प्राचीन बाइबलमा आधुनिक खगोल विज्ञान

कमल अधिकारी

ख्रीष्टाब्द १९८० मा लागेको खग्रास सूर्य ग्रहण भारतका अधिकांश भागहरूबाट देखिन्थ्यो । सूर्यको सतहमा पूर्णरूपले गोलाकार कालो धब्बा लाग्नुलाई नै खग्रास सूर्य ग्रहण भनिन्छ । सूर्य ग्रहणको बेलामा सूर्यको सतहमा कालो धब्बा लाग्नु अरू केही नभएर चन्द्रमाले सूर्यलाई छेक्नु हो । खग्रास सूर्य ग्रहण लागेको बेला दिउँसै रातजस्तै अन्धकार हुन्छ । यस समयमा आकाश कालो हुनुका साथै आकाशका ताराहरू चम्केको देखिन्छन् । सूर्य ग्रहणको अनौठो दृष्यले केही अन्धविश्वासी मानिसहरूले भारतको पूरै जनसङ्ख्यालाई आतङ्कित पार्ने बन्दोवस्त गरे । कुनै पनि वैज्ञानिक सङ्घ–संस्थाहरूले ती मानिसहरूको डरलाई मुक्त गर्न सकेनन् । परिणामत: सबै स्कूल र कार्यालयहरू बन्द गरिए । यहाँसम्म कि सार्वजनिक यातायातका साधनहरू पनि कैयौं घण्टासम्म चलेनन् । उक्त दिनमा भारतवासीहरू यति डराएका थिए कि पूरै भारतलाई पक्षघात लागेको जस्तो देखिन्थ्यो । बीसौं शताब्दीमा आइपुग्दा पनि खगोल विज्ञानबारे भएको तिनीहरूको अन्धविश्वासलाई कुनै सन्देशले पराजित गर्न सक्दैनथ्यो । राहु र केतु नामका राक्षसहरूले सूर्यलाई निल्दा सूर्य ग्रहण लाग्छ भन्ने कथा भारतका प्राचीन मानिसहरूले बुनेका थिए । यही अन्धविश्वासलाई हजारौं वर्षसम्म पछिल्ला पुस्ताहरूले पछयाउँदै आए । यी आधुनिक भारतीयहरूको खगोलसम्बन्धी अन्धविश्वासको ज्वलन्त उहाहरण हो । यसको विपरीत बाइबल एउटा प्राचीन पुस्तक भए तापनि यसमा खगोलसम्बन्धी एउटै पनि त्रुटिपूर्ण धारणा पाईंदैन । बाइबलका अनुयायीहरू अन्धविश्वसको सागरमा डुब्नु पर्दैन । परमेश्वरले दिनुभएका तर्कशक्ति, समझशक्ति, विवेकको भरमग्दुर प्रयोग गरेर ख्रीष्टियानहरू यथार्थताको शिखरमा चढ्न हरपल कोशिस गरिरहन्छन् । यो बाइबलले नै ल्याएको उत्साह हो ।
सूर्य, चन्द्रमा, तारा र ग्रह आदिबारे गरिने वैज्ञानिक अध्ययनलाई खगोल विज्ञान भनिन्छ । स्मरण रहोस्, खगोल विज्ञान ज्योतिषशास्त्रभन्दा बिलकुलै फरक छ । खगोल विज्ञान विशुद्ध विज्ञान हो भने ज्योतिषशास्त्र मिथ्या विज्ञान हो । खगोल विज्ञान प्राचीन विज्ञानहरूको सूचीमा पर्ने एउटा विज्ञान हो । प्राचीन समयदेखि नै यसको अध्ययन गरिँदै आएको थियो भनी आधुनिक पुरातात्त्विक उत्खननहरूले पुष्टि गरेका छन् । बाइबलमा हामी खगोल विज्ञानसम्बन्धी झण्डै ३०० सन्दर्भहरू पाउँछौं । ती सन्दर्भहरूले खगोल विज्ञानका विभिन्न पाटाहरूलाई छुन्छन् । सबै विज्ञानहरूमध्ये बाइबलले खगोल विज्ञानको बारेमा बढी बताएको छ । सूर्य, चन्द्रमा, ताराहरू, ग्रहहरू र तारापुञ्जहरूको बाइबलले उल्लेख गरेको छ । यसले आकाश, नक्षत्रको उल्लेख गर्छ र घाम पृथ्वीसाथै मानवजातिलाई ज्योति दिनलाई हो भनी चर्चा गर्छ । उत्पत्ति, गन्ती, यहोशू, न्यार्यकर्ता, अय्यूब, भजनसंग्रह, आमोस, लूका, हिब्रू, १ र २ पत्रुस, यहूदा र प्रकाशको पुस्तकमा खगोलसम्बन्धी मुख्य विषयवस्तुहरू पाइन्छन् । खगोल विज्ञानबारे प्राचीन संसारका गैह्रख्रीष्टियानहरूको बीचमा व्याप्त त्रुटिपूर्ण धारणाहरू पाइएको भए तापनि बाइबलमा एउटै पनि त्यस्तो धारणा नपाइनु एउटा बौद्धिक बाइबल आलोचकको लागि आश्चर्यपूर्ण कुरो हुनैपर्छ ।
खगोल विज्ञानको क्षेत्रमा प्राचीन मानिसहरूले केही हदसम्म विकास गरेका भए तापनि तिनीहरूका धेरैजसो धारणाहरू गल्तीले भरिएका छन् । तिनीहरूलाई सूर्यकेन्द्रित सिद्धान्त (सूर्य केन्द्रमा छ र यसको वरिपरि ग्रहहरूले परिक्रमा गर्छन्) को बारेमा केही थाहा थिएन । बरु, तिनीहरूले पृथ्वीकेन्द्रित सिद्धान्त (पृथ्वी केन्द्रमा छ र सूर्यलगायत अन्य ग्रहहरूले पृथ्वीको वरिपरि परिक्रमा गर्छन्) लाई मान्थे । पृथ्वी चेप्टो छ र यो दैत्य वा कुनै प्राणीमा अडेको छ भनी धेरैजसो संस्कृतिमा विश्वास गरिन्थ्यो । आकाश एउटा ठोस वस्तुले बनेको कचौरा हो जसमा ताराहरू रत्नजस्तै गरी जोडिएका छन् भनी कतिपय मानिसहरू सोच्ने गर्थे । देवी देवताहरूको लडाईंपछि तिनीहरू आकाशीय पिण्डमा रूपान्तरण भए भन्ने प्राचीन मानिसहरूको विचार थियो । पुछ्रे ताराहरूलाई विपत्ती वा अलच्छिनका सन्देशवाहकहरूको रूपमा सङ्कोचसहित हेरिन्थ्यो । सूर्य ग्रहण र चन्द्र ग्रहणलाई अपशकुन बताउने रहस्यमय घटनाको रूपमा विचार गरिन्थ्यो । खगोल विज्ञानबारे प्राचीन संसारमा भएका यी केही त्रुटिपूर्ण अन्धविश्वासहरू हुन् ।
प्राचीन पुस्तकहरूको सूचीमा पर्ने एउटा पुस्तक बाइबल पनि हो । बाइबल मानवीय बुद्धिद्वारा लेखिएको भए खगोल विज्ञानको सम्बन्धमा भएका ती त्रुटिहरू बाइबलमा समावेश हुने प्रबल सम्भावना थियो । तर, बाइबलको आद्योपान्त जाँचले प्रकट गर्छ कि एउटै पनि यस्तो गल्ती बाइबलका पानाहरूमा अभिलिखित छैन । यसको विपरीत बााइबलका कतिपय खण्डहरूले खगोल विज्ञानसम्बन्धी सत्यताहरूको उजागर गर्छन् जसलाई खगोलविद्हरूले हालै मात्र पत्ता लगाएका छन् । खगोल विज्ञानबारे भएका ती अविश्वसनीय सत्यताहरूमध्ये यस लेखमा हामी चार ओटालाई हेर्नेछौं ।

