स्वघोषित डाक्टरहरू

– रोशन प्रजापति
क्वाइनोनिया भक्तपुर मण्डली
हाल: धुलिखेल, काभ्रे

 

बिहान उठ्ने बित्तिकै चियाको चुस्कीसँगै दैनिक अखबार पढ्ने लत धेरैको हुँदोरहेछ । असी प्रतिशतभन्दा बढी राजनीतिक समाचारले भरिएका ती पत्रिकाहरूको लागि जति पैसा खर्चेर पनि समयको सदुपयोग भनौँ या खर्च गर्नेहरू इसाई जगतमा प्रशस्त नभएका होइनन् तर इसाई पत्रिका महिना दिनमा निस्कँदा समेत थोरै रकम झिक्न ती महानुभावहरू हिच्किचाउँछन् । इसाई पत्रिकाहरूमा राजनीतिक विषय नसमेटेर हो वा यी पत्रिकाहरूको स्तर विकास नभएर हो त्यो त आदरणीय पाठकहरूलाई नै थाहा होला । म भने कहिले कहिँ काठमाडौँ जाँदा भेटिएको बेला मात्र पत्रिका सरसर्ती हेर्ने गर्दछु । पत्रिका पढ्नु असल कुरा हो तर इसाई पत्रिका पढ्नु अझ असल कुरा हो भलै इसाई पत्रिकाको गुणस्तर मापन गर्ने बेला अझै नभएको हुनसक्छ ।
एक दिन संयोगवश राष्ट्रिय स्तरको अखबार पढ्दै गर्दा एउटा समाचारले मेरो ध्यान खिँच्यो । ‘नक्कली डाक्टर बनेर विभिन्न स्थानमा स्वास्थ्योपचार गर्दै आएका १० जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागि कास्की प्रशासनमा पेस गरिसकेको छ । पाउँदै नपाएको डाक्टर उपाधि राखेर सर्वसाधारणको स्वास्थ्योपचार तथा प्राकृतिक चिकित्सासम्बन्धी संस्थासमेत सञ्चालन गरिरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीहरूले प्रहरी र प्रशासनमा समेत डाक्टर उपाधिको कुनै कागजात पेश गर्न सकेनन् । पहिलो चरणको सोधपुछमै उनीहरूले कुनै पनि आधिकारिक उपाधि नपाएको तर नामका अगाडि डाक्टर लेखेर विभिन्न स्वास्थ्य संस्थामार्फत् उपचारमा संलग्न भएको बयान दिएका छन् ।’
देशमा कानुनी शासन कमजोर छ, संविधान बन्ने प्रक्रियामा नभएर तुहिएको अवस्थामा छ, दण्डहिनता बढेको छ, अनुगमन फितलो छ अनि जसले जे गरे पनि हुन्छ भन्ने मान्यताले प्रश्रय पाइरहेको वर्तमान अवस्थाको फाइदा उठाएर स्वघोषित डाक्टरहरू मानव स्वास्थ्यमा खेलवाड गरिरहँदा प्रहरी प्रशासनले चनाखो भएर पक्राउ गर्नु सह्रानीय पाटो हो । हुन त भोलिपल्ट नै १५ दिनभित्र प्रशासनमा उपस्थित हुने गरी जनही १८ हजार रूपैयाँमा उनीहरूलाई छाडेको छ तर प्रहरीले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको कारण मुद्दा अगाडि बढिसकेको अवस्था छ । सूचनाको आधारमा प्रहरीले पक्राउ गरेका स्वघोषित डाक्टरहरू १० जना मात्रै हो तर यस्ता नक्कली डाक्टरहरू देशमा कति धेरै होलान्, सायद हामीले सहजै अनुमान गर्न सक्दैनौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खानेहरूको पनि बेलामौकामा