निको हुने आशा गर्नु मेरो निम्ति अन्तिम आशा थियो

मेरो नाम रबि श्रेष्ठ हो । मेरो घर गोंगबु काठमाडौंमा पर्छ । मेरो जन्म एउटा हिन्दु परिवारमा भएको हो । पहिले मेरो परिवारका सबै जना हिन्दु हुनुहुन्थ्यो । जन्मको हिसावले म हिन्दु भएतापनि मलाइ हिन्दु संस्कार कत्ति पनि मन पर्दैनथ्यो । म सधैं शान्ति चाहन्थें, एक्लै शान्त अवस्थामा रहनु मनपर्थ्यो । पुजाआजामा पशुबलि दिने हिन्दुहरुको चलन देखि मलाइ निकै नै बैराग लाग्दथ्यो । यसै कारणले म हिन्दु भन्दा पनि बौद्ध धर्म तिर आकर्षित हुन थालें । मैले बुद्ध धर्म र त्यससंग सम्बन्धित शान्तिप्रिय कुराहरु धेरै सुनेको थिएँ । म व्यक्तिगत रुपमा बौद्ध दर्शनबाट अति नै प्रभावित थिएँ ।
जब म कक्षा ९ मा पढ्दै थिएँ । तब शारीरिक रुपमा म निकै नै कमजोर हुन लागें । त्यतिबेला मेरो पेट एकदम दुख्थ्यो, दु:खाईले सहनै नसक्ने अवस्थामा पुर्याउथ्यो । यस्तो अवस्था भएपछी म अस्पताल गएँ । अस्पताल गएपछि केहि सन्चो भएको जस्तो भए पनि पछि फेरि मेरो हालत उही हुन्थ्यो । त्यसपछि म धेरै ठाउँमा भौतारिएँ, कयौं देवीदेवता, धामी झाँक्रीको भरमा परें । तथापि केहि सीप चलेन । घरपरिवार र मलाई हेर्ने अन्य व्यक्तिहरुले मेरो आशा मारिसकेको अवस्था थियो ।
मलाई भित्रै देखि बुद्धको शरणमा जाने इच्छा लाग्यो । बुद्धले म कहाँ आउ, म तिमिलाई ठिक गर्नेछु भने जस्तो अनुभव गर्न थालें । त्यसपछि मैले बिस्तारै आफ्नो मन पूर्ण रूपमा बुद्धमार्ग तर्फ ढल्कन थालेको महसुस गरें । मैले बुद्धको मुर्तिमा पूजा गर्न थालें अनि बुद्धको ध्यान पनि गर्न थालें । मैले लगभग ६ महिना सम्म आफुंले सधैं खाने खाना खान छोडें । मेरो खाने कुराको कुनै ठेगान हुँदैनथ्यो ।
त्यसपछि म बुद्ध जयन्तिको दिनमा ध्यान गर्नको लागि लुम्बिनी पनि गएँ । त्यहाँ गएर दशौँ हजार मान्छे संगै मैले घन्टौं सम्म ध्यान गरें । त्यस पछि पनि १७ देखि २६ घण्टा सम्म पानि पनि नपिईकन ध्यान गर्न थालें । कहिले कहिले मलाई केहि सन्चो भएको जस्तो हुने भए पनि फेरि बिमारीले च्याप्थ्यो । त्यसको केहि समय पछि फेरि मेरो हालत पहिले भन्दा पनि खराव हुन पुग्यो । मलाई अस्पताल लगियो, त्यति बेला डाक्टरले पनि म अन्तिम अवस्थामा छु भनेको कुरा मैले पछि बाट थाहा पाएँ ।
मलाई पनि अब म बाँच्दिन जस्तो लागिसकेको थियो । मलाई देख्ने भेट्ने सबैले नै आशा मारिसकेको अवस्था थियो । त्यस राति मलाई निकै नै रुन मन लाग्यो । समग्रमा भन्नुपर्दा मैले बिताएका कष्टपूर्ण ध्यान र पुजाआजाका कुराहरु सबै नै ब्यर्थ ठहरिए । मलाई यी सबै कुरा प्रति भित्रै देखि नै बितृष्णा जाग्न थाल्यो । त्यतिबेला मेरो अन्तरात्मा देखि नै बाँच्ने रहर जाग्न थालेको थियो । यसैबीच मैले कहिल्यै सोच्दा पनि नसोचेको र बिश्वास पनि नगरेको कुरा मेरो दिमागमा आयो । मेरो आमा पहिले देखि नै चर्च जानुहुन्थ्यो, जुन कुरा मलाई कत्ति पनि चित्त पर्दैनथ्यो । मेरो आमाले पनि चर्चमा गएर नै शारीरिक रोगहरु बाट चंगाई प्राप्त गर्नुभएको थियो, तर मलाई ति कुराहरु बकवास लाग्दथ्यो । झुक्किएर त्यसो हुन गएको हो भन्ने लाग्दथ्यो । मेरो मनमा ठुलो उथलपुथल भएपछि, अब कुनै बाटो बाँकी छैन भन्ने लागेपछि मैले आफुँ पनि चर्चमा जाने र बाँच्ने अन्तिम चेष्टा गर्ने निर्णय गरें । यति बेला सम्म मलाई यस्तो लागिसकेको थियो कि चर्च जानु र जिसस क्राइष्ट संग प्रार्थना गरेर निको हुने आशा गर्नु मेरो निम्ति अन्तिम आशा हो । त्यसको अर्को एउटै पनि विकल्प म संग छैन । यदि त्यसरी पनि निको हुन सकिन भने म निश्चय नै मर्नेछु भन्ने कुरामा मलाई कुनै संका नै थिएन । त्यसपछि मैले मेरो आमासंग कुरा गरेर चर्च जाने मन देखाएँ । मेरो निर्णयले उहाँलाई निल्कै नै उत्साहित बनाएको थियो ।