१. ब्रम्हाण्डको आरम्भ छ ।
बाइबलको पहिलो पदले बताउँछ, “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । ब्रम्हाण्ड अनन्त छ भनी विचार गर्नु प्राचीन समयमा सामान्य कुरो थियो । तर, प्राचीन अवधारणाको विपरीत एउटा निश्चित विन्दुमा ब्रम्हाण्डको आरम्भ भएको छ भनी बाइबलको सिकाएको छ । महानतम वैज्ञानिक अल्बर्ट आइन्सटाइनको समयसम्म ब्रम्हाण्ड अनन्त छ भनी साधारणत: विश्वास गरिँदै आएको थियो । तथापि ख्रीष्टियानहरूले बाइबलीय प्रकाशको आधारमा ब्रम्हाण्ड अनन्त छैन, यसको सुरुआत छ भनी विश्वास गर्दै आएका छन् । ब्रम्हाण्डको उदयको विषयमा बाइबलले त्यस्तो सामान्य कथन लेखेकोले विगतमा यसले कडा आलोचना सहनुपर्‍यो । तर, थर्मोडाइनामिक्सको दोस्रो नियम, ब्रम्हाण्डको फैलावट, महाविस्फोटको विकिरण, कोबले पत्ता लगाएका तरङ्गहरू र आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तजस्ता पाँच वैज्ञानिक साक्षीले ब्रम्हाण्ड अनन्त छैन, एउटा निश्चित विन्दुमा यसको आरम्भ भएको छ भनी अहिले पुष्टि गरिदिएका छन् । विश्व चर्चित वैज्ञानिक स्टिफेन हकिङ्ग बताउँछन्, “झण्डै प्रत्येक व्यक्तिले अहिले विश्वास गर्छ कि ब्रम्हाण्ड, र समय पनि महाविस्फोटमा सुरु भएका थिए ।”ज्ञ