अनुसन्धान भइरहेको समाचार पनि आइरहेको छ । ठाउँ ठाउँबाट नक्कली कागजात बनाउने गिरोह पक्राउ परिरहेको छ । जताततै सक्कली भन्दा नक्कलीको जगजगी छ । सामान नक्कली, खाद्यान्नमा मिसावट, गुँदपाकमा मिसावट, होटेलको खाना गुणस्तरहीन, सडक निर्माणमा भ्रष्टाचार जताततै भताभुङ्गको अवस्था छ । यही क्रममा मानव स्वास्थ्यको क्षेत्रमा पनि नक्कली डाक्टरहरू भेटिन थालेका छन् । पाउँदै नपाएको डाक्टर उपाधि लेखेर जनताहरूलाई भ्रममा पार्नु घोर निन्दनीय कार्य हो ।
सांसारिक क्षेत्रमा जस्तै आत्मिक क्षेत्रमा पनि यस्तै स्वघोषित डाक्टरहरू पाइन थालेका छन् भन्ने जानकारी पाउँदा मलाई दु:ख लाग्यो । यो पद भन्ने कुरा कस्तो मोहक रहेछ बुझ्नै नसकिने पो रहेछ । नेपालमा इसाई राज्यले भर्खर भर्खर पालुवा हाल्न थाल्दा पादरी, पास्टर पद मात्र रहेको मेरो गिदीले थम्याएको थियो । तैपनि पास्टरहरू कहिँ पनि आफूलाई यी विशेषण लगाएको चाहँदैनन् । मात्र मण्डलीमा थोरै जमातमा दबिएको स्वरमा पास्टर भनी सम्बोधन हुन्थ्यो । परिस्थिति नै प्रतिकूल भएपछि कति पल्ट नचाहेर पनि परिचय लुकाउनु पर्ने हुँदोरहेछ । त्यसबेला यो पदको कद नै उच्च थियो ।
समयले कोल्टे फेरिसकेको छ । यो देशमा इसाईहरू खुल्ला रूपले परमेश्वरको आराधना गर्न सक्ने भएका छन् । वास्तवमा यो परेमश्वरको असिम अनुग्रह भन्नुपर्दछ र यसको लागि परमेश्वरलाई ह्रदयदेखि नै धन्यबाद दिनुपर्दछ । स्वतन्त्रतासँगै मण्डलीको विकास तीव्र रूपमा हुनथाल्यो । गाउँ गाउँमा टिनले छाएका मण्डली भवनहरू टल्किन थाले । जमाना यस्तो पनि आयो कि दुर्गम गाउँको कुनै ठाउँमा टिनले छाएको घर देखिने बित्तिकै मण्डली कि विद्यालय भनेर चिनिन थाल्यो । थुप्रै भड्किएका आत्माहरू मण्डली भवनमा आएपछि चंगाइ भएको कारण दिन दुई गुणा रात चौगुणा ‘विश्वासी’हरूले मण्डली भवन भरिन थाल्यो । संख्यामा वृद्धि भए जसरी गुणस्तर वृद्धिमा समयमै अगुवाहरूले ध्यान पुर्‍याउन नसक्दा अथवा चासो नदिंदा मण्डलीभित्र विभिन्न खाले विकृतिहरू पनि मौलाउँदै आइरहेका छन् ।
आज अखबारमा छापिएको नक्कली डाक्टरहरूको समाचारले मलाई पनि इसाई क्षेत्रमा मौलाइरहेको यस खालको विकृतिबारे केही सोच्न बाध्य तुल्यायो । देशमा अस्तित्वमा रहेका पार्टीहरू कुकुर बिरालो सरी झगडा गरेको कारण कानुनी राज्य कमजोर भएको छ । यही मौका छोपी पाउँदै नपाएको डाक्टर पद बोर्डमा झुण्ड्याएर सर्वसाधारणलाई झुक्याएर पैसा कुम्ल्याउने केही ठगहरू प्रहरीको खोरमा एक दिन भए पनि जाकिए । अहिले मलाई विदेशबाट भर्खरै आएको जवान भाइले भनेको कुरा Çल्यासब्याक भइरहेको छ, “दाजु, नेपालमा पास्टर पद सस्तो भएको हो ? इसाईहरूमा किन आजकल यो पदप्रति आदरभाव छैन ?” त्यसबेला जवाफ दिनुपर्ला भनेर मैले कुरा अन्तै मोडेको थिएँ । वास्तवमा उसको भनाइमा शतप्रतिशत सत्यता नभएपनि धेरै यथार्थता लुकेको पक्कै छ । नक्कली डाक्टरहरूजस्तै हाम्रो देशमा पास्टर हुन पनि कुनै विश्वविद्यालयबाट डिग्री हासिल गर्नुपर्दैन न त पहिलो पुस्ताका अग्रजहरूले जस्तो भोकप्यास, जेलनेल, अभाव, अन्याय सहनुपर्छ । अहिले त निकै सजिलो भएको छ । मण्डलीमा आफूले भनेजस्तो भएन भने मण्डली फुटायो अनि आÇनो अगाडि पास्टर विशेषण झुण्ड्याएर जुङ्गाको ताउ मिलायो । त्यसो नभए पनि चार पाँच जना पछि लाग्ने ‘चेलाहरू’ पछि लगाएर स्वत: आफूलाई पास्टर घोषणा गरे हुने रहेछ । अनि चहकिलो Çलासबोर्डमा फलानो चर्च भनेर प्रिन्ट गरी दोबाटोमा राखे हुने रहेछ । न त अग्रज पास्टरहरूले अभिषेक गर्नुपर्ने झन्झट न त सदस्य संख्या निर्धारणको टेन्सन । स्वघोषित ‘दर्शन’ पाएपछि लुटेरा पनि पास्टर, ठगाहा पनि पास्टर हुने जमाना पो आयो त । यस्ता नक्कली पास्टरहरूको कारण वर्षौदेखि परमेश्वरको लागि दु:खकष्ट भोगिरहेका पास्टरहरूको कद समेतमा धक्का पुगिरहेको छ । बाहिरी संसारबाट हेर्दा सबैलाई एउटै तुलोमा जोखिन्छ अनि भ्रष्टाचारी, दुराचारी, मतवाली पास्टर भनेर बिल्ला लगाउँछन् । यो त अति भयो । स्वघोषित दर्शनधारी पास्टरहरूको कारण हाम्रो मन मस्तिष्कमा श्रद्धाभावले पुकारिने पवित्र शब्द पास्टरमा कलंक देखियो । नक्कली डाक्टरहरूलाई पक्राउ गरी जेलमा कोच्ने प्रहरीजस्तै आत्मिक क्षेत्रमा वितण्डा मच्चाउने अवसरवादी पास्टरहरूलाई पक्रेर पाटा फर्काउने आत्मिक प्रहरीहरू कहाँ छन् ? अझ आजकाल त पास्टर शब्दको कद होचिएको महसुस भएर हो कि किन कतिपय स्दर्शनधारीहरू रेभरेण्ड, फादर र महामहिम अनि अरु के के हो के के विशेषणको चक्करमा लागेका छन् । यो सब पदको अर्थ, यसको जिम्मेवारी, योग्यता निर्धारण गर्ने कसले ? कि जसले जे पद राखे पनि आत्मिक क्षेत्रमा सही हुन्छ ? यी र यस्ता उपाधि दिने सर्वमान्य र सर्वोच्च आधिकारिक निकाय कुन हो र कसले दिएको उपाधिले सही मान्यता पाउँछ ? पाउँदै नपाएको डाक्टर उपाधि राखेर सर्वसाधारणको स्वास्थ्योपचार गर्दा प्रहरी हिरासत पुगिन्छ भने जे पायो त्यही पद राखेर मण्डली खोल्ने स्वदर्शनधारीहरू आत्मिक प्रहरी हिरासत पुग्नु पर्छ कि पर्दैन ? सायद धेरै स्वदर्शनधारीले आत्मिक प्रहरीको अस्तित्व अनुभूति नगरेकोले यस्तो हरकत गरेको हुनुपर्छ तर यसको हिसाब स्वर्गमा सबैको सामु परमेश्वरको न्यायालयमा दिनुपर्छ भन्ने कुरा हेक्का राखेको छैन ? यस्तो सानो कुरा पनि म जस्तो भर्खर बाइबल पढ्न सिकेको बबुरोले दिग्गज दिमागका दर्शनधारीहरूलाई सम्झाउनुपर्ने भयो ? मेरो चर्चको जवान भाइले भनेजस्तै यस्ता गतिछाडा अगुवाहरूको कारण नै आम विश्वासीमा पास्टर, अगुवाप्रति भरोसा भत्किन थालेको हो ।
पास्टरहरू मात्र नभएर इसाई साहित्यकारहरू पनि यस्तै पदमोहले ग्रसित हुन थालेको कहिँ कतै झल्को मिल्न थालेको छ । म आपैँm यसको शिकार हुनपुगेँ । दुई चार वटा लेख मैले के छपाएको थिएँ, एक जना भाइले एउटा सभामा मलाई वरिष्ठ साहित्यकार भनेर सम्बोधन गर्‍यो । मलाई झ्वाँक चल्यो, म कसरी वरिष्ठ भएँ ? सभा सकिनासाथ मैले त्यो भाइलाई नराम्रोसँग झपारेँ । भाइले मसँग केही त भन्न सकेन तर रातो मुख लगाएर भुत्भुताउँदै गयो, “कसैले वरिष्ठ भनेन भनेर झपार्ने, कसैले भने वरिष्ठ भन्यो भनेर झपार्ने ? नसक्ने भो यी दुई अक्षर लेख्नेहरूसँग ।” उसको फतफताइमा पनि सत्यता लुकेको थियो । पत्रिकामा एउटा कविता छापेको भोलिपल्ट वरिष्ठ साहित्यकारको पगरी चाहिने भएको छ आजकालका हाम्रा आत्मिक लेखकहरूलाई पनि । आखिर वरिष्ठताको योग्यता के हो ? यसलाई कसरी मापन गर्ने ? सेतो कपाल हो कि किताबको ठेली ? थाहा छैन तर साहित्यकार भनाउँदोहरू पनि माथि पुगेको महसुस गर्न स्वघोषित वरिष्ठ बन्न थाल्दा ती सञ्चालक भाइलाई बेकारमा झपार्न पुगेको पश्चाताप भयो मलाई । साहित्यमा मात्र नभएर सेवकाइमा पनि वरिष्ठ जोड्ने चलन बढ्दो छ । सांसारिक भोगी अनि पदको लोभी आत्माहरूको बिगबिगी पनि आज इसाई क्षेत्रमा रहेका अगुवा, मण्डली र सम्प्रदायको बढ्दो बेमेल र खिचातानीले भइरहेको छ भन्दा कसैलाई चित्त नदुख्ला । जसरी देशमा राजनैतिक पार्टीहरूको खिचातानीले नक्कली डाक्टरहरू बढ्दो छ । अब यसलाई कसरी व्यवस्थित गर्ने ता कि भोलि मेरा छोराछोरीहरूले पनि पास्टर शब्दमा आदरभाव देखाउन सकोस् । ऐरेगैरे आँखा लोभी मन पापी जो पनि पास्टर, एल्डर, डिकन, वरिष्ठ अनि अझ अरु विशेषणयुक्त उपाधि बोकेर हिँडेमा सच्चा नयाँ ख्रिस्टीय पुस्तालाई यी उपाधिप्रति नै विकर्षण नहोस् । तसर्थ, बेलैमा आत्मिक प्रहरीहरू चनाखो भएर अभिषेक बिना पाउँदै नपाएको उपाधि पाएको भन्ने स्वदर्शनधारीहरूलाई इसाई कानुनको कठघरामा उभ्याइयोस् । नत्र यी अवसरवादीहरूले ‘५० औं वर्षदेखि यसैगरी चल्दै आएको क्षेत्रमा हामीले पनि त्यसैगरी नाम लेख्न पाउनुपर्छ, नत्र हाम्रो व्यवसाय चलाउनै गाह्रो पर्छ’ भनेर उल्टै स्पष्टिकरण दिने नक्कली डाक्टरहरूले जस्तै जिकिर गर्नेछन् । सबैलाई चेतना भया ।

Related Articles

Back to top button