राज्यका निकायहरूमा नपुगेसम्म हाम्रा कुरा कसैले सुनिदिंदैन

डा. के.बि. रोकाया, वरिष्ठ मानव अधिकारकर्मी

अहिले ख्रिष्टियनहरूमा पनि खुबै राजनीतिक चासो बढिरहेको छ, तपाईं यसलाई कसरी लिनुहुन्छ ?
यसमा म एक प्रकारले खुशी हुनुपर्ने कारण छ, आजभन्दा ३०÷३२ वर्षअघि हामी ख्रिष्टियनहरूले राजनीतिका कुरा गर्नुहुन्न, हामीले राजनीति गर्नु हुँदैन भनिएको बेलामा नै मैले हामी पनि राजनीतिमा लाग्नुपर्छ भन्दै थिएँ । आज आएर कतिपय ख्रिष्टियनहरूले राजनीतिमा चासो देखाएर दल खोलेर सक्रिय भूमिका खेल्दै यसमा लाग्दै हुनुहन्छ, धेरै राम्रो कुरा हो । राज्यका निकायहरूमा हामी नपुगेसम्म हाम्रो कुरा कसैले सुनिदिंदैन । तसर्थ यसलाई स्वभाविक र आवश्यक कुराकै रुपमा लिन्छु अझ भन्नुपर्दा हामीले ढिला पो ग¥यौं जस्तो लाग्छ ।

मण्डलीका पास्टरहरूकै सक्रियतामा राजनीतिक दलहरू खोलिएका छन् त, के यो उचित हो र ?

राजनीति गर्नु नराम्रो कुरा होइन तर राजनीति र धर्म तथा धार्मिक गतिविधि अलग अलग कुरा हुन् । राजनीतिमा लाग्ने वा नलाग्ने भन्ने कुरा नागरिकको नैसर्गिक अधिकारका कुरा हुन् तर हामी येशुमा विश्वास गर्ने मान्छे भएकोले के गर्दा उचित र प्रभुको महिमा हुन्छ हामीले त्यही काम गर्नुपर्दछ । मलाई लाग्छ, पास्टरहरूमा राजनीतिक चेतना हुनु राम्रो हुन्छ तर पार्टीको नेतृत्व पंक्तिमा नै जानु भनेको आफ्ना बगालको वास्ता नगरेको ठहर्छ र आफ्नो बोलावट थाहा नगरेको वा आफू केको सेवाको लागि हो स्पष्ट हुनुपर्छ । यदि राजनीतिको क्षेत्रमा बोलावट पाएको हो भने मण्डलीमा भरपर्दो र परिपक्क व्यक्तिलाई मण्डली जिम्मा लगाउनु पर्छ । तर मण्डली सेवाको हो भने पार्टीको नेतृत्व पंक्ति छोड्नु पर्दछ । यहाँ यो भैरहेको छ कि पहिला राजनीतिमा छिर्ने त्यसपछि मात्र प्रार्थना गरी माग्ने भएर मण्डलीमा समस्याहरू आइरहेको छ । बाइबलीय सिद्वान्त के हो र कसरी जाने हो भन्ने कुरा जानु अगावै मण्डलीमा प्रार्थना सहित सबैको छलफल हुनुपर्दछ । तर सबै जना लाग्नु पर्दछ भन्ने पनि होइन जस जसलाई बोलावट हुँदछ, उहाँहरू जान सक्नुहुनेछ । देशको नेतृत्व गर्ने तहमा परमेश्वरको भय मान्ने व्यक्ति हुनु जरुरी छ ।

अहिलेसम्ममा ख्रिष्टियनहरूले खोलेको पार्टी चार वटा भई सके, यसरी ख्रिष्टियनले खोलेको धेरै पार्टीले समाजमा वा राजनीति क्षेत्रमा कस्तो प्रभाव पार्न सक्छ ?
यो प्रकारले त राम्रो प्रभाव पार्न सक्दैनन् तर ती सबै पार्टी एक भएर बाइबलीय मुल्य मान्यतामा आधारित एउटै ठूलो पार्टी बनाएमा राम्रो हुनेथियो तर यस्तो पार्टी सबै नेपालीले अपनत्व गर्न सक्ने हुनुप¥यो । सबै जाति, भाषी, धर्मका लागि समान व्यवहार जुन पार्टीले गर्छ, तिनै पार्टी राष्ट्रको मुलधारको राजनीतिक दलका रुप उभिन सक्छ । तसर्थ पार्टी सञ्चालन गर्दै गर्दा यो कुरालाई पनि ख्याल गर्नु पर्दछ । ख्रिष्टियनहरूको नेतृत्वमा खोलिएको धेरै पार्टीले अरु धर्मालम्बी, राजनीतिज्ञ लगायतलाई बढी सशंकित बनाउने काम गर्दछ । अनन्त यसले ख्रिष्टियन समुदायलाई नै घाटा हुन्छ । नेपालमा मात्र होइन, सबै देशहरूमा राजनीतिक परिवर्तन भइरहेको छ । विगतको विश्वयुद्वपछि संसारभर प्रजातन्त्रको लहर आयो । युरोप र फ्रान्सबाट मानव अधिकार, धर्म निरपेक्ष र विकासका कुराहरू शुरु भएर आयो । हाल अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमन पछि राजनीतिलाई केही बलियो बनाउँछ भन्ने मलाई लागेको छ । अबको राजनीति प्रजातन्त्रमा होइन राष्ट्रियतामा हुँदछ । यस कुरालाई हामी ख्रिष्टियनहरूले राम्रोसँग बुझ्न सक्नुपर्दछ ।
आफ्नो पहिचानको र हकहितका लागि राजनीतिक दल नै खोल्नुपर्छ भनि बाइबलले भन्दैन

_ Dinesh Shrestha (yuwa darshan)

Related Articles

Back to top button