२. सूर्यले ृआकाशगङ्गा तारापुञ्जको परिक्रमा गर्छ ।
करिब तीन सहस्राब्दीअगि भजनका लेखक दाऊदले लेखे, “तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन् । उहाँले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ । ऊ विवाह–मण्डपबाट निस्केको दुलहाजस्तै छ, एक जना विजेताझैँ, जो आºनो दौड दौड्नमा हर्षित हुन्छ । आकाशको एक छेउमा उसको उदय हुन्छ, र अर्को सीमासम्म परिक्रमा गर्छ । त्यसको तापबाट केही कुरा लुकेर रहँदैन” (भजनसंग्रह १९:४–६) । सूर्यले परिक्रमा गर्छ भनी दाऊदले यहाँ बताएका छन् । सूर्यले पृथ्वीलाई केन्द्र मानी त्यसको परिक्रमा गर्छ भनी बाइबलले यहाँ सिकाएको छ, जुन खगोल विज्ञानअनुसार गलत हो भनी विगतमा दाबी गरिएको थियो । तर, बुझ्नै पर्ने कुरो यो हो कि सूर्यले पृथ्वीको परिक्रमा गर्छ भनी यस खण्डमा बताइएको छैन । सूर्यले परिक्रमा गर्छ भनेर मात्र बताइएको छ । के को परिक्रमा गर्छ, त्यो बताइएको छैन ।
अहिले हामीलाई थाहा छ कि चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्छ, पृथ्वीले चन्द्रमालाई साथमा लिएर र सबै ग्रहले आ–आºना उपग्रहलाई साथमा लिई सूर्यको परिक्रमा गर्छन् । सूर्य पनि स्थिर छैन भनी पछिल्ला खोजहरूले देखाएका छन् । सूर्यले सबै ग्रह, उपग्रह र सौर्य मण्डलमा भएका सबै पिण्डहरूलाई साथमा लिई आकाशगङ्गा तारापुञ्जको परिक्रमा गरिरहेको छ । प्रतिघण्टा ६ लाख माइलको गतिमा सूर्य आकाशगङ्गाको वरिपरि घुमिरहेको छ । आकाशगङ्गालाई एक फन्को मार्न सूर्यलाई २३ करोड वर्ष लाग्छ । तारापुञ्ज पनि स्थिर छैन । आफूभित्र रहेका करिब डेढ खरब तारालाई लिई आकाशगङ्गा पनि अनिश्चित दिशातर्फ यात्रा गरिरहेको छ । आधुनिक खगोल विज्ञानको विषयमा दाऊदलाई यी जानकारी नभए तापनि पवित्र आत्माले यी वचनहरू लेख्न दाऊदलाई प्रेरणा दिनुभयो । सूर्यको यस परिक्रमालाई हब्बलको दूरदर्शक यन्त्रबाट वास्तवमै अवलोकन गर्न सकिन्छ भनी जेफ्रीले बताएका छन् ।द्द

३. चन्द्रमाभन्दा सूर्य ठूलो छ ।
मोशाले झण्डै साँढे तीन सहस्राब्दीअगि लेखे, “अनि परमेश्वरले दुइ विशाल ज्योतिहरू बनाउनुभयो— ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति रातमाथि प्रभुत्व गर्न” (उत्पत्ति १:१६) । अर्को शब्दमा भन्नुपर्दा चन्द्रमाभन्दा सूर्य ठूलो छ भनी मोशा बताउँदै थिए । सूर्यको भन्दा चन्द्रमाको गोलोपना कहिलेकाहिँ ठूलो देखिने भएकोले चन्द्रमा नै ठूलो छ भनी प्राचीन खगोलविद्हरू सोच्ने गर्थे । यस सोचलाई ध्यानमा राख्दा मोशाको भनाइलाई अचम्म मान्नैपर्छ । यस पदमा ध्यान दिनयोग्य अर्को पक्ष यो हो कि “सबैभन्दा ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न” भनी मोशाले लेखेका छैनन् । यस ब्रम्हाण्डमा सूर्यभन्दा ठूला–ठूला ताराहरू असङ्ख्य छन् । ती धेरै टाढा भएकाले सूर्यभन्दा साना देखिएका हुन् भन्ने तथ्य आज साधारण विज्ञानको विद्यार्थीलाई पनि थाहा छ ।
सूर्य पृथ्वीबाट सबैभन्दा नजिकको एउटा तारा हो । चन्द्रमाभन्दा सूर्य करिब चार सय गुणा ठूलो छ । एक्काइसौं शताब्दीको यस प्राविधिक युगमा चन्द्रमाभन्दा सूर्य ठूलो छ भन्ने जानकारी सामान्य हो । तर, मोशा बाँचेको अप्राविधिक युगमा ईश्वरीय प्रेरणाविना अन्य कुन स्रोतबाट तिनलाई यो थाहा हुन सक्थ्यो ?