चर्चमा गए पछि मेरो निम्ति धेरै प्रभुका जनहरुले प्रार्थना गरिदिनुभयो । अचम्मको कुरा के भने उहाँहरुले प्रार्थना गर्दा गर्दै नै मैले प्रार्थनाको शक्ति अनुभव गर्न थालें । मलाई चर्च, बाइबल अनि प्रभु येशूको बारेमा केहि थाहा नभएपनि अनि मैले साँचो हिसावले भित्रै देखि उहाँलाई बिश्वास नगरेकै भएपनि ३ घन्टामा नै मैले छुटकारा महसुस गर्न सकें । यो छुटकारा पहिले पहिलेको भन्दा बिशेष थियो भन्ने पनि अनुभव गर्न सकें । आफ्नै जीवनमा यी सबै आश्चर्यकर्महरु देखिसकेपछि मैले भित्रै देखि उहाँलाई बिश्वास गर्न लागें । सत्य चाहिं ख्रीष्ट येशू नै हुनुहुन्छ भन्ने कुरामा अब मेरो मनमा कुनै शंका रहेन । मैले उहाँलाई ग्रहण अनि बिश्वास गर्ने निर्णय गरें ।
त्यस बेला देखि उसो मैले कहिल्यै पनि पहिलेको जस्तो पिडित र कमजोर जीवन जिउनु परेको छैन । मैले ख्रीष्ट येशूमा बिश्वास गरेर रोग बाट चंगाई पाएको मात्रै होइन, शान्ति पनि प्राप्त गरेको छु । मैले उहाँको प्रेममा सबै चिन्ता फिक्रीबाट मुक्ति प्राप्त गरेको छु । उहाँमा बिश्वास गरेर कहिल्यै नाश नहुने अनन्त जीवनको भागिदार बन्ने सुअवसर पाएको छु । त्यस बेला देखि मैले आफुँले सकेसम्म र भ्याएसम्म उहाँको महिमाको निम्ति आफुँलाई समर्पण गर्दै आएको छु । यसरि ख्रीष्ट येशूलाई ग्रहण गरेको १ बर्ष भित्रैमा मैले बप्तिस्मा पनि लिएँ, र एउटा घरेलु संगतिको अगुवाई गर्ने सम्मको जिम्मेवारीमा रहन पाएँ ।
म आज पूर्ण स्वस्थ जीवन जिउदैछु, मलाई ति पहिलाको समस्याहरुले सताउँदैनन् । आजको बिज्ञान प्रविधिको युगमा अझैं चिकित्सा विज्ञानले चरम सफलता हाँसिल गरेको बर्तमान समयमा धेरै जनालाई यस्ता कुराहरु पत्यार नलाग्न पनि सक्छ । जसरि पहिला मेरो आमाले चर्चमा गएर चंगाई पाएँ भन्दा मलाई बकवास लाग्दथ्यो, आज मेरो चंगाईको कथा सुनेर पनि कतिजनालाई बकवास नै लाग्न सक्छ । त्यस कुरामा मलाई कुनै गुनासो छैन, किनकि नचाख्दा सम्म कुनै पनि कुराको वास्तविक स्वाद थाहा हुँदैन ।
तर म सबैलाई अनुरोध गर्न चाहन्छु: यदि तपाईंहरु रोग बिमार्मा हुनुहुन्छ वा अन्य गहिरा गहिरा समस्याहरुले जकडिएको अवस्थामा हुनुहुन्छ भने निसंकोच ख्रीष्ट येशूको चरणमा आउनुहोस् । उहाँले तपाईंका सबै बोझहरु उठाईसक्नुभएको छ । धर्मशास्त्र बाइबलमा यसरि लेखिएको छ: पारख गरेर हेर, कि परमप्रभु कति भला हुनुहुन्छ (भजनसंग्रह ३४:८) । उहाँ साच्चैं नै भला हुनुहुन्छ, मलाई निको पार्ने परमेश्वरले तपाईंलाई पनि निको पार्न सक्नुहुन्छ । म निश्चयाताका साथ भन्न सक्छु कि ख्रीष्ट येशूलाई ग्रहण गरिसकेपछि तपाईंको जीवन कदापी उही रहनेछैन । एउटा अद्भुत स्वर्गीय तरङ्ग तपाईंको जीवनमा उठ्नेछ, र सबै कठिनाईबाट, कमजोरीबाट र नास हुनबाट तपाईंलाई बचाउनेछ ।
अन्त्यमा; मैले जस्तै पिडा भोगिराख्नुभएको कोहि हुनुहुन्छ भने उहाँहरुलाई यहि अनुरोध गर्न चाहन्छु आफ्नो पिडा पालेर नबस्नुहोस, जीवन देखि हार खाएर खुइय्य गर्दै पुर्पुरोमा हात लगाएर नबस्नुहोस । ख्रीष्ट येशूलाई ग्रहण गरेर मैले जस्तै चंगाईको जीवन प्राप्त गर्नुहोस् ।

Related Articles

One Comment

  1. धन्यवाद वचन पत्रिका मेरो जीवन गवही पोस्ट गर्नुभएर अरुलाई ख्रीष्टको बारेमा थाहा दिनुभएको लागि।जतिले पद्नु भएको छैन पद्नु होस्।

Back to top button