे र परिणामस्वरूप पन्ध्र वर्षभित्रमा भानुआटुमा अवस्थित अनिवा नाउँ गरेको टापुका झण्डै सबै मानिसले प्रभु येशूमाथि विश्वास गरे ।

क्रुरभन्दा क्रुर मानिसहरूलाई बद्ल्न सक्ने येशूको सुसमाचारको के यो प्रस्ट शक्ति होइन र?

  • Kamal Adhikari

Related Articles

Back to top button