४. ताराहरू विभिन्न किसिमका छन् ।
आजभन्दा झण्डै दुई हजार वर्षअगि पावलले लेखे, “सूर्यको तेज एक किसिमको, चन्द्रमाको तेज अर्कै किसिमको, र ताराहरूको तेज अर्कै किसिमका हुन्छन् । किनभने एउटा तारा अर्को ताराभन्दा तेजमा भिन्दै हुन्छ” (१ कोरिन्थी १५:४१) । तेजमा ताराहरू फरक–फरक हुन्छन् भनी पावल यहाँ बताउँदै छन् । नाङ्गा आँखाले सबै ताराहरू उस्तै देख्छन् । यो साँचो हो कि आकाशमा हेर्दा केही ताराहरू बढी चम्किला देखिन्छन् भने केही कम चम्किला । र, दूरीको कारणले यसो भएको हो भनी हामी सजिलैसित अनुमान गर्न सक्छौं । दूरदर्शक यन्त्रले हेर्दा पनि आकाशका ताराहरू प्राय: उस्तै देखिन्छन् । तर, सबै तारा फरक किसिमका छन् भनी बाइबलले अङ्कित गर्छ । परमेश्वरले हरेकको छुट्टाछुट्टै नाम मात्र दिनुभएको छैन तर ती एउटा अर्कोबाट पृथक् पनि छन् । नेपालीमा “तेज” (ग्रीकमा डोक्सा) भनी अनुदीत शब्दलाई “गौरव”, “प्रतिष्ठा” वा “प्रशंसा” भनेर पनि अनुवाद गर्न सकिन्छ । तसर्थ, यसले ताराको तेजलाई मात्र उल्लेख गर्दैन, तर प्रत्येक ताराको आºनै ईश्वरीय संरचना छ भनी अङ्कित गर्छ । प्रत्येक तारा उस्तै देखिने भए तापनि प्रत्येक तारा एक आपसमा फरक छन् भनी पछिल्लो वैज्ञानिक खोजले पुष्टि गरेको छ । ईश्वरीय प्रकाशविना पावललाई यस आधुनिक खगोल विज्ञान थाहा हुनु असम्भव छ ।
प्राचीन समयमा विद्यमान खगोल विज्ञानसम्बन्धी एउटै पनि त्रुटिपूर्ण अन्धविश्वास बाइबलमा नसमेटिनु र आधुनिक खगोल विज्ञानको एउटै पनि खोजसित बाइबलका सन्दर्भहरू बेमेल नहुनुले बाइबलका ती लेखकहरू ईश्वरीय प्रेरणाबाट चलाइएका थिए भन्नाका लागि थप उर्जा मिल्छ । दाऊदले लेखे, “आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ । र तारा–मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ । दिनहुँ तिनीहरूले वार्तालाप गर्छन्, र रातैपिच्छे तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्” (भजनसंग्रह १९:१–२) । नासाको अन्तरिक्ष अध्ययन गोडार्ड संस्थाका संस्थापक वैज्ञानिक रोबर्ट ज्यास्ट्रो लेख्छन्, “हामी देख्छौं कि खगोलविज्ञानको साक्षीले कसरी संसारको उत्पत्तिको सम्बन्धमा बाइबलको धारणातर्फ डोर्‍याएको छ । वर्णन गर्ने तरिका फरक–फरक होला तर खगोलविज्ञान र उत्पत्तिको पुस्तकको बाइबलको विवरणका अपरिहार्य तत्त्वहरू उही छन् ।”घ सृष्टिवादी वैज्ञानिक डा. हेन्री एम्. मोरिसको निष्कर्ष साक्षीको विपरीत छैन, “निष्कर्षमा, बाइबलको कुनै पनि कथन आधुनिक सौर्य प्रणालीको खगोल विज्ञानसित बेमेल छ भन्ने एउटै पनि अवलोकनीय सत्यता छैन । तर, यस्ता कैयौं सत्यताहरू छन् जुन धर्मशास्त्रसित सुन्दर ढङ्गमा परस्पर सम्बन्धीत छन् ।”

Related Articles

Back to top button