मलाई मृत्युको मुखदेखि बचाउनुहुने परमेश्वरलाई म हृदयदेखि नै धन्यवाद दिन्छु

म मछिन्द्र राई, यूकेबाट | मेरो मूल घर भोजपुर, डाँडाबोखिम-८ हो | मैले ब्रिटिश आर्मीमा हुँदाखेरी नै मित्रहरुबाट सुसमाचार सुनेको हुँ तर सुरुसुरुमा मलाई प्रभुमा त्यति आकर्षण भएन | प्रभुलाई नचिन्दासम्म मैले  धेरै दुःख पाएँ, मेरी श्रीमतीले अल्पायुमै दुर्घटनामा परेर मलाई छाडेर गइन्, उनी गएपछि तीन छोराछोरी हुर्काउने जिम्मा मेरो काँधमा आइपर्यो, त्यैपनि मैले हिम्मत हारिनँ | छोराछोरी दाजुभाईको जिम्मामा छाडेर म उनीहरुको लालन-पालनको लागि लाहुरमा खटिरहें र यहीं नै मैले प्रभुलाई राम्रोसँग चिनें | म नेपाल आएपछि मैले आफ्नो परिवार सबैलाई प्रभुमा ल्याएँ |

प्रभुको कृपाले मेरा छोराछोरी राम्रोसँग पढे र हुर्के अनि उहाँले मलाई दोस्री श्रीमती पनि जुटाइदिनुभयो र म हाल यूकेमा दोस्री श्रीमती र एउटी छोरीसँग बस्छु | मेरो जीवनमा गत जुन महिनामा एउटा ठूलो दुर्घटना भयो जसबाट प्रभुले मलाई मृत्युको मुखदेखि बचाउनुभयो, त्यसैले आज म यो गवाही बाँड्दै छु |

म सधैंझैं आफ्नो ड्युटीमा उपस्थित हुन आफ्नै गाडीमा कार्यस्थल जाँदै थिएँ | समय बिहानको साढे छ बजेको थियो | म गुडेको केही समयपछि राजमार्गमा मेरो कारलाई पछाडिबाट कसैले जोडले हान्यो जसले गर्दा मैले आफ्नो कारको सन्तुलन गुमाउन पुगें, मेरो कार दाहिने-देब्रे गर्दै गुल्टिंदै मूल सडकदेखि झन्डै ३०० मिटर तल खेतबारीमा खस्यो | मलाई कारमा ठोक्किंदाको आवाज मात्र थाहा भयो, त्यसपछि केके भयो, थाहा भएन | कार खसेपछि म झन्डै आधा घण्टासम्म अचेत भएछु, आधा घण्टापछि बल्ल म होशमा आएँ र कसैले ‘हेल्लो देयर’ भन्दै बोलाएको सुनें, त्यो एम्बुलेन्सका कर्मचारीको आवाज रहेछ | मैले बिस्तारै आँखा हेर्ने प्रयास गरें तर मैले धमिलो देखें, मेरो कारको सिट पनि तलै भास्सिएको रहेछ तर सिटबेल्ट चाहिं लागेकै थियो र मैले आफैंलाई पछाडि धकेलेर सिटबेल्टदेखि आफैंलाई छुट्टाएर बाहिर आएँ | त्यसपछि तत्काल मलाई अस्पताल पुराइयो, त्यतिखेर मेरो पूरै शरीर एकदमै पोलिरहेको थियो, म बोल्न पनि सकिरहेको थिइनँ, मलाई अति नै तिर्खा लागिरहेको थियो, सकी-नसकी हातको ईशाराले पानी मागें र उनीहरुले मलाई पानी पियाए | म पूर्ण चेतमा अझै आएको थिइनँ, त्यसैले मैले तत्काल श्रीमतीको नम्बर सम्झन पनि सकिनँ, पुलिसहरुले मेरो कार्यस्थल पत्ता लगाई मेरी श्रीमतीलाई फोन गरे | उनी साढे पाँच घन्टामा अस्पताल आइन् र मैले सन्तोषको सास फेरें |

मेरो दाहिने कुर्कुच्चा र टाउकोमा अलिअलि चोट लागेको थियो तर कतै पनि हाड भाँच्चिएको थिएन, अलिकति तालु र कुहिनाबाट रगत बगेको थियो, बाँकी सब ठीक थियो | अचम्म के भने घटनास्थलमा कोही प्रत्यक्षदर्शी भेटिएन, धेरैले अर्का गाडी चालकलाई नदेखेको बताए | एक हप्तापछि पुलिसलें अनुसन्धान गर्दा उक्त फरार चालक एसियाली मूलको व्यक्ति भएको र उसले त्यस दिन सेतो मर्सिडिज कार चलाइरहेको थाहा हुन आयो | यद्दपी त्यो फरार चालक अझैसम्म फरार नै भएकोले मेरो मुद्दाको छिनोफानो अझै भएको छैन |

जे होस्, दुर्घटनापछि मैले साँच्चै नै मैले नयाँ जीवन पाएको छु र म अहिले फेरि पहिलेझैं आफ्नो काममा फर्किसकेको छु | मलाई मृत्युको मुखदेखि बचाउनुहुने परमेश्वरलाई म हृदयदेखि नै धन्यवाद दिन्छु र आज यो गवाही बाँडेर उहाँकै महिमा होस् भन्ने चाहन्छु | हल्लेलुयाह !

 

Related Articles

Back to top button