बिल ब्राइट को हुन् ?

तिनीभन्दा अगिल्लो सन्तान गर्भमै तुहिएकोले तिनी गर्भमा आउँदा आमाचाहिँले परमेश्वरसित विशेष प्रतिबद्धता जनाइएकी थिइन् । बच्चा स्वस्थ जन्मेको खण्डमा तिनलाई परमेश्वरको सेवामा अर्पण गर्ने वाचा बाँधेकी थिइन् आमाले । यस पटक बच्चा गर्भमा तुहिएन ।

तिनी मण्डलीमा उपस्थित त हुन्थे, तर तिनले धर्मलाई जीवनको हिस्साको रूपमा हेर्दैनथ्ये । तिनको लागि कडा मेहनत र इमानदारी मण्डलीमा उपस्थित हुनुभन्दा महत्त्वपूर्ण थियो । किशोर अवस्थामा आइपुग्दा तिनको बुझाइ रहेको थियो कि ख्रीष्टियान धर्म केटाकेटी र स्त्रीहरूका लागि हो, तिनीजस्ता मर्दका लागि होइन । तिनी आफ्नो नाउँ प्रसिद्ध बनाउन चाहन्थे ।

तर भविष्य मान्छेको नियन्त्रणमा नहुने भएकोले जीवन सधैँ उसले अपेक्षा गरेको दिशामा लम्कँदैन । ख्रिस्टाब्द १९४५ ती मेहनती युवाको जीवनमा निर्णायक साल साबित भयो । तिनले येशू ख्रीष्टको खोजी गरेका थिएनन, तर येशू ख्रीष्ट तिनको खोजी गर्दै हुनुहुन्थ्यो । ख्रीष्टियमत र मण्डलीको बारेमा तिनको जे-जस्तो दृष्टिकोण रहेको थियो, ती सबै एकै क्षणमा धुजाधुजा भएर गए । २४ वर्षको उमेरमा तिनी नयाँ सृष्टि बने ।

को हुन् तिनी ? सारा दुनियाँले तिनलाई बिल ब्राइटको नाउँले चिन्छ ।

ख्रिस्टाब्द १९५१ मा ब्राइटले क्याम्पस क्रुसेड फर क्राइस्ट (हाल यसलाई क्रु नाउँले चिनिन्छ) नामक ख्रीष्टियान संस्थाको स्थापना गरे । कलेजका विद्यार्थीहरूप्रति लक्षित यस संस्थाका २५,००० भन्दा बेसी मिसनरी १९१ ओटा मुलुकमा सक्रिय छन् ।

१९५२ मा ब्राइटले चार आत्मिक नियमहरू नामक सुसमाचारीय पर्चा लेखे । यस पर्चालाई संसारका प्राय: सबै मुख्य भाषाहरूमा अनुवाद गरिएको छ र १० करोडभन्दा बेसी बिक्री वितरण गरिएको छ ।

१९७९ मा ब्राइटले जिसस फिल्मको निर्माण गरे । लूकाको सुसमाचारमा आधारित यो फिल्म १,४०० भन्दा बेसी भाषामा उपलब्ध छ । न्युयोर्क टाइम्सअनुसार सम्भवत: सबैभन्दा बेसी हेरिएको फिल्म यही नै हो । संसारका ३ अरबभन्दा बेसी मानिसले यसलाई ५ अरबभन्दा बेसी पटक हेरिसकेका छन् भनी दाबी गरिएको छ ।

ब्राइटले धर्ममा गरेको उन्नतिको प्रशंसा गर्दै १९९६ मा तिनी १० करोड नेपाली रुपियाँ बराबरको टेम्प्लेटन पुरस्कारबाट सम्मानित भएका थिए जुन पैसालाई तिनले आत्मिक लाभको बढवा गर्न चन्दा दिए ।

१९ अक्टोबर १९२१ मा अमेरिकामा जन्मेका ब्राइट बिसौँ शताब्दीका सर्वश्रेष्ठ प्रभावशाली सुसमाचार प्रचारकहरूको सूचीमा पर्छन् ।

  • Reasons to Believe

Related Articles

Back to